गठबन्धनलाई सफल बनाउन कांग्रेस प्रवक्ता डा. महतको आह्वान

गठबन्धनलाई सफल बनाउन कांग्रेस प्रवक्ता डा. महतको आह्वान

काठमाडौं : नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले आगामी निर्वाचनमा गठबन्धनलाई सफल बनाउन नेता कार्यकर्तामा आह्वान गरेका छन् । ललितपुरस्थित कांग्रेस केन्द्रीय कार्यालय बीपी स्मृति भवनमा पत्रकार सम्मलेनमार्फत प्रवक्ता महतले पार्टीमा उत्पन्न पछिल्लो समसामयिक विषयको चर्चा गर्नुहुँदै नेपाली कांग्रेसका उम्मेदवार एवम् गठबन्धनलाई सफल बनाउन एकताबद्ध भएर निर्वाचनमा होमिन आवश्यक रहेको बताए ।

मङ्सिर ४ मा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनपछि कांग्रेस नेतृत्वको सरकार बन्ने दाबी उनको दाबी छ । प्रवक्ता महतले लोकतन्त्रलाई संस्थागत गर्दै स्वास्थ्य, शिक्षा, रोजगार र समृद्धिका मुद्दालाई कांग्रेस नेतृत्वको सरकारले अगाडि बढाउने भनाइ राखे ।

‘एकताबद्ध भएर निर्वाचनमा होमिन आवश्यक छ । गठबन्धन छ, अवश्य पनि नेपाली कांग्रेस ठूलो पार्टी भएकोले युवादेखि प्रौढसम्म एक सय एक योग्य साथीहरु हुनुुहन्छ । एकाकार भएर निर्वाचनमा होमिने छौं । नेपाली कांग्रेसका उम्मेदवार र गठबन्धनलाई सफल बनाउन लाग्नेछौं । आउने निर्वाचनमा कांग्रेस नेतृत्वको सरकार बन्नेछ,’ उनले भने ।

आगामी निर्वाचन प्रक्रिया अघि बढेको भन्नुहुँदै उहाँले समानुपातिकतर्फको बन्दसूची निर्वाचन आयोगमा पेश गरिएको र परिमार्जन गर्नुपर्ने समयसीमाबारे उल्लेख गर्नुभयो । गठबन्धनमा सिट बाँडफाँट सम्पन्न गरिने बताउनुहुँदै उहाँले चाडपर्वसँगै प्रत्यक्षतर्फको उम्मेदवार छनोट एवम् निर्वाचन आयोगले व्यवस्था गरेको आचारसंहिताबारे ध्यानाकर्षण गराउनुभयो ।

पार्टीमा उत्पन्न डा. शेखर कोइराला पक्षको विवाद सम्बन्धमा सञ्चारकर्मीहरुसँग प्रतिक्रिया दिँदै उनले पार्टीका पदाधिकरी, पूर्वपदाधिकारी, आमन्त्रित सदस्य र सातै प्रदेशका नेतागणसँग सल्लाह गरेर निर्णय गरिएको बताए । ‘त्यहाँका अग्रणी नेताहरु सामेल बनाएर कतिपय त्रुटीहरु छन्, त्यसलाई कमजोर गर्ने । त्यसकारण यो विषयलाई एकलौटी गरियो, छलफल भएन भन्नेमा कुनै सत्यता छैन । स्पष्टरुपमा के भन्न चाहन्छु भने दश प्रतिशत पनि छैन भन्ने जुन किसिमको अभिव्यक्ति आइराखेका छन् । तर, सम्पूर्ण निर्णय सहमतिबाट भएको छ,’ उनले भने ।

दुवै सदनबाट दुई पटकसम्म पारित भई राष्ट्रपति समक्ष पेश भएको नागरिकता विधेयक प्रमाणीकरण नहुनु दुर्भाग्यपूर्ण रहेको उनले बताए । राष्ट्रपतिबाट संविधानको ठाडो उल्लंघन भएको र यसलाई राजनीतिक रङ्ग दिने कोसिस भएको प्रवक्ता डा.महतको भनाई छ ।

प्रतिक्रिया