हुम्लामा क्लबले धानेको खेल गतिविधि

हुम्लामा क्लबले धानेको खेल गतिविधि

सिमकोट :  हालसम्म जति पनि खेल गतिविधि जिल्लामा सञ्चालन हुने गरेका छन्, ती सबै क्लब, एकेडेमी स्तरबाटै सञ्चालन हुँदै आएका छन्। खेल क्षेत्रका नियमनकारी निकाय यस्ता गतिविधि सञ्चालन गर्ने जमर्को नगरेपछि जिल्लाभरि क्लबस्तरबाटै खेलकुद प्रतियोगिता सञ्चालन हुने गरेका हुन्।

असोज २६ गतेयता मात्र तीन वटा भलिबल प्रतियोगिता सञ्चालन हुँदै छन् जसमा अदानचुली गाउँपालिकामा यार्सा कप भलिबल प्रतियोगिता चलिरहेको छ भने कात्तिक २ गतेबाट सर्केगार्ड गाउँपालिका रोयल गौरी साँया क्लबको आयोजनामा भलिबल प्रतियोगिता हुँदै छ भने कातिक ४ गतेबाट चंखेली गाउँपालिकाको चंखेली युवा क्लबको अयोजना महिला तथा पुुरुष भलिबल र पुुरुष एकल र डकल ब्याट्टमेन्टन प्रतियोगिता हुुँदै छ।

यी प्रतियोगिता सबै जिल्लास्तरका हुन्। त्यसैगरी, सिमकोट गाउँपालिकाको ठेहे उदयमान युवा क्लवको आयोजनमा सिमकोटमै जिल्लास्तरीय नाइन ए साइट फुटबल प्रतियोगिता हुँदै छ। यी सबै गतिविधि क्लबस्तरमा सञ्चालन हुँदा जिल्ला खेलकुुद विकास समिति र गाउँपालिकाका खेलकुद शाखाले कुनै त्यसको चासो दिएको देखिँदैन।

अझ हुम्ला फुटबल एकेडेमीको एकल प्रयासमा सहिद स्मारक सी डिभिजन छनोट चरणको खेलमा हुम्लाको टिमले सहभागिता जनाएको थियो।

ठूलो पुरस्कार राशिको प्रतियोगिता हुँदै

कात्तिक ४ गतेबाट जिल्लास्तरीय भलिबल तथा ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ। चंखेली युवा क्लबको आयोजनामा सो प्रतियोगिता हुुन लागेको हो।

यो हालसम्मकै ठूलो पुरस्कार राशिको प्रतियोगिता हो। क्लबले महिला तथा पुुरुष जिल्लास्तरीय भलिबल र ब्याडमिन्टन पुुरुषका लागि सो प्रतियोगिता गर्न लागेको हो।

पुुरुषतर्फको भलिबल प्रतियोगितामा प्रथम स्थानका लागि एक लाख बीस हजार, द्वितीयका लागि ७० हजार र तृतीयका लागि ४० हजार पुुरस्कारको व्यवस्था गरिएको छ भने महिलातर्फ प्रथमलाई ७५ हजार, द्वितीयलाई ५० हजार र तृतीयलाई २५ हजार पुरस्कारको व्यवस्था गरिएको छ।

त्यसैगरी, ब्याडमिन्टनतर्फ पहिलोलाई ३० हजार द्वितीयलाई २० हजार र तृतीयलाई १० हजार पुरस्कार राशिको व्यवस्था गरिएको छ।

क्लबका अध्यक्ष गीर्वाण शाहीले जिल्लाभरिका खेलाडीलाई समूह बनाएर प्रतियोगितामा सहभागिता जनाउन आग्रह गरे। यता, हाल यार्सा कप भलिबल अदानचुलीमा चलिरहेको छ भने रोयल गौरीसाँया क्लबले भलिबल प्रतियोगिता कात्तिक २ गतेबाट सञ्चालन गर्दै छ।देशसञ्चार

 

प्रतिक्रिया