स्वास्थ्य सेवा प्रवाह र व्यवस्थापनमा जाजरकोट प्रथम

स्वास्थ्य सेवा प्रवाह र व्यवस्थापनमा जाजरकोट प्रथम

जाजरकोट : सेवा प्रवाह र व्यवस्थापनमा स्वास्थ्य सेवा कार्यालय जाजरकोट कर्णाली प्रदेशमा प्रथम भएको छ। कर्णालीका १० वटै जिल्लाको समीक्षाबाट जाजरकोट ६४.४ प्रतिशत अकं ल्याएर प्रथम भएको हो। कुनै बेला स्वास्थ्य सेवा प्रवाह र व्यवस्थापनमा अन्य जिल्लाको तुलनामा पुछारमा रहेको कार्यालय नेतृत्व र चुस्त व्यवस्थापनका कारण अब्बल बन्न सफल भएको हो।

स्वास्थ्य सेवा निर्देशनालय सुर्खेतले आयोजना गरेको वार्षिक समीक्षा गोष्ठीमा सेवा प्रवाह, व्यवस्थापन, वार्षिक प्रतिवेदन, वेरुजु फछ्यौट, समन्वय, सहभागिता, भौगोलिक विकटता लगायतका विभिन्न ३१ सूचकमा गरिएको मूल्यांकनमा सबैभन्दा बढी ६४ दशमलब ४ अंक प्राप्त गरेर प्रथम भएको स्वास्थ्य सेवा व्यवस्थापक नवराज कडेलले बताए।

त्यसका साथै नवप्रर्वनात्मक कार्यक्रमअन्तर्गत जिल्ला अस्पतालमा सञ्चालित फिजियोथेरापी सेवा, विभिन्न पालिकाले सुत्केरीलाई दिएको निःशुल्क एम्बुलेन्स सेवा, गर्भवती र सुत्केरीलाई दिइने पोषण सेवालगायत जिल्लाका ९३ वटै स्वास्थ्य संस्थाले गरेको उत्कृष्ट कार्यका आधारमा स्वास्थ्य सेवाका विभिन्न सूचक सुधार गर्न सफल भएको उनले बताए।

‘यसका लागि स्थानीय तह, स्वास्थ्य शाखा र स्वास्थ्यकर्मी धन्यवादका पात्र छन् स्वास्थ्य सेवा व्यवस्थापक कडेलले भने ‘स्वास्थ्य सेवा सुधार गर्न सरोकारवालाको साथ र सहयोगले नै हामी सफलता उन्मुख भएका हौ हामी अझै राम्रो गर्न चाहन्छौं।’

स्वास्थ्य सेवा कार्यालय कालिकोट ५८ दशमलब ७ अंकका प्राप्त गरेर दोस्रो भएको छ भने स्वास्थ्य सेवा कार्यालय सुर्खेत ५८ दशमलब २ अंक प्राप्त गरेर तेस्रो भएको छ। १० जिल्ला रहेको कर्णालीमा ४५ दशमलब २ अंक मात्र प्राप्त गरेर १०औं स्थानमा डोल्पा परेको छ।  कार्यक्रममा प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने कार्यालयलाई मुख्यमन्त्री जीवनबहादुर शाहीले प्रशंसापत्र प्रदान गरेका छन्।

प्रतिक्रिया