खाद्यान्नमा आत्मनिर्भर बन्दै सल्यान

खाद्यान्नमा आत्मनिर्भर बन्दै सल्यान

सल्यान  : सल्यान जिल्ला खाद्यान्नमा आत्मनिर्भर जिल्ला बनेको छ । यहाँ खपत हुने भन्दा बढी खाद्यान्न उत्पादन भइरहेको छ । जिल्लामा उत्पादन भएको खाद्यान्न जिल्लावासीलाई पुगेर पनि बचतको अवस्थामा पुगेको छ ।

कृषि क्षेत्रको आधुनिकीकरण र विस्तारसँगै जिल्लामा हुने खपतभन्दा बढी खाद्यान्न उत्पादन भएपछि खाद्य सुरक्षाका दृष्टिले जिल्ला आत्मनिर्भर बनेको कृषि विकास कार्यालय सल्यानले जनाएको छ ।

धान, मकै, गहुँ, कोदो, जौ जस्ता खाद्यान्न वार्षिकरुपमा उत्पादन बृद्धि हुँदै जान थालेपछि खाद्यान्नमा आत्मनिर्भर बनेको कार्यालय प्रमुख भरतबहादुर बस्नेतले बताए । ‘जिल्लाको जनसंख्याका लागि प्रतिवर्ष आवश्यक पर्नेभन्दा पाँच हजार पाँच सय सात मेक्ट्रिक टन खाद्यान्न पछिल्लो वर्ष हामीकहाँ बचत हुने गरेको छ’,उनले भने ।

कृषि विकास कार्यालय सल्यानले तयार पारेको तथ्यांकअनुसार जिल्लामा वार्षिकरुपमा एक लाख २९ हजार दुई सय ५५ मेक्ट्रिक टन खाद्यान्न उत्पादन हुने गरेको छ । ‘उपभोगयोग्य ५३ हजार नौ सय २६ मेक्ट्रिक टन खाद्यान्न हो’, बस्नेतले भने, ‘जिल्लाको कुल जनसंख्याको आधारमा ४८ हजार चार सय १८ मेक्ट्रिक टन मात्र खपत हुन्छ । उत्पादनको तुलनामा पाँच हजार पाँच सय सात मेक्ट्रिक टन खाद्यान्न बचत हुने गरेको छ ।’ बचत खाद्यान्न जिल्लाबाट निर्यात भइरहेको उनले बताए ।

जिल्लाका लागि प्रतिव्यक्ति दुई सय एक केजी खाद्यान्न वार्षिकरुपमा आवश्यक पर्दछ । राष्ट्रिय जनगणना २०७८ अनुसार जिल्लाको कुल जनसंख्या दुई लाख ४० हजार आठ सय ८८ रहेको छ । उक्त जनसंख्याका आधारमा वार्षिक ४८ हजार चार सय १८ मेक्ट्रिक टन भए जिल्लामा खाद्यान्न पुग्ने कार्यालय प्रमुख बस्नेतको भनाइ छ ।

जिल्लामा ३८ हजार नौ सय २६ हेक्टर क्षेत्रफलमा खेती हुन्छ । यसमध्ये पशुपन्छी आहार, उत्पादन क्षति, प्रशोधन, विउविजन, भण्डारणमा हुने क्षति समेत जिल्लाकै उत्पादनले परिपूर्ति भइरहेको छ । जिल्लामा सबैभन्दा बढी मकै उत्पादन हुने गरेको छ । धान, गहुँ, कोदो पनि जिल्लामा मकैपछिको राम्रो उत्पादन हुने बाली हो ।

जिल्लामा उत्पादन भएको आलु÷पिँडालुमध्ये ३९ हजार आठ सय दुई मेक्ट्रिक टन बचत हुने गरेको छ । यस्तै तरकारी २० हजार मेक्ट्रिक टन, फलफूल तीन हजार आठ सय १० मेक्ट्रिक टन र तेलहन दुई सय ५५ मेक्ट्रिक टन बचत हुने गरेको कार्यालयको भनाइ छ । यस्तै जिल्लामा चार हजार आठ सय ३४ मेक्ट्रिक टन दलहन आवश्यक पर्ने गरेकोमा दुई सय २३ मेक्ट्रिक टन जिल्ला बाहिरबाट आयात गर्नुपर्ने बाध्यता छ ।

कार्यालय प्रमुख बस्नेतले जिल्लामा भएका छवटा बालीमध्ये दलहन बालीको उपलब्धता नकारात्मक रहेको बताए । जसमा खाद्यान्न, आलु÷पिँडालु, तरकारी, फलफूल र तेलहन बालीहरुको उपलब्धता सकारात्मक रहेको छ । जिल्लामा उत्पादन हुने खाद्यान्नले पुग्ने भए पनि अन्य जिल्लाबाट चामल भने आयात हुने गरेको छ ।

सबैले चामल बाहेक मकै, गहँ, कोदो उपयोग कम गर्ने भएकाले पनि बाहिरबाट चामल आउने गरेको कार्यालयको भनाइ छ । ‘जिल्ला खाद्यान्नको लागि परनिर्भर हुनुपर्ने बाध्यता छैन, जिल्लामा नै उत्पादन भएको खाद्यान्नले वर्षभरि पुगेर पनि बचत हुन्छ’ बस्नेतले भने । जिल्लामा धेरै जमिन अझै बाँझो रहेको र बाँझो जमिनलाई उपयोगमा ल्याउन सक्ने हो भने उत्पादन बढ्ने कार्यालयले जनाएको छ ।सल्यानटुडे

प्रतिक्रिया