सुर्खेतमा चलचित्र महोत्सव जारी

सुर्खेतमा चलचित्र महोत्सव जारी

सुर्खेत :  नेपालस्थित युरोपियन युनियनको प्रतिनिधिमण्डलले पहिलोपटक सुर्खेतमा आयोजना गरेको ११औँ संस्करणको नेपाल–युरोपियन युनियन चलचित्र महोत्सव जारी रहेको छ ।

गत कात्तिक १९ गतेदेखि सुरु भएको महोत्सव वीरेन्द्रनगर कुइनेपानीस्थित मध्यपश्चिम विश्वविद्यालयको सेमिनार हलमा सञ्चालन भइरहेको छ । महोत्सवमा पाँच युरोपेली र तीन नेपाली चलचित्र दर्शक स्रोतालाई निःशुल्क हेर्ने अवसर मिलाइएको प्रतिनिधिमण्डलका प्रेस तथा सूचना अधिकारी अम्बर मैनालीले जानकारी दिए ।

“महोत्वस भौतिक र अनलाइन माध्यम गरी मिश्रित विधिबाट सञ्चालन गरिएको छ”, उनले भने, “चलचित्रप्रति दर्शकको आकर्षण पनि बढेको र उत्साह पनि थपिएको पाएका छौँ ।” गत असोज १९ गते अरस्टी रियाहीले निर्देशन गरेको ‘अस्कर एवं लिली’ फिल्म र २० गते लोरेन्ट मिचेली र ओस्कारले निर्देशन गरेको ‘लोला’ र किरण श्रेष्ठले निर्देशन गरेको ‘यट द अनदर विन्टर’ प्रदर्शन गरिएको उनले बताए ।

उनका अनुसार सोमबार द लिटिल कमरेड, ‘गड्स् अफ मोलेन्बेक’, लाहुरेनी गोर्खा गर्ल देखाइएको छ । आज कात्तिक २२ गते समापनसत्रमा मिसा क्याम्पद्वारा निर्देशन गरिएको रोमिज सलुन र सुजित बिडारीले निर्देशन गरेको नेपाली कथानक चलचित्र ‘ऐना झ्यालको पुतली’ देखाइनेछ । ऐना झ्यालको पुतलीले हालैका दिनहरूमा थुप्रै प्रशंसा कमाएको छ ।

नेपालस्थित प्रतिनिधिमण्डलकार्यवाहक प्रमुख डा जोयले इभोनेटले काठमाडौँबाहिर सुर्खेतमा नेपाली चलचित्र प्रस्तुत गर्न पाउँदा उत्साही भएको प्रतिक्रिया दिनुभयो । उत्कृष्ट फिल्मको प्रदर्शनले आम कर्णालीवासी दशर्कका साथै फिल्मका विद्यार्थीका लागि उपयोगी हुने उनले व्यक्त गरे।

मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा डा नन्दबहादुर सिंहले युरोपियन युनियनसँग चलचित्र महोत्सवमा सहकार्य गर्न पाउँदा खुसी लागेको प्रतिक्रिया दिए । फिल्मबाट युरोप र नेपालको सांस्कृतिक र सामाजिक जीवनबारे थाहा पाउन एवं एकापसको सम्बन्ध प्रगाढ बनाउन सहयोग पुगेको उनले बताए । आगामी वर्ष कर्णालीको परिवेश समेटिएका वृत्तचित्र र फिल्मलाई पनि प्राथमिकतामा राख्न आयोजकलाई उपकुलपति प्रा डा सिंहले सुझाएका छन् ।

चलचित्रकर्मी सुजित बिडारीले कर्णाली प्रदेशका चलचित्रका विद्यार्थी तथा चलचित्रकर्मीलाई महोत्सव समापनको दिन मास्टरक्लास सञ्चालन गर्ने जनाइएको छ । आइतबार ‘लोला’ फिल्म हेरेपछि दर्शकले औधी मन छोएको प्रतिक्रिया दिए ।

दैलेखकी सुर्जा रावलले लोलाले फिल्मले आफ्नो मन छोएको प्रतिक्रिया दिइन भने सुर्खेत लेकबेँसी नगरपालिकाका शेरबहादुर आचार्यले तेस्रो लिङ्गीको अन्तरआत्माको कथालाई समेटेको प्रस्तुति राम्रो लागेको जनाए ।

प्रतिक्रिया