बालमैत्री वडा बनाउन ३ वर्षे लगानी योजना निर्माण

बालमैत्री वडा बनाउन ३ वर्षे लगानी योजना निर्माण

दैलेख : बालमैत्री स्थानीय शासन प्रवद्र्धन गर्न आवश्यक श्रोतको पहिचान, श्रोत नक्साँकन, लगानी र स्थानीय तहको क्षमता विकास गर्ने उद्धेश्यले गुराँस गाउँपालिका–८ ले बालबालिकाको लागि लगानी योजना तयार गरेको छ । स्थानीय सरोकारवालाहरुको सहभागीतामा ३ वर्षे लगानी योजना निर्माण गरिएको हो । सहभागीहरुले ३ वर्षमा बालबालिकाको लागि करिब २ करोड बराबरको योजना निर्माण गरेका छन् ।

वडामा बाल उद्यान निर्माण, सार्वजनिक शौचालय, विद्यालयमा छात्र छात्राको लागि अलग अलग शौचालय, जोखिममा रहेका बालबालिकाहरुलाई सामाजिक सुरक्षा, राहत पुनस्थापना तथा सहयोग कार्यक्रम, आधारभूत शिक्षा उर्तिण गर्न नसकेका बालबालिकाहरुको लागि सीप तथा व्यवसायमुलक तालिम, बालश्रमिक बालबालिकाहरुको लागि जीवनउपयोगी सीप सम्बन्धि तालिम लगाएतका कार्यक्रम लगानी योजनामा समावेश गरिएको छ ।

त्यसैगरी लगानी योजनामा दक्ष स्वास्थ्यकर्मिबाट सुत्केरी गराउने, बालबालिकालाई पूर्ण खोप, कमतौल भएका बालबालिकालाई पोषण लगाएतका कार्यक्रम सञ्चालन गर्ने योजना रहेको छ ।

बालमैत्री स्थानीय शासन वडा घोषणा शासकीय सुधारको एक महत्वपूर्ण पाटो भएको उल्लेख गर्दै वडा नं ८ का वडा अध्यक्ष दिपेन्द्र ओलीले भने बालमैत्री कार्यक्रम सञ्चालन गर्न श्रोतको पहिचान र विश्लेषण गर्न लगानी योजना आवश्यक रहेको बताए । ‘आजका बालबालिका भविश्यका युवा हुन । आज बालबालिकामा लगानी गर्नु भनेको भविश्यमा राम्रो जनशक्ति तयार गर्नु हो,’ उनले भने ।

वडा नं ८ ले चालु आव.मा श्रोतको अभावले गर्दा पर्याप्त बजेट विनियोजन गर्न नसकेपनि आगामी आ.व.मा बृद्धि गर्ने उनको भनाई थियो । सार्वजनिक शौचालय निर्माण, बालमैत्री उद्यान, बालमैत्री खेलमैदान, छात्रछात्रा शौचालय, सुविधायुक्त विद्यालय भवन, माध्यामिक शिक्षा उर्तिण गर्न नसकेका बालबालिकाहरुको लागि सिपमुलक तालिम सञ्चालन गर्न स्थानीय सरकार जिम्मेवार भएको उनले बताए ।

सहभागीहरुले बालमैत्री कार्यक्रम सञ्चालन गर्नका लागि श्रोतहरुको पहिचान गरेका थिए । उपलब्ध श्रोतलाई सम्पूर्ण वर्ग समुदाय, जातजाति, लिग र क्षेत्र समेटेर न्योचितरुपमा बजेट विनियोजन तथा कार्यक्रम सञ्चालन गर्न लगानी योजनाले सहयोग गर्ने नागरिक समाजका संयोजक तथा कार्यक्रमका सहभागी इश्वरी खड्काले बताईन् ।

शक्ति संरचनामा सबैभन्दा कमजोर, केही विकास गर्न अरुको आवश्यक पर्ने भएकाले बालबालिकामा लगानी गर्न आवश्यक भएको सेभ द चिल्डे«नका टिकाराम वि.क.ले बताए । बालबालिकामा गरेको लगानीको प्रतिफल ढिला प्राप्त भएपनि भविष्यको लागि उपलब्धिमुलक हुने उनको भनाई थियो । ‘सामाजिक र सांँस्कृतिक रुपमा बालबालिकालाई राम्रो बनाउन र समाजमा हुने विभिन्न हिंसात्मक घटनाहरुमा कमि ल्याउन पनि बालबालिकामा लगानी आवश्यक हुन्छ,’ उनले भने ।

जुन स्थानीय सरकारले बालबालिकालाई पहिलो प्राथमिकतामा राखेर कानूनको निर्माण गरी बालअधिकारको संरक्षण गर्छन त्यो स्थानीय सरकार सुशासनयुक्त हुने सोसेक नेपालका बालसंरक्षण संयोजक निर्मल अधिकारीले बताए । ‘बालबालिकालाई राम्रोसँग हुर्काउनु भनेको देशको लागि राम्रो जनशक्ति तयार गर्नु हो, बालबालिकाको हितमा नियम कानूनहरु स्थानीय तहमा निर्माण गर्ने, स्थानीय तहको निर्णय र कार्यान्वयन प्रक्रियामा बालबालिकालाई सहभागी गराउने लगाएका क्रियाकलापले बालअधिकारको संरक्षण गर्न सहयोग गर्छ,’ उनले भने ।

गन्तव्यमा पुग्न जसरी योजनाको आवश्यकता हुन्छ त्यसैगरी बालमैत्री स्थानीय तह निर्माण गर्न पनि लगानी योजना आवश्यक भएको अधिकारीले बताए । ‘योजनाबिना कोही पनि कहि पुग्न सक्दैन्, जुनसुकै काम गर्नको लागि पहिला योजना आवश्यक हुन्छ, त्यसैले बालमैत्री समाज निर्माण गर्न लगानी योजना आवश्यक छ,’ उनले भने ।

प्रतिक्रिया