महिनावारीलाई घृणाले होइन् मर्यादाले हेरौँ

        दुर्गा गिरी   |   प्रकाशित मितिः शनिबार, कार्तिक ५, २०७९     ::: 300 पटक पढिएको   |  

महिनावरी एक जैविक प्रक्रिया हो । हाम्रो नेपाली समाजमा महिनावारीको रगत फोहोरी हो भन्ने गलत बुझाई एंव मान्यता छ । ठाउँ तथा फरक संस्कृतीका कारण कतै छुट्टै छाउगोठमा बस्न लगाइन्छ । कहि गाई गोठमा, कहि आगनमा कहि घरको पेटीमा, कहि घरभित्र त कहि कुनै पनि तरिकाले विभेद नगर्ने गरेको पाइन्छ । महिनावारी भएको समयमा ३ दिनदेखि ७ दिनसम्म हरेक सामाजिक, सांस्कृतिक एवं घरायसी काम काजमा बन्देज गरिएको हुन्छ ।

महिनावारी भएको समयमा महिलाहरु विवाह, पुजाआजा, चाडपर्व परेपनि अलग्गै बस्नु पर्ने बाध्यतामा हुन्छन् । कुनै कुनै कार्यमा त हेर्न समेत हुँदैन भनेर हेर्न पनि दिइदैन् । महिनावारी भएको बेलामा महिलाहरु कर्मलाई दोष दिएर रुदै बस्नुपर्ने बाध्यता अझै पनि यो समाजमा रहिरहेको छ ।

समाजमा रहेका शिक्षित तथा समाजका अगुवा महिलाहरु मात्र नभई अगुवा पुरुषका घरपरिवारका महिला तथा किशोरीहरु समेत महिनावारी बार्ने गरेको पाइन्छ । सवै मानिसहरुको मानसिकतामा देवता लाग्छ, घरमा अनिष्ट हुन्छ, घरमा बाघ, सर्प जस्ता जनावर आउँछन्, घर परिवारको सफलता हुँदैन जस्ता विभिन्न किसीमको भ्रमको कारणले गर्दा शिक्षित व्यक्तीहरुले पनि यस्ता कुसंस्कारहरु अंगालिरहेको पाइन्छ ।

मनोसामाजिक रुपमा परेको असर र आकस्मीक रुपमा भएको कुनै घटनालाई आधार मानेर मानिसहरुले यस्ता कु–संस्कार अगालीरहेको पाइन्छ । त्यसैले सोचले कुसंस्कार बदल्ले भएकोले महिनावारी के हो, मर्यादित महिनावारी के हो, र महिनावारी भएको अवस्थामा बार्ने र बार्न बाध्य बनाउने व्यक्तिहरुका लागि बनेको कानुनको बारेमा बुझ्न आवश्यक छ ।
महिनावारी जैविक प्रक्रिया हो । प्रजनन उमेरका महिलाहरुको डिम्वासयमा प्रत्येक १४ दिनमा डिम्ब परिपक्क भएर डिम्बासयबाट बाहिर आउँछ । यदि डिम्ब र शुक्रकिट विचमा निशेचन नभएको खण्डमा परिपक्क भएको डिम्ब नष्ट भएर जान्छ र पाठेघरमा भएको रगतको तह च्यातीएर महिलाको योनीबाट रगत बाहिर आउने प्रक्रियालाई महिनावारी भनिन्छ । बालिकामा ११ देखि १२ वर्ष उमेरबाट सुरु भई ४५ देखि ४९ वर्ष सम्मका महिलामा रहने गर्दछ । सामान्यतया महिनावारी चक्र २८ दिनको हुन्छ ।

नेपालको संविधान २०७२ भाग ३ कोे धारा १६, १७, १८, २४, ३०, ३१, ३५, ३६, ३७, ३८, ३९ मा उल्लेख गरिएका मौलिक हकहरु क्रमश सम्मानित जीवन जिउन पाउने, स्वतन्त्रपूर्वक हिड्न पाउने, समानता, छुवाछुत र विभेद रहित स्वस्च्छ वातावरण, शिक्षा, स्वास्थ्य, पोषणयुक्त खाना, सुरक्षीत आवास, महिलाको हक र बालबालिकाको हक उल्लेख भएबमोजिम अन्य दिनहरुमा जस्तै गरी महिनावारी भएको समयमा पनि मौलीक हकहरुको मर्यादामा रहि समान व्यवहार गरिन्छ भने त्यसलाई मर्यादित महिनावारी भनिन्छ ।

कानूनले रजस्वला वा सुत्केरीको अवस्थामा छाउपडीमा राख्ने वा अन्य भेदभाव, छुवाछुत वा अमानवीय व्यवहार गर्न बन्देज गरेको छ । मुलुकी अपराध (संहिता) ऐनको दफा १६८ (३) ले रजस्वला वा सुत्केरीको अवस्थामा छाउपडीमा राख्ने वा अन्य भेदभाव, छुवाछुत वा अमानवीय व्यवहार गर्न नहुने उल्लेख गरिएको छ । यस्तो कसुर गरेको ठहर भए तीन महिनासम्म कैद वा तीन हजार रुपैयाँसम्म जरिबाना वा दुवै सजाय हुनसक्ने व्यवस्था नयाँ कानुनले गरेको छ । राष्ट्रसेवकले यस दफामा लेखिएको कसुर गरेमा नीजलाई थप तीन महिना कैद सजाय व्यवस्था कानूनले गरेको छ ।

हामीले केहि साताअघि मात्रै बडा दशैंलाई बिदा गरेका छौँ । नेपालमा मनाइने दोस्रो ठूलो पर्वको रूपमा मनाईने तिहारको पूर्वसन्ध्यामा छौ । महिनावारी भएपछि दशैंको टिका थाप्न नपाउने महिलाहरुको संख्या पनि कम छैन् । देवी देवता रिसाउने र मनोकाङ्क्षा पूरा नहुने भन्ने भ्रमले महिनावारी भएको बेला चाडपर्व मान्न नहुने परम्परा अहिले पनि कयौँ घरपरिवारमा कायमै छ । यो मान्यता र परम्परा गलत हो ।

यद्धपी दशैैं र भाइटीकाको दिनमै महिनावारी भएको र दशैंको टिका लगाउनेदेखि भाइलाई टीका लगाइदिएको उदाहरण कयौं महिलाहरुसँग छ । यसर्थ समाजमा रहेका गलत मान्यता र परपम्पराकै कारण आउँदै गरेको शुभ दिपावली (भाई टिका) को दिन यदि कुनै महिला महिनावारी भएको अवस्थामा टिका तथा माला लगाउनबाट बञ्चित हुन नपरोस् । महिला महिनावारी हुनु एक मासिक प्रक्रिया हो । त्यसैले महिनावारीलाई घृणाले होइन् मर्यादाले हेरौँ । सबै दिदी बहिनी र दाजुभाईले हासी खुसी भाईटिका लगाउन पाउने वातावरण सृजना होस् ।

सबैमा शुभ दिपावली ।



Leave a comment

Your email address will not be published.


*