चेतनाको विकास गरौँ, छाउगोठहरु आफै भत्किन्छन्

चेतनाको विकास गरौँ, छाउगोठहरु आफै भत्किन्छन्



सुर्खेत : महिनावारी बार्ने अर्थात महिनावारी विभेद (छाउपडी प्रथा) समाजमा जरो गाडेर बसेको छ । महिनावारी बार्ने चलन अर्थात ‘छाउपडी प्रथा’ ले महिलाको जीवनमा प्रत्यक्ष प्रभाव पारिरहेको छ । महिनावारी भएको अवधिमा महिलालाई बहिष्कृत गर्ने, छाउगोठ, गाई भैसीँ बाँध्ने गोठमा राख्ने, विभिन्न किसिमको विभेद, हिंसा र अमानवीय व्यवहार गरेको घटनाहरु थुप्रै छन् ।

यो मानव अधिकारको उल्लंघन हो । संस्कृति र धर्मका नाममा माहिनावारी भएको अवधिमा महिलामाथि हुँदै आएको गलत व्यवहारले उनीहरुको समग्र विकासमा अवरोध पु¥याइरहेको देखिन्छ । ‘छाउपडी प्रथा’ अन्त्यका लागि सरकारी तथा गैरसरकारी निकायहरुबाट थुप्रै प्रयासहरु समेत भएका छन् । सरकारले केहि वर्षअघि छाउगोठ भत्काउने अभियान नै चलाएको थियो । यद्धपी व्यवहारिक रुपमै अन्त्य भने हुन सकेको छैन् । सोच परिवर्तन अर्थात मनको छाउगोठ नभत्काएसम्म छाउगोठ मात्रै भत्काएर छाउपडी पर्था अन्त्य हुने देखिदैन् ।

ज्वाला सन्देश डटकम अनलाइनमार्फत महिनावारी बार्ने चलन महिनावारी विभेद (छाउपडी प्रथा) व्यवहारिक रुपमै अन्त्य गर्नका लागि सचेतना फैलाउने उदेश्यसहित सानो प्रयास स्वरुप साप्ताहिक स्तम्भ ‘कुरा महिनावारीका’ सुरु गरेका छौ । यस स्तम्भ अन्तरगर्त आठौं श्रृंखलामा हुम्लाको सर्केगाड गाउँपालिका–८ कि देवकी तिमल्सेनासँग कुराकानी गरेका छौँ । उहाँ साहित्यकार तथा अभियान्ता हुनुहुन्छ । प्रस्तुत छ, तिमल्सेनासँग ज्वाला सन्देश अनलाइनका सुर्खेत प्रतिनीधि जितेन्द्र थापाले गरेको कुराकानीको सम्पादित अंश :

महिनावारीलाई कसरी बुझ्नुहुन्छ ?

महिनावारी भनेको स्वभाविक प्रक्रिया हो । हामीले चाहीँ यसलाई जैविक प्रक्रियाका रुपमा पनि लिन्छौँ । जसरी हामीले अन्य क्रियाकलाप गर्दाखेरी एउटा सरल सहज तरिकाले हुने गर्छ । महिलाहरुको शरिरबाट निस्किने जुन उमेर पुगिसकेपछि निस्किने रगत छ । त्यो चाहीँ विषेश गरि पहिलो महिनावारी हुँदा बार्ने चलन हाम्रो परम्परादेखि नै छ । सुत्केरी अवस्थामा पनि बार्ने कुरा छ । यसलाई चाहि म स्वभाविक प्रक्रिया हो भनेर बुझ्छु ।

तपाईँ जनयुद्धमा होमिएको चेली पनि हो जनयुद्धमा महिनावारीलाई कसरी बार्ने चलन थियो ? त्यो समय कस्तो थियो नी ?

जनयुद्धको समयमा महिला पुरुष बराबरी हो । हरेक क्षेत्रमा विशेष गरि क्षमता पहिचानको कुराहरु, जिम्मेवारी बाँडफाँडका कुराहरु, संगठन संरचनाका कुराहरु सबैजना बराबरी हैसियत लिन सक्छौँ र त्यही रुपमा होमिन सक्छौँ भन्ने बुझाइ लिएर नै हामी होमिएका थियौँ । आम महिलाहरुको हिसाबमा भन्नुपर्दा त्यो बेला पनि सामाजिक रुपमा रुपान्तरण परिर्वतन त्यो हिसाबले भइसकेको थिएन । पार्टीभित्र चाहीँ महिनावारी बार्ने छुईछाईका कुरा हुँदैनथ्यो । तर त्यसकै विरुद्धमा विभिन्न खाले नकारात्मक संस्कारकै विरुद्धमा हामी लागि परेको हुनाले पनि एक खालको चेतनाको अभिवृद्धि भयो । आम पाठकलाई म एउटा सन्देश के दिन्छु भने हामीले त्यो बेलाको समयमा एउटा कुराको चाहीँ भण्डाफोर नै ग¥यौँ । नयाँ चेतनाको स्थापना गरेका थियौँ । हाम्रो कर्णालीकै माथिल्लो जिल्ला हुम्ला जुम्ला र मुगुमा महिला दिदि बहिनिहरुले भित्री बस्त्रसम्म लगाउन जान्दैनथे । प्याड राख्ने त कुरै भएन । त्यो बेला हामीले त्यो पनि सिकायौँ । जसले गर्दा एकखालको सहजता भयो । छुवाछुत भएन त्यो बेला हुँदैन् थियो ।

तपाईको पहिलो महिनावारी अनुभव कस्तो रह्यो नी ?

एकदमै यो गज्जबको कुरा हो । हामीले चाहि हाम्रो अगुवाहरुबाट हाम्रो अभिभावक विशेषगरि आमा हजुरआमा र दिदिहरुबाट के सुनिन्थ्यो भने पहिलो महिनावारी हुँदाखेरि चाहीँ एकदमै ठुलो आवाज आउँछ रे । त्यो त धर्ती फुट्ने कुरा हो रे । शरिरबाट एकदमै कम्पन पनि हुन्छ । रगत उछिट्टिएर धेरै टाढा पुग्छ रे भनेर हामीलाई त्यो खालको गाली गर्दा खेरी त्यस्तो हुन्छ भनेर पनि भन्ने गर्नुहुन्थ्यो । मलाई कहिले काँही डर पनि लाग्ने गथ्र्यो । साच्चै यस्तो पनि हुन्छ र भनेर ।

म १५ बर्षको थिएँ । पहिलो महिनावारी हुँदा साउनको महिना थियो । त्यो बेला खेतमा कोदो रोप्ने समय थियो । घाँस काटेर मकै भाचिरहेको अवस्थामा पहिलो महिनावारी भएछु । मलाई थाह भएन । अर्झै हाम्रो परम्परामा के छ भने महिनावारी भए घरको चुलो चौको लाग्न हुँदैन भन्ने छ । मलाई थाह भएन म कति बेला भइसकेछु । मलाई माथि भनेजस्तै त्यो खालको अनुभव नै भएन । म सहज तरिकाले महिनावारी भएँ । हाम्रो त्यो बेलासम्म कट्टु लगाउने चलन थिएन । मैले म्याक्सी लगाएको थिएँ । रगतले म्याक्सी भिजिसकेपछि मात्र थाह पाएँ । त्यस पछि यो कसो होला के होला भनेर एक खालको डर उत्पन्न भयो । त्यो अवस्थामा पनि पार्टीमा मैले सक्रिय रुपमा काम गरिसकेको हुनाले पनि मलाई एक खालको चेतना थियो । त्यो बेला भित्रि बस्त्र र प्याड लगाउने चलन पनि थिएन । त्यो बेला गोठ थिए ।

मैले आमाको पुरानो फरियालाई च्यातेर सलको पटुका बनाएर मैले प्याड लगाउन सुरुवात गरेँेको थिएँ । महिनावारी भइसकेपछि मलाई बुवाले भित्रि बस्त्र सिलाइदिन थाल्नुभयो । भित्रि बस्त्र पनि टालो राख्न नमिल्ने इजारवाला लामोवाला हुन्थ्यो । त्यस्तोबाट सुरुवात गरेको हो । मेरो घरपरिवारमा पनि कम्युनिष्ट सिद्दान्तमै होमिनुभएको बुबा भएर पनि होला त्यति धेरै बाध्यात्मक परिस्थिति थिएन ।

महिनावारी बार्ने चलनमा पहिले र अहिलेमा के भिन्नता छ ?

अवस्य पनि धेरे भिन्नता छ । पहिलो कस्तो थियो भने हाम्रो संस्कारमा चाहीँ धार्मीक संस्कारलाई बढी प्राथमिकता दिएर बार्न लगाइन्थ्यो । अहिलेको समयमा विज्ञानसँग र अहिलेको स्वास्थ्यसँग जोडेर अलिकति बार्न लगाइन्छ । यो चाही भिन्नता हो । महिलाहरुलाई छाउपडी गोठमा बस्दाका पीडा सहि नसक्नुका हुन्थ्यो । अहिले स्वास्थ्यका हिसाबले पनि सोचिन्छ । परिवारले पनि सोच्छ । अभिभावकले पनि सोच्छ । समाजले पनि यसो भयो भने यसो हुुन सक्छ । बरु हामी सरसफाईतिर बढी जोड दिऔँ । बार्नेकुरालाई पनि यो हदसम्म बानुपर्छ भन्ने । सफा र सुरक्षाका कुराहरु पनि छन् । खानपिनको कुराहरु पनि छन् लवाइखुवाइको कुराहरु पनि छन् । यि सबै कुराहरुलाई हेर्दा पनि अहिले धेरै चेतनास्तर बृद्धि भएको छ । यद्यपि हामीले यस्तो मानसिकता भत्काउन जरुरी छ ।

सरकारले छाउगोठ पनि भत्कायो तर छाउपडी भत्किएन् ?

हाम्रो कर्णाली र सुदुरपश्चिमको कुरा गर्दा सरकारले पनि छाउगोठ भत्काउने अभियान सञ्चालन गरेको हो । १९ वटा जिल्लामा यो अभियान संचालन भयो । करिब नौ हजार दुईसय दश छाउगोठहरु भत्काइयो भनेर तथ्यांक पनि सार्वजनिक गरियो । मलाई के लाग्छ भने छाउगोठ भत्काउनु मात्रैले छाउपडी अन्त्य र छाउगोठ भत्किदैनन् । सबैभन्दा पहिले मानसिकता र हाम्रो दृष्टिकोण हो । जबसम्म हामीलाई यो (छुई) भनेको यो हो । यो एउटा प्राकृतिक कुरा हो । महिनावारी नभइकन हामी आमा बन्न सकदैनौँ । यो सौभाग्यको कुरा हो । भन्ने कुरा हाम्रो दिमागमा पर्दैन । हामीले चेतनाको स्तरमा छलाङ्ग मार्न सक्दैनौँ । जबसम्म यि कुराहरु भत्काउदैनौँ तबसम्म गोठ भत्काउदा झनै असुरक्षा भएको कतिपय ठाउँहरुमा देखियो ।

यि कुराहरुलाई सरकारबाट जुन जुन निकायहरुले जे जति अभियान चलाउनुभयो उहाँहरुलाई मेरो सुझाव के छ भने सबैभन्दा पहिले हामीले मानसिकता भत्काऔँ । जुन कुसंस्कारका रुपमा मानसिकता छ त्यस्लाई पहिले भत्काऔँ । नयाँ मानसिकता लिएर अगाडी बढ्न प्रेरित गरौँ । सही जनचेतना फैलाऔँ । सकारात्मक सोचको विकास गरौँ । अनि मात्र हामीले छाउगोठ भत्काउन सक्छौ ।

छाउपडी अन्त्यको लागि कस्तो खालको अभियान चलाउन जरुरी छ ?
मेरो सुसुरा बुबा महाबैको मुल धामी हुनुहुन्थ्यो । हुम्ला, जुम्ला, मुगुसहितका केही जिल्लाहरुमा देखेको अनुभवमा म आफै पहिलोपटक घर आउँदाखेरि एउटा कुकुर सुत्ने ठाउँमा म महिनावारी हुँदा बसेको थिएँ । मान्दै आएको चलनलाई मैले पनि नबुझेरै तिरस्कार गर्ने कुरा भएन । एक दुई दिन मैले पनि त्यो भोगे । मासिक रुपमा भोग्नेलाई झन सोत्तरमाथि सुत्दाखेरी कस्तो हुन्छ होला । वरिपरि झिंगाहरु भुन्भुनाई रहँदाखेरी, टालो, भित्रिबस्त्र लगाउने समेत व्यवस्था नहुँदाखेरी त्यही खालको सुरक्षा नहुँदा खेरी, त्यो खालको खानाको व्यवस्था नहुँदाखेरी कस्तो हुन्छ होला ? त्यो बेला राजनीतिक अभियान्ता भएको हुनाले हामीले सबैभन्दा पहिलो कुरा मान्छेको मानसिकता बुझ्न जरुरी छ भन्ने लाग्यो ।

मेरो टोल छिमेकहरुमा, महिला संगठनहरुमा पनि कुराकानी गर्दा मैले उहाँहरुलाई भने, पहिले व्यवहारिक कुराहरु गरौँ । यसबाट हामीलाई नकारात्मक र सकारात्मक कुराहरु के पर्छन ? सकारात्मक कुराहरु के दिन सकिन्छ भन्ने कुराहरुमा पहिले उहाँहरुलाई जनचेतना जगाऔँ, सामूहिक रुपमा छलफल गरौँ । त्यसपछि थोरै ठाउँबाट सुरुवात गरौँ । यसको चेतना अभिवृद्धि हुँदै हुँदै जाँदा सबैतिर फैलिन्छ । हामी हिजो जुन अवस्थामा थियौँ । आज त्यो छैन् । यो परिर्वतन भन्ने कुरा क्रमिक रुपले हुने हो । कुनै कुरामा एकैपटक परिर्वतन नहुने रहेछ । त्यसका लागि पनि बरु पहिले कुन जिल्लाबाट सुरुवात गर्ने हो । कुन ठाउँबाट कुन पालिकाबाट सुरुवात गर्ने हो । पहिले एउटा नमुना ठाउँ बनाउ त्यहाँबाट पनि एउटा अभियानको सुरुवात गरौँ । अन्य जिल्लाहरुका मान्छेहरुलाइ पनि त्यो नमुना ठाउँ लगेर देखाऔँ ।

जस्तो सेनेटरी प्याड निर्माण गर्दा सरकारले पहुँचवाला ठाउँमा मात्र वितरण गर्न सकेको छ । गाउँमा गाउँमा त्यो खालको व्यवस्था गर्न सकेको छैन । एउटा व्यवस्थापकीय हिसाबले पनि सोचौँ । पहिले चेतनाको विकास गरौँ । अनि त्यसलाई एउटा अभियानको रुपमा सुरुवात गरौँ । अनीमात्र छाउगोठहरु उहाँहरु आफै भत्काउन थाल्नुहुन्छ ।

प्रतिक्रिया