कर्णालीका पद मार्ग पहिल्याउँदै ‘श्याम’

कर्णालीका पद मार्ग पहिल्याउँदै ‘श्याम’

सुर्खेत :  ‘क’ बाट कर्नाली । कर्णाली साच्चिकै सुन्दर छ । कर्णाली त्यस्तो ठाउँ हो जहाँ मुगुमा अवस्थित स्वर्गकि अप्सरा रारालाई भेट्न, नजिकबाट छुन, र आँखाले निहाल्न सकिन्छ । त्यस्तै आकाश जस्तै निलो, पवित्र डोल्पाको शे फुक्सुण्डो, लगायत कर्णालीमा यस्ता अनगिन्ती रमणीय ठाउँहरु छन् । जहाँ पुग्दा साच्चिकै स्वर्ग पुगेको भान हुन्छ ।

रारा र शे–फोक्सुण्डो मात्र स्वर्ग नभएर कर्णालीमा त्यस्ता कैयौँ स्वर्ग भेट्न सकिन्छ । तर, जो अहिले प्रचार प्रसार नहुदा घुम्टोभित्र अनुहार लुकाएकि दुलही जस्तै छोपिएर लुकेर बसेका छन् । पर्यटक आउने पर्खाइमा छन् । रारा र शे–फोक्सुण्डो मात्र नभएर भित्र भित्र लुकेका अनगिन्ती ठाउँहरु रहेका छन् । कर्णालीमा रारा र शे–फोक्सुण्डो हेलिकप्टरमा आएर मात्र कर्णालीको बुझ्न सकिदैन् । कर्णाली बुझ्न कर्णालीसँगै यात्रा गर्नुपर्छ । कर्णालीका सुन्दर पदमार्ग, जल, जङ्गल, जनावर र सम्रग कर्णालीसँग सँग सँगै यात्रा गर्नुपर्छ । जहाँ कर्णालीको यात्राले साच्चिकै स्वर्ग स्वर्ग पुगेको महशुस गराउँछ ।

यति मात्र कर्णालीका पर्यटकीय स्थल होइनन् । कर्णालीमा लुकेर रहेका थुप्रै गन्तब्यहरु रहेका छन् । प्रचारप्रसार नभएर जो किम्बदन्तीका रुपमा ओझेलमा छन् । दुलही जस्तै घुम्टोभित्र लुकेका पर्यटकीय गन्तब्य पहिल्याउन र देखिएका पर्यटकीय क्षेत्रलाइ प्रचार प्रसार गर्न दैलेखका श्याम बिसीले ‘क’ बाट कर्णाली, भन्ने नारासहित एकल पदयात्रामा निस्केका छन् । कर्णालीमा पदमार्ग पहिल्याउदै एकल पद यात्राको सुरुवात गरेका छन् ।

२०५४ सालमा दैलेखको गुराँस गाउँपालिका –६ मा जन्मेका श्याम बिसी कर्णालीमा पद मार्ग पहिल्याउने उद्देश्यले एकल पद यात्रामा निस्केका हुन् । एकल पद यात्रा गर्न जोखिम मात्र होइन उत्तिकै चुनौतीपुर्ण यात्रा पनि हो । त्यही जोखिमको सामना गर्दै र चुनौतीलाई अवसरमा परिणत गर्दे आफु एकल पदयात्रामा निस्केको बिसीले बताए ।

कर्णाली हेलीकप्टरमा आएर रारा र शे–फोक्सुण्डो हेरेर मन बुझाउने कर्णाली होइन र हुँदैन,’उनले भने, ‘कर्णाली भर्जिन छ । कर्णालीमा हिडेरै पदयात्रा गर्न सुरक्षित छ । यसभित्र लुकेर रहेका कैयौँ गन्तव्य छन् । धेरै कुराहरु हेर्न बाँकी छन् । पद यात्रा पहिल्याउदै पर्यटन प्रबद्र्धन गर्ने उद्देश्यका साथ एकल पद यात्रा सुरु गरेको हुँ ।’

पद यात्रा पहिल्याउनका लागि पहिलोचरणका दैलेख सहित कालिकोट पुर्व, जुम्ला, मुगु, हुम्ला हुँदै पुन कालिकोटको पश्चिमबाट दैलेख तर्फ फर्किने बिसीको योजना रहेको छ ।
पद यात्रा पहिल्याउदै दैलेखको महाबु हुँदै अघि बढेको बिसीले बताए ।

कर्णालीमा सडक सन्जालसँग नजोडिदा कर्णाली शिल्क रोड अथवा नेपालगन्ज, सुर्खेत दैलेखको महाबु हुँदै मानसारोबर दर्शनको लागि जाने गरेको किम्बदन्ती मात्रै हुन थाल्यो,’उनले भने,‘सडक सन्जालसँग जोडिएपछि मानसरोवर दर्शन गर्ने पैदल यात्री घट्दै गएको र पैदल मार्ग हरादै गएकाले महाबु रुटबाट पद यात्रा अघि बढाएको हुँ ।’

आइतबार बिहान नेपाल पत्रकार महासंघ दैलेख, नेपाल फोटो पत्रकार महासंघ दैलेखले ‘क’ बाट कर्णाली चिनाउन अपर कर्णालीको एकल पदयात्रामा निस्किएका बिसीलाई विदाई गरेका थिए । एकल पद यात्रामा निस्किएका श्याम बिसी नेपाल फोटो पत्रकार महासंघ दैलेखका अध्यक्ष समेत हुन् ।

दशै भरी हुने यो यात्रामा करिब १५ सय जना सङ्ग प्रत्यक्ष भेटघाट गर्ने,५० घरमा दशै,५ जिल्लाका महत्व पुर्ण क्षेत्रको स्थलगत अवलोकन र प्राचीन शिल्क रोड (पदमर्गको खोज, पहिचान) गर्ने उद्देश्यले एकल पद यात्रामा अघि बढेको बिसी बताउँछन् ।

एकल पद यात्रामा निस्केका बि सि कर्णाली ग्यालरी, प्रोजेक्ट ठुटे र सिक्ने क्याम्पेनका प्रबर्धक समेत हुन । उनी कर्णाली ग्यालेरी मार्फत कर्णालकिो प्रचार प्रसार गर्दै आएका थिए ।
दैलेख सहित कर्णालीका कालिकोट पुर्व, जुम्ला, मुगु,हुम्ला हुँदै पुन कालिकोट पश्चिम कर्णालीको तिरै तिर राकम कर्णाली पुगेर पहिलो चरणको पाँच जिल्लाको पदयात्रा सकिने पद यात्री बिसीले बताए ।

प्रतिक्रिया