छाउ बार्नु राम्रो होइन्

छाउ बार्नु राम्रो होइन्

सुर्खेत : महिनावारी बार्ने अर्थात छाउपडी प्रथा समाजमा जरो गाडेर बसेको छ । महिनावारी बार्ने चलन अर्थात ‘छाउपडी प्रथा’ ले महिलाको जीवनमा प्रत्यक्ष प्रभाव पारिरहेको छ । महिनावारी भएको अवधिमा महिलालाई बहिष्कृत गर्ने, छाउगोठ, गाई भैसीँ बाँध्ने गोठमा राख्ने, विभिन्न किसिमको विभेद, हिंसा र अमानवीय व्यवहार गरेको घटनाहरु थुप्रै छन् । यो मानव अधिकारको उल्लंघन हो ।

संस्कृति र धर्मका नाममा माहिनावारी भएको अवधिमा महिलामाथि हुँदै आएको गलत व्यवहारले उनीहरुको समग्र विकासमा अवरोध पु¥याइरहेको देखिन्छ । ‘छाउपडी प्रथा’ अन्त्यका लागि सरकारी तथा गैरसरकारी निकायहरुबाट थुप्रै प्रयासहरु समेत भएका छन् । सरकारले केहि वर्षअघि छाउगोठ भत्काउने अभियान नै चलाएको थियो । यद्धपी व्यवहारिक रुपमै अन्त्य भने हुन सकेको छैन् । सोच परिवर्तन अर्थात मनको छाउगोठ नभत्काएसम्म छाउगोठ मात्रै भत्काएर छाउपडी पर्था अन्त्य हुने देखिदैन् ।

ज्वाला सन्देश डटकम अनलाइनमार्फत महिनावारी बार्ने चलन (छाउपडी प्रथा) व्यवहारिक रुपमै अन्त्य गर्नका लागि सचेतना फैलाउने उदेश्यसहित सानो प्रयास स्वरुप साप्ताहिक स्तम्भ ‘कुरा महिनावारीका’ सुरु गरेका छौ । यस स्तम्भ अन्तरगर्त दोस्रो श्रृंखलामा सुर्खेतको पञ्चपुरी नगरपालिका –४ की कोकिला कठायतसँग कुराकानी गरेका छौँ । प्रस्तुत छ, आवाज संस्थामा कार्यरत कठायतसँग ज्वाला सन्देशकर्मी जितेन्द्र थापाले गरेको कुराकानीको सम्पादित अंश :

महिनावारीलाई कसरी बुझ्नुहुन्छ ?

महिनावारी, कुनै पनि फल लाग्नको लागि फुल फुल्छ नी त्यस्तै हो भन्ने लाग्छ । हाम्रो बुझाईमा रुढीवादी परम्परा नै छ, जातजाती र भेगिय हिसाबले पनि । महिनावारी भनेको के हो भने पहिलो कुरा फल लाग्नको लागि फुल फुल्छ । कुनै पनि महिला परिपक्व हुनको लागि होस् वा उसले बच्चा जन्माउनको लागि हुने प्रक्रियानै महिनावारी हुनु हो ।

तपाईको पहिलो महिनावारीको अनुभव अवस्था कस्तो थियो ?

मेरो पहिलो महिनावारी कस्तो थियो भने कतिपय कुराहरु आफुले नभोगेर अनुभव नगरेर अरुको अनुभवबाट पनि आफुलाई थाह हुन्छ । म १५ वर्षको थिएँ । मेरो पहिलो महिनावारीको अनुभव मेरो आमाले दिदिले भाउजुले गरेको कुराबाट नै पहिलो अनुभव थाहा पाएको हुँ । मेरो अनुभव भनेको सात दिनसम्म घरभन्दा टाढा लुकेको थिएँ । एघार दिनपछि घरमा पानी छोएको हुँ । घरमा बुबाले १९ दिन पछि पानी छुने भन्दै हुनुहुन्थ्यो । आमाले १५ दिन भन्नुहुन्थ्यो । म आफैले मान्न तयार नभएर सात दिनमा जवरजस्र्ती पानी छोएको हुँ । ११ दिनमा घरमा सबैको अघि अनुहार देखाएको हुँ । दोस्रो पटक महिनावारी हुँदा पनि बुबाले लुक्नपर्छ भन्नुहुन्थ्यो सात दिनसम्म (लुकेको) नदेखिएको अनुभव ताजै   छ ।

पहिलो पटक महिनावारी हुँदा कस्तो समस्या भोग्नुभयो ?

म पहिलो पटक २०५५ सालमा महिनावारी हुँदा समस्या र कष्ट धेरै भोगे । सात दिनपछि पानी छोएँ ।सात दिनसम्म कसैको नजरमा नपरेर लुकेर बसे । राम्रोसँग खाना रुच्दैनथ्यो । तरकारी हुन्थेनथ्यो । त्यो पनि सेतो नुनसँगै लुकेर खाना खाएँ । सात दिनसम्म घरमा र घरका आफुभन्दा ठुला कसै परिवारलाई पनि भेटिन । सात दिनसम्म रुखको छहारी, ओढारमा दिनहरु गुजारे । पाँच दिनसम्म विद्यालयमा जान छोडे । विद्यालयमा जादा रगत बग्ने समस्या र साथीहरु जिस्क्याउने हुनाले पनि विद्यालय जान सकिन । पहिलो महिनावारी हुँदा प्याड भन्नेसम्म केहो थाह थिएन । गरिब परिवारको छोरीलाई भित्रिबस्त्रसम्म लगाउने कुरा थाह थिएन । त्यति बेलाको समय त्यस्तो थियो ।

महिनावारी हुँदा बार्ने चलन र अहिलेको अवस्थामा के फरक पाउनुभयो नी ?

पहिले र अहिले महिनावारी बार्ने चलनमा धेरै भिन्नता आएको छ । पहिले र अहिलेको महिनावारी आकास पातलको फरक छ । पहिले भन्दा अहिले मानिसहरु शिक्षित हुँदै गएका छन् । महिनावारीको अन्त्य गर्ने कुरा उठ्छ तर, यो छाउगोठ भत्काएर छाउपडी अन्त्य कहिल्यै हुँदैन । छाउपडी अन्त्यको लागि सरकारी तथा गैरसरकारी, शिक्षित वर्ग लगायतले समाजमा चेतना जगाउनुपर्छ । छाउपडी र छाउगोठ पहिले मनबाट भत्काउनुपर्छ । छाउपडी र छाउगोड मनबाट भत्काए मात्र भत्किन्छन् नत्र छाउगोठ भत्काएर छाउपडीको अन्त्य गर्न सकिदैन् । समाजमा जनचेतना जगाउन जरुरी छ । अर्को कुरा छाउपडी अन्त्य नहुनजेलसम्म सुरक्षित छाउ बनाउनुपर्छ ।

महिनावारी भनेको प्रकृतिले दिएको बरदान हो । एउटा महिला बच्चा जन्माउनको लागि महिनावारी हुन आवश्यक छ । पहिले महिनावारी हुँदा एघार दिन बार्ने गर्थे । मेरो नानीहरु पनि महिनावारी भएपछि घरमा बुबा आमाले तिमिहरु हामीसँग पाँच दिनसम्म देखिनु हुन्न, घरदेखि टाढा बस्नुपर्छ भनेर भन्दा उल्टै उनीहरुले महिनावारी हुँदा हामी टाढा गएर लुक्न भन्दा तपाईहरु हामीभन्दा ठुलो मान्छे हुनुहुन्छ, जंगलमा गएर तपाईहरु बस्नुस, अनि किन जंगलमा बसेको ? भनेर कसैले प्रश्न सोध्यो भने, मेरो नातीनि महिनावारी भएकी छन् म घरमा जाँदैन त्यही भनेर भन्नु भनेर सुझाव दिन्छन् । मेरो नानीहरुलाई महिले काही लुक्न पनि पठाइन् ।

हामी पनि छाउपडी बार्छौ, तर सुरक्षित तरिकाले । महिनावारी भएका बेला बत्ति छ, पानी छ, खानको लागि पोषिलो खाने कुरा छ । पढ्नको लागि बत्तिको सुविधा छ । पहिले खेतमा पनि बस्यौँ । परालको सानो टौवा मुनी पनि बस्यौँ । ठुलो रुखको छहारीमुनी पनि बसेर रात काटियो । हिजोका दिनहरुमा ओढारमा पनि बसियो । ११ दिनसम्म अरु साथीहरुले नै खाना पानी पु¥याउथे । त्यतिबेला धारा थिएन पानी पीउनकै लागि खोला किनारमा जानुपर्ने बाध्यता थियो । प्यास लागेपछि पानी पिउनकै लागि दुई देखि ढाई घण्टा हिडेर पानी पिउनुपर्ने अवस्था थियो । प्यास लागेकै बेला दुई तीन घण्टा हिडेर खोला जादा पनि ढुक्क सँगले जान सक्ने अवस्था थिएन । कोही दाईभाई आफन्त छन् कि भन्दै डराएर पानी पिउनुपर्ने अवस्था थियो । त्यस्तो अवस्थामा घरका दाईभाई आफन्तले देखे राम्रो हुँदैन्, अनिष्ठ हुन्छ भन्ने अन्धविश्वास थियो ।

छाउपडि हामीले पनि मान्छौँ सुरक्षित छौँ । दही, दुध, ध्यू खान्छौँ । सधै सफा सुग्गर, चुकुल सहितको ढोका र खाटमै सुत्ने गछौँ । हामीले त छाउपडी नमान्ने नै भन्छौँ । घरका बुढा पाका बुढाबुढीले नमान्ने भएपछि पुजा कोठा र भान्सा कोठा जादैनौँ नत्र सुरक्षित कोठामा सुरक्षित तरिकाले सुत्छौँ ।

तपाईको पालामा खानेकुरा के के बार्नुहुन्थ्यो ? अहिले के गर्नुहुन्छ ?

त्यो समयमा दही, दुध ध्यू मही खान मिल्दैन भन्थे । खाएमा अनिष्ठ अनिष्ट हुन्छ भन्ने चलन थियो । अनि केरा र मेवा महिनावारी भएकाले खान हुँदैन रुख नै सुख्छ भन्ने अन्धविश्वास थियो । अहिले महिनावारी हुने (पालो) समय नजिक आउँदैछ भने पहिले नै भ्याएसम्मका पोषिलो खानेकुरा जम्मा गर्छु । घरमा फलफुलहरु तयारी अवस्थामा राख्ने गर्छु ।

महिनावारी हुँदा के गर्न हुन्छ के गर्नु हुँदैन र कस्ता खानेकुरा खानुपर्छ ?

महिनावारी हुँदा रगत बग्छ । रगत बग्दा कमजोर बनाउँछ । कमजोर नहुनका लागि पनि हामीले यस्तो अवस्थामा प्रशस्त मात्रमा फलफुल, पोषिलो खानेकुरा खाने गर्नुपर्छ । मैले त्यही गर्दै आएको छु । प्रायले महिनावारी हुँदा प्रशस्त मात्रामा खाना लगायतका पोषिलो खानेकुरा नखाने हुँदा शरिरमा विभिन्न किसिमका समस्या देखा पर्ने, कमजोर महशुस हुने, चक्कर लाग्ने, पेट बेस्सरी दुख्ने, खाना खान मन नलाग्ने हुन्छ । मलाई पहिले त्यस्तो हुन्थ्यो । अहिले मैले फलफुल, पोषिलो खानेकुराको खाने गर्नाले त्यो समस्या हटेको छ । महिनावारी हुँदा पनि म स्वस्थ्य महशुस गर्छु । समुदायका बुढापाकाले त महिनावारी हुँदा घाँस दाउरा जाऊ भन्छन् । घरायसी का मगर्न दिँदैनन् । गह्रौँ काम गर्नुपर्छ भन्नुुहुन्छ । पोषिलो खानेकुरा खानुपर्यो । महिनावारी भएका बेला पाठेघर कमजोर भएको हुन्छ । यस्तो बेला रुख चढ्यो भने पाठेघर खस्ने सम्भावना हुन्छ । गह्रौँ काम गर्दा पाठेघर खस्ने, बढि रगत बग्ने सम्भावना हुन्छ । यस्तो अवस्थामा यस्तो काम नगरेर प्रशस्त मात्रामा फलफुल र पोषिलो खानेकुरा खानपर्छ ।

मर्यादित महिनावारी बनाउन के गर्नुपर्छ नी ?

मेरो विचारमा महिनावारीलाई मर्यादित बनाउन पहिलो कुरा आफु सुरक्षित रहनुपर्छ । पोषिलो खानेकुरा खानुपर्छ । पुजा कोठामा नगएर कोठामै बसेर पनि सुरक्षित छाउ बार्न सकिन्छ । समय अनुसार सबैजना शिक्षित हुँदै गए छाउ अन्त्य हुन्छ । अर्को व्यक्तिले के गरेको छ भन्दा पनि आफुले के गर्दैछु भन्ने कुरा मनन् गर्दा राम्रो हुन्छ । सबै भन्दा पहिले आफु म बाट सुरुवात गर्नुपर्छ अनि मात्र छिमेकीले गर्छ विस्तारै गाउँ र देशले सुरुवात गर्ने हो । अहिलेको २१ औँ शताब्दीमा हाम्रो पुर्खाले के गर्नुभयो, हाम्रा बाउ बाजेले के गर्नुभयो भन्ने कुराको पछि लाग्न हुँदैन । राम्रोलाई अगाल्दै नराम्रोको अन्त्य गर्दै अघि बढ्ने हो भने यस्ता कुसस्कार अन्धविश्वास हट्न समय लाग्दैन ।

महिनावारी हुँदा छाउ गोठ बस्नै पर्छ त ?

मेरो विचारमा छाउगोठ बस्नु सबै भन्दा नराम्रो हो । हामी हाम्रो समुहहरुमा छलफल गर्दा तपाईहरु महिनावारी किन बार्नुहुन्छ भन्दा, बुढापाका मानिसहरुले देवि देउता रिसाउछन्, हाम्रा पुर्खा रिसाउछन्, देउता बिग्रिन्छन् भनेर भन्नुहुन्छ त्यसैले महिनावारी बार्छौ भन्नुहुन्छ । त्यसमा हामीले भन्छौँ भने, यदि महिनावारी बार्न घरदेखि टाढा बसेको बेला कुनै छोरी बुहारी बलात्कृत भईन, सर्पले डस्यो भने चाँही देउता खुसी हुन्छन् त भनेर भन्छौ । यदि देउता खुसी भएको भए त बाहिर बसेको बेला सर्पले डसेर ज्यानै नलिनुपर्ने होइन् र ? अनी कुनै चेली बलात्कृत हुँदा राक्नुपर्ने होनी देउताले ।

छाउ बार्नु राम्रो होइन् सकभर छाउ नबारौँ । यदि बार्ने नै भए सुरक्षित तरिकाले बारौँ । छाउपडी बार्दैन भन्नु पनि मेरो अधिकारको कुरा हो । म छाउपडी हुँदा म आफ्नो पुजा कोठा, भान्सा कोठा जान्छु भन्दा नजानुस भनेर कसैले भन्न पाउने अधिकार छैन । यदि छाउ बार्ने नै भए सुरक्षित चुकुल सहितको कोठामा बस्ने, पोषणयुक्त खानेकुरा खाने र सफा सुग्घर ठाउँमा बस्नुपर्छ ।

 

प्रतिक्रिया