कर्णालीमा माओवादीको साख बचाउने मन्त्री विन्दमान

कर्णालीमा माओवादीको साख बचाउने मन्त्री विन्दमान

सुर्खेत : कर्णाली प्रदेश सरकारको पाँच वर्षमा धेरै उथुलपुथल देखियो । पाँच वर्षको पहिलो प्रदेश सरकारको कार्यकालमा दुई जना मुख्यमन्त्री बने । झण्डै २२ जनाभन्दा बढी मन्त्री बने ।

कपडा फेरेजसरी पार्टीका नेताहरुले मन्त्रीहरु फेर्दा भने कर्णालीमा सरकार होइन, मण्डलेहरुको भारदारी सभा चलाएको महसुस धेरैलाई भयो । सत्ताधारी नेताहरुको अस्थिर राजनीति, गुटगत पार्टीगत राजनीति र सत्ता स्वार्थले कर्णालीमा मन्त्रीहरु फेरिरहँदा केही क्षमता देखिएका मन्त्रीहरु भने मारमा परे ।

विन्दमान विष्ट पुर्व अर्थमन्त्री

कर्णाली प्रदेश सरकारमा अर्को छोटो कार्यकाल मन्त्री हुने नेता हुन्, बिन्दमान बिष्ट । पछिल्लो समय सत्तामा पुगेपछि नेता, कार्यकर्ता र जनताको विश्वास गुमाएको माओवादीमा एक भरासिलो नेताका रुपमा बिन्दमान बिष्ट स्थापित छन् ।

पश्चिम सुर्खेत बराहताल घर भएका बिष्ट इमान्दार र नैतिक हिसाबले भरासिलो नेता मानिन्छन् । जो गुटकै कारण अघिल्लोपटक नियुक्त भएपनि शपथ खान सकेनन् । शक्ति बस्नेत गुटमा रहेका नेता बिष्ट पूरा एक वर्षका लागि पार्टीको नेतृत्व गरेर कांग्रेस मुख्यमन्त्री जीवन शाहीको सरकारमा अर्थमन्त्री बनेका थिए ।

तर सरकारमा गएको ९ महिनामै उनी फिर्ता हुनुपर्यो । नेताहरुलाई भागबण्डा मिलाउन तथा गुटगत प्रभावका कारण उनले अर्थमन्त्री पदबाट राजीनामा दिएर फिर्ता हुनुपयो । जबकी उनी मन्त्री बनेको छोटो समयमा पनि पार्टी र सरकारमा राम्रो काम गरिरहेको चर्चा कमाएका थिए ।

जीवन शाहीको सरकारमा मन्त्री बन्न लायक नेता र मन्त्रिपरिषद्मा पनि प्रभावशाली मन्त्रीका रुपमा रहेका उनी सरकारको प्रवक्ता समेत थिए । माओवादीको नेतृत्व गरेर चुनावसम्मै अर्थमन्त्री रहेका उनी केही माओवादी नेताहरुको सनक र स्वार्थका कारण बीचमै फिर्ता हुनुपर्यो ।

शक्ति बस्नेतको गुटमा रहेका उनी जनार्दन शर्मा गुटको प्रभाव र स्वार्थका कारण बीचमै सरकारबाट फिर्ता हुनुपरेको थियो । जसको आलोचना पनि धेरै भयो । सरकारमा छँदा राम्रो काम गरिरहेको तथा पार्टीका नेता कार्यकर्ता पनि उनको कामबाट सन्तुष्ट रहेका बेला बीचमै सरकारबाट फिर्ता बोलाउने माओवादी पार्टीको निर्णय निकै स्वार्थवाद हावी भएको आलोचना बढेको थियो ।

तर पार्टीले निर्णय गरेपछि उनी राजीनामा दिएर फिर्ता भएका थिए । उनी राजीनामा लिएर मुख्यमन्त्री जीवनबहादुर शाहीकँहा पुग्दा मुख्यमन्त्री आफैँ असन्तुष्ट बनेका थिए । उनले सरकारमा भरपर्दो र काम गर्न सक्ने मन्त्री बाहिरिदा आफूँ दुःखी भएको प्रतिक्रिया दिएका थिए ।

मुख्यमन्त्री शाही पनि हरेक निर्णय गर्दा अर्थमन्त्री बिष्टसँग छलफल तथा सल्लाह गर्ने गरेका थिए । तर भरपर्दो नेतालाई बीचमै फिर्ता बोलाएपछि मुख्यमन्त्री शाही माओवादी प्रवृत्तिप्रति असन्तुष्ट देखिएका थिए ।

झण्डै ९ महिना सरकारमा रहेका उनले माओवादी पार्टीमा आशाको सञ्चार गारएका थिए । माओवादी पार्टी विस्तारै सत्ता, स्वार्थ, आफन्तवाद, पैँसावाद र कमिसनमा फसेका बेला उनले थोरै भएपनि नेता र कार्यकर्तालाई हुने काममा मात्रै आश भरोसा गर्न सक्ने नेताका रुपमा परिचित भएका थिए ।

तर माओवादीकै गुटका कारण उनी पूरा समय मन्त्री बन्न सकेनन् । उनी ९ महिना मात्रै होइन, पाँच वर्षसम्म कुनै एउटा मन्त्रालय सम्हाल्न पाएको भए कर्णालीमा धेरै काम गर्न सक्ने मन्त्रीका रुपमा परिचित हुने सम्भावना थियो । तर माओवादी गुटकै कारण उनले आफ्नो क्षमता भएर पनि त्यसलाई काममा परिणत गर्न सकेनन् । कर्णालीखबर

 

प्रतिक्रिया