जसका छन् २४ औँला

जसका छन् २४ औँला

हात र खुट्टा गरी २४ वटा औँला भएका दुई वर्षीय बालक उपेन्द्र बिसी।

दैलेख : सामान्यतया हरेक मानिसको हातमा पाँच र खुट्टामा पनि पाँच/पाँच वटा औँला हुन्छन्। एकाध व्यक्तिहरूको दुई मध्ये कुनै एउटा हातमा वा कुनै एउटा खुट्टामा ६ वटा औँला भएको पाइन्छ।

त्यस्ता कतिपय व्यक्तिहरूले विभिन्न स्वास्थ्य समस्या झेलिरहेका हुन्छन्। तर, दैलेखका एक बालकको दुईवटा हात र दुवै खुट्टामा ६/६ वटा औँला भएको पाइएको छ। जसको स्वास्थ्य अवस्थामा पनि सामान्य छ।

उनी हुन्, दैलेखको डुङ्गेश्वर गाउँपालिका-६ का दुई वर्षीय बालक उपन्द्र बिसी। जसको हात र खुट्टामा गरी २४ वटा औँला छन्। उमेरले ती बालक दुई वर्ष पुगे। उनको दाँया र बाँया दुवै हात तथा दाँया र बाँया दुवै खुट्टामा ६/६ वटा औँला छन्।  उनी २०७७ भाद्र २४ गते जन्मिएका हुन्।

उपेन्द्रका बुवा गगनकुमार बिसीले छोरा जन्मिदा नै हात र खुट्टामा गरी २४ वटा औँला रहेको बताए। बिसीका अनुसार बालकको स्वास्थ्य अवस्था सामान्य छ।

‘बावुको अवस्था अरू बालबालिका जस्तै सामान्य छ, हिँडडुल गर्ने, खेल्ने सबै गर्छ, असहज केही पनि छैन्,’ गगनले भने ‘छोरा जन्मिएपछि गाउँ समाजका केही व्यक्तिहरूले नराम्रो भन्दा मन दुख्थ्यो, गाउँघरमा कतिपयले अपाङ्ग छोरा जन्मियो, यो त अपाङ्गभित्र पर्छ भनेर भन्थे।’

छोराको स्वास्थ्य अवस्थामा त्यस्तो कुनै नकारात्मक असर नदेखिएका कारण आफूहरूले कुनै डाक्टरहरूको सम्पर्कमा पनि नगएको गगनले बताए। ‘अहिले त छोराले विशेष क्षमता लिएर जन्म लिएको भन्ने लागेको छ,’ गगनले भने।

प्रतिक्रिया