सल्यानमा श्रमदानप्रति लगाव घट्दो

सल्यानमा श्रमदानप्रति लगाव घट्दो

सल्यान : विगतमा कुलो सफाइ, पाटी पौवा, निर्माण, गोरेटो बाटो मर्मत, स्कुल भवन सरसफाइ जस्ता काम जनश्रमदानबाट हुँदै आएका थिए ।

दुई दशक अघिसम्म गाउँका गोरेटो, घोरेटो बाटो, चौतारा,पानी धारा चाडपर्वको पूर्व सन्ध्यामा सफा गरेर चिरिच्याट्ट बनाइथ्यो । टोलवासीहरूलाई सफा गर्ने काम लगाइन्थ्यो । प्रत्येक घरका प्रतिनिधि हँसिया, खुर्पा, झम्पल, कोदालो लिएर आउँथे । जसले गाउँले बिचको आपसी माया, सद्भाव पनि झल्किन्थ्यो । तर पछिल्लो समय मानिस दिनभर घरमा बस्छन्, कोही लुँडो खेल्छन्, कोही त्यतिकै डुली हिँड्छन् तर आफ्नै घर अगाडिको बाटो सफा गर्दैनन् ।

हरेक कार्य व्यापारीकरण हुँदै गएकाले श्रमदानप्रतिको लगाव हट्दै गएको स्थानीय आइतु रावतको भनाई छ । उहाँले भन्नु भयो गाउँका धेरै विदेशमा छन् । भएका युवाहरू पनि सामाजिक कार्य तर्फ चासो राख्दैनन् बरु मोबाइल, लुँडो खेलेर दिन कटाउँछन् ।

कामै नभएर घरमा बसी रहँदा पनि श्रमदानप्रति स्थानीयमा इच्छा नदेखिएको बनगाड कुपिण्डे नगरपालिका -९ का वडाध्यक्ष रुद्र बहादुर परियारको अनुभव छ ।

विगतको सहभागिता र अपनत्व बोध हराउँदै जान थालेको उनको भनाई छ । उनी भन्छन्, अहिले त गाउँको बाटो सफा गरौँ भन्यो भने कति पैसा दिन्छन्, भन्छन् । वडा, नगरपालिकाबाट बजेट ल्याएर ल्याउनु नि भन्छन् । सार्वजनिक हितका काममा हात बढाउने समुदायको सङ्ख्या निकै कम हुँदै गइरहेको परियारको भनाई छ ।

आपसी सहयोग साटासाट तथा सद्भाव झल्काउने जनश्रमदान गर्ने मौलिकता हराउँदै जानथालेपछि गाउँका सबैको छलफल पछि पुनः जनश्रमदानलाई जोड दिन थालेको बनगाड कुपिण्डे नगरपालिका ९ का कमल डाँगीले बताए ।

पहिला बाटो, धारा, चौतारा सफा गथ्यौं, चाडपर्वका बेला गाउँघर हेरौँ हेरौँ लाग्ने खालका हुन्थे तर अहिले त्यो देख्न पाइँदैन । पुरानो मौलिकता र संस्कृतिलाई संरक्षण र जर्गेना गर्न सार्वजनिक स्थलहरू सरसफाइमा जुटेको डाँगीको भनाई छ ।

स्वारा, सेराका झन्डै दुई सय घरधुरीको सहभागितामा स्वाराको बाउनलेख, रावतटोल, डाँगी टोल, परिगाउँ, सेरामा बाजागाजा सहित गोरेटो बाटो , पधेरा र चौतारी सरसफाइ गरिएको उनको भनाई छ ।

 

प्रतिक्रिया