हरेक घर, तरकारी घर

हरेक घर, तरकारी घर

जलवायूमैत्री नमूना गाउँ बन्दै गरेको बडापोखरा गाउँमा तरकारी खेतीका लागि जडान गरिएको टनेल ।

दैलेख : दुल्लु नगरपालिका–२ स्थित बडापोखरा सुख्खाग्रस्त गाउँ हो । डाँडामा बस्ती, बस्तीदेखि डेढ किमी तल पानीका मुहानहरु छन् । तर, यहि गाउँकी हिरा रावत तरकारी खेतीमा लागिपरेकी छन् । गाउँमा सिंचाई सुविधा पुगेपछि उनले तरकारी खेती सुरु गरेकी हुन् । ‘हाम्रो गाउँ डाँडामा छ, सधै सुख्खा भईरहन्थ्यो, अहिले सिंचाई सुविधा पुगेको छ, हामी त असाध्यै खुुसी छौँ,’ उनले भनिन् । वर्षभरी परिवारलाई खाने पुग्ने तरकारी उत्पादन भईरहेको उनले बताइन् । बचेको तरकारी बिक्री गरेर घरायसी खर्च बेहोर्न सहज भएको थापा बताउँछिन् । ‘हरेक घर, तरकारी घर बनाउने अभियानमा लागिपरेका छौँ,’ उनले भनिन् ‘हामीले मौषम बेमौषमी तथा फलफूल खेती गरिरहेका छौँ,’ उनले भनिन् ।

यहि गाउँका धरमबहादुर थापा अधिकाँश समय तरकारी बारीमै भेटिन्छन् । गाउँमा सिंचाई पुगेपछि उनि तरकारी खेतीमा हौसिएका छन् । ‘सिंचाई सुविधा नहुँदा धेरै जग्गा बाँझो छोड्नुपथ्र्यो, अहिले त तरकारी खेतीमात्रै होइन, गाउँलाई नै जलवायूमैत्री नमूना गाउँ निर्माणमा जुटेका छौँ,’ उनले भने । रावत र थापाजस्तै बडापोखरा गाउँका अधिकाँश घरधुरी ‘हरेक घर, तरकारी घर’ र जलवायूमैत्री नमूना गाउँ बनाउने अभियानमा होमिएका छन् ।

सुख्खाग्रस्त क्षेत्र यो गाउँमा सिंचाई सुविधा पु¥याउन कुन्टेआवत बडापोखरा सोलार लिफ्ट सिंचाई योजना कार्यान्वयन गरिएको थियो । दुल्लु नगरपालिका, यूरोपियन यूनियनको आर्थिक सहयोग तथा सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल, डिसिए नेपाल, लिवर्ड, एनएनएसडब्लुएको कन्सोर्टियम पार्टनरसिपमा सञ्चालित उत्थान परियोजना र समुदायको लगानीमा योजना निर्माण गरिएको हो । पाँच सय रोपनी जग्गा सिंचाई पु¥याउने गरी निर्माण भएको योजनाको लागत ३२ लाख ४० हजार पाँच सय रुपैयाँ रहेको बताईएको छ ।

दुल्लु नगरको सात लाख ९ हजार सात सय, उत्थान परियोजनाको २२ लाख ५३ हजार तीन सय र स्थानीयको दुई लाख ७७ हजार पाँच सय रुपैयाँ श्रमदान गरेका छन् । एक हजार पाँच सय ३४ मिटर तलबाट सोलार लिफ्टमार्फत अहिले गाउँमा दुई वटा पोखरी निर्माण गरिएको छ । योजनाबाट ९८ घरधुरी लाभान्वित भएका छन् ।

सिंचाई सुविधासँगै बडापोखरालाई जलवायूमैत्री नमूना गाउँ बनाउन उत्थान परियोजना र ग्रिन कर्णाली परियोजनाबाट विभिन्न गतिविधि सञ्चालन गरिएको उत्थान परियोजनाका कृषि प्राविधिक संगम विस्टले बताइन् । कृषकहरुलाई १२ वटा पक्की टनेल र २० वटा कच्ची टनेल दिईएको विस्टको भनाई छ ।

कृषकहरुले भगवती बडापोखरा कृषि समुह गठन गरेका छन् । समुहमा ३० जना कृषक आबद्ध छन् । कृषकहरुले ग्रिन कर्णाली परियोजनाबाट सहयोग पाएको सरल थोपा सिंचाई, गार्डेन पाइप, तरकारीमा किरा नियन्त्रण गर्ने पहेँलो र मोहनी पासो, मल्चिङ पलास्टिकको प्रयोग गरिरहेका छन् । परियोजनाले कृषकहरुलाई ड्रममा जैविक विषादी बनाउने, मल फाल्न दाँते र पञ्जा सहयोग गरेको थियो ।

ग्रिन कर्णाली परियोजनाले गाउँमा हरित प्रर्वद्धनका लागि तीन सय कागतीका विरुवा दिएको थियो । गाउँका सबै कृषकहरुले तरकारी खेती लगाएतका गतिविधिमा जलवायूमैत्री तथा लैङ्गिकमैत्री प्रविधि अपनाईरहेका छन् । ‘गाउँमा सिंचाई सुविधा थिएन्, सिंचाई सुविधा आयो, कृषकहरुले टनेलमा तरकारी खेती गरिरहनुभएको छ, ‘भकारो सुधारको काम भईरहेको छ, हामीले नमूना गाउँ बनाउन जलवायूमैत्री तथा लैङ्गिकमैत्री प्रविधि अपनाएका छौँ,’ स्थानीय इन्द्रा थापा भन्छिन् ।

प्रतिक्रिया