कर्णाली नदि किनारमा तीन जिल्लाको सुरक्षा समन्वय बैठक

कर्णाली नदि किनारमा तीन जिल्लाको सुरक्षा समन्वय बैठक

दैलेख : नेपालको सबैभन्दा लामो कर्णाली नदि किनारमा अन्तर जिल्ला सुरक्षा समन्वय बैठक बसेको छ । बिहीवार कर्णाली प्रदेशका दैलेख र कालिकोट तथा सुदुरपश्चिम प्रदेशको अछाम जिल्लाबीच सुरक्षा समन्वय बैठक बसेको हो । दैलेखका प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमालको अध्यक्षतामा बैठक बसेको हो । दैलेखको आठबीस नगरपालिका–४ राकमकर्णालीस्थित कर्णाली किनारमा बसेको बैठक आसन्न निर्वाचन, विपद् व्यवस्थापन लगाएतका विषयमा केन्द्रीत थियो ।

जिल्ला प्रशासन कार्यालय दैलेखका प्रशासकीय अधिकृत एवं सूचना अधिकारी गणेशप्रसाद कोइरालाका अनुसार तीन जिल्लाको सुरक्षा बैठक मंसिर ४ गते हुन लागेको प्रतिनीधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि केन्द्रीत थियो । आसन्न निर्वाचन, विपद् व्यवस्थापन, दुई ठूला राजमार्गहरु कर्णाली राजमार्ग र मध्यपहाडी राजमार्गमा सहज सवारी आवागमन, सडक दुर्घटना न्यूनिकरण, चोरी निकासी नियन्त्रण लगाएतका विषयमा केन्द्रीत रहेर अन्तर जिल्ला सुरक्षा बैठक बसेको कोइरालाले बताए ।

तीन जिल्लाबीचको आपसी समन्वय र सहकार्यका विषयमा समेत छलफल भएको कोइरालाले बताए । बैठकमा दैलेख, कालिकोट र अछाम जिल्लामा सञ्चालित ठूला योजनाहरुको सुरक्षा सवालमा पनि छलफल भएको छ । प्रशासकीय अधिकृत कोइरालाले कर्णाली नदि किनारमा बसेको बैठकले १० बुँदे निर्णयहरु गरेको बताए ।

बैठकमा दैलेखका प्रमुख जिल्ला अधिकारी गोगन बहादुर हमाल, कालिकोटका प्रमुख जिल्ला अधिकारी रामहरि शर्मा, अछामका प्रमुख जिल्ला अधिकारी राम दत्त पाण्डेय, दैलेख प्रहरी प्रमुख डिएसपी भुवनेश्वर प्रसाद साह सहित कालिकोट र अछामका प्रहरी प्रमुख, तीन वटै जिल्लाका सशस्त्र प्रहरी बल नेपालका प्रमुख र राष्ट्रिय अनुसन्धानका प्रमुखहरु उपस्थित थिए ।

प्रतिक्रिया