सल्यानका ग्रामिण बस्तिमा सडक पुगेपनि स्टेचरकै भरमा बिरामी

सल्यानका ग्रामिण बस्तिमा सडक पुगेपनि स्टेचरकै भरमा बिरामी

सल्यान :  वर्षातमा अवरुद्ध बनेका सडक मर्मत सम्भार नहुँदा सल्यानका ग्रामीण क्षेत्रका स्थानीयहरूले सास्ती भोग्दै आइरहेका छन् । नेपालीहरूको ठुलो चाड बडादसैँ प्रवेश गरी सक्दा समेत सडक मर्मत नहुँदा बढी मात्रामा बिरामी, महिला तथा वृद्ध वृद्धा मारमा परेका छन् ।

थारमारे वडागाउँ रागेचौर चौरजहारी सडक खण्ड अवरुद्ध भएको पाँच महिना भन्दा बढी भइसक्दा समेत सम्बन्धित निकायले सडक सुचारु गर्न ध्यान नदिदा कुमाख गाउँपालिका, रुकुम पश्चिम र जाजरकोटका यात्रुहरू पैदल हिँड्न बाध्य हुँदै आइरहेका छन् । थारमारे, वडागाउँ, रागेचौर चौरजहारी सडक खण्डको वडागाउँदेखि रोगचौरसम्मको करिब १० किलोमिटर सडक मर्मत नहुँदा स्थानीयलाई आउजाउ गर्न असहज हुँदै आइरहेको छ ।

सडक मर्मत नहुँदा सदरमुकाम तथा जिल्ला बाहिर आउजाउ समस्या हुने गरेको कुमाख गाउँपालिका ३ रागेचौरका भुवनेश्वर शर्माले बताए । सडक बन्द भएको पाँच महिना भन्दा बढी समय बितिसक्दा पनि कुनै पनि निकायले सडक सुचारु गर्न तर्फ ध्यान नदिएको उनको भनाई छ । उनले भने, गत वर्षको भन्दा यो वर्ष पानी कम परेको छ । गत वर्ष घाम लागेको दिन गाडी चल्थे तर यो वर्ष जेठदेखि वडागाउँसम्म मात्र आउने गरेका छन् ।

सडक बन्द हुँदा गर्भवती र बिरामीहरूलाई अस्पतालसम्म लैजान झनै समस्या भएको अर्का स्थानीय शङ्कर शर्माले बताउँछन् । गाडी नचल्दा गाउँका छिमेकी बिरामी हुँदा दुई पटक स्टेचरमा बोकेर लगेको अस्पतालसम्म लिएको बताए । उनले भने , नयाँ सडक खन्नमा ध्यान दिने तर खनिएका सडकलाई मर्मत सम्भार स्तरोन्नति गर्न तर्फ ध्यान नदिँदा समस्या हुने गरेको छ ।

पटक पटक सडक मर्मत गरे पनि वर्षाको पानीले सबै बगाएर लिने भएका समस्या भइरहेको कुमाख गाउँपालिका अध्यक्ष मान बहादुर बुढाथोकीको भनाई छ । वर्षा कम हुने बित्तिकै सडक मर्मत गरी यातायातका साधन सञ्चालनमा आउने उनले बताए ।

प्रतिक्रिया