महिला र ज्येष्ठ नागरिकले आफै पाउँदैनन् मतदान गर्न

महिला र ज्येष्ठ नागरिकले आफै पाउँदैनन् मतदान गर्न

मतदान गर्नबाट सधै छुट्छन् असहाय, अपाङ्ग र ज्येष्ठ मतदाता

सुर्खेत : आसन्न मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचन हुने मिति नजिकिदै छ । चुनाव नजिकिँदै गर्दा घरदैलोमा दलहरुको तीव्रता दिईरहेका छन् । हरेक निर्वाचनमा नेपालको जनसंख्याको एउटा हिस्सा भने मतदान गर्नबाट बञ्चित हुँदै आएका छन् । निर्वाचनमा अधिकांश महिला, ज्येष्ठ नागरिक, मानसिक रोगी लगायतका नागरिक मतदान गर्नबाट बञ्चित छन् ।

उनीहरुध्ये कसैको मतदाता नामावलीमा नाम समावेश छैन् भने कतिपयको मतदातामा नामावली भएर पनि मतदान गर्नबाट बञ्चित हुनुपरेको छ । कतिपय ज्येष्ठ नागरिक, महिला र अपाङ्गले आफ्नो मतदाता नामावलीमा नाम भएर पनि आफुलाई हाल्न नदिएर आफन्तजन र राजनीतिक दलका प्रतिनिधिले उनीहरुको इच्छा विपरित मतदान गर्नेगरेको उदाहरण छन् ।

कतिपय नागरिकले जन्मेदेखि अहिलेसम्म कुनै पनि चुनावमा मतदान गर्न नपाएका उदाहरण छन् । त्यस मध्यकै एक हुन् । सल्यानकी बिमला थापा । उमेरले ३५ वर्षकि भइन् । उनको मतदाता नामावली छैन । उनी एक मानसिक रोगी हुन्, मानवसेवा आश्रम सुर्खेतमा बस्दै आएकी छन् । उनको मानसिक स्वास्थ्यमा पनि सुधार भईरहेको छ । ‘अहिलेसम्म कुनै पनि निर्वाचनमा मतदान गर्ने अवसर पाएकि छैन,’ उनले भनिन्, ‘विगत दश वर्ष देखि मानसिक रोगी थिएँ, अहिले मानवसेवा आश्रम सुर्खेतमा छु, मेरो मानसिक स्वास्थ्यमा क्रमिक सुधार आइरहेको छ, सरकारले मतदान गर्ने व्यवस्था गरिदिए पहिलो भोट हाल्ने इच्छा    थियो ।’

त्यस्तै दैलेखका मिन बहादुर ६० वर्षको भए । पहिले नेपाली सेनामा कार्यरत उनी जागिर गर्दा गर्दै मानसिक रोगले च्याप्यो । मानिसिक रोगी भएपछि स्थानीय प्रशासनको रोहवरमा मानवसेवा सुर्खेतले उद्धार गरेर सुर्खेत ल्याएपछि उनको मानसिक स्वास्थ्यमा सुधार आउन थालेको छ । निर्वाचनमा २० वर्ष अघि एकपटक मात्र मतदान गर्न पाएको उनी बताउँछन्् । ‘२० वर्ष अघि मतदान गरेको थाह छ, त्यसपछि हालेको छैन,’ उनले भने, ‘मतदान गर्ने अवसर पाए अहिले मतदान गर्ने इच्छा छ ।’ मानव सेवा आश्रम सुर्खेतमा ७४ जनाको बसोबास छ । आश्रममा बस्ने ७४ जनाको नै नामावली नभएको मानवसेवा आश्रम सुर्खेतकी प्रदेश संयोजक सिर्जना गौतम बताउँछिन् ।

वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचन, २०७९ ले वीरेन्द्रनगर स्थित प्रशान्ती वृद्धाश्रममा आश्रय लिइरहेका वृद्ध–वृद्धालाई छोएन । यहाँ आश्रित ज्येष्ठ नागरिकले निर्वाचनमा मतदान गर्न पाएनन् । आश्रममा हाल २६ जना वृद्ध वृद्धाले आश्रय लिइरहेका छन ।

जसमध्ये ११ जना महिला र १५ जना पुरुष छन् । उनीहरू मध्ये केहीले यस अघि नै मतदाता परिचय पत्र समेत बनाएका थिए । वीरेन्द्रनगरबाटै मतदान गर्न पाउने अधिकार भएकाले समेत यस अघि वैशाखमा सम्पन्न स्थानीय निर्वाचनमा मतदान गरेनन ।

हालको समयमा प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनका लागि आश्रममा कुनै उत्साह समेत छैन । अहिले आफैसँग नागरिकता साथमा राखेका तथा यसअघि मतदान नामावलीमा नाम समावेश भएका मतदाताहरू समेत आश्रममा नभएका होइनन । कुल २६ जना मध्य ६ जनासँग नागरिकता नै छैन । सातजनाको मतदाता नामावलीमा समेत समावेश भएका छन । तर पनि मतदान गर्न पाएका छैनन् ।

महिला र ज्येष्ठ नागरिक पनि आफ्नो इच्छा अनुसार मतदान गर्न पाउँदैनन्

चामुण्डावीन्दासैनी नगरपालिका –८ कि खगिसरा दमाईले आफैले भोट हाल्ने अवसर कहिलेही पाइनन् । पहिले हाल्न नजानेर र अहिले बुढेसकाल लागेर चुनावमा भोट खेर जान्छ भनेर अरुले नै हाल्दिन्छन् । चुनावमा आफुलाई मन परेको नेतालाई भोट हाल्न इच्छा त हुन्छ,’उनले भनिन्, ‘चुनावमा भोट हाल्न मन भएता पनि छोरा नातीले भोट बिग्रिन्छ भनेर हाल्न दिदैनन् । आफैले हाल्छन् । हाम्रा टोलभरिमा सबैले यस्तै गछौँ ।’

महाबु गाउँपालिका वडा नम्बर २ बडाखोलाकी जैकला सुनारले पनि आफ्नो भोट आफै हाल्न पाउदिनन् । उनी ७१ वर्षकी भइन् । श्रीमान बितेको २९ वर्ष भयो । एटा चुनावमा उनका श्रीमानले हालेका थिए । त्यसभन्दा करिब ६–७ वटा चुनाव भए तर पनि उनी आफैले भोट हाल्ने मौका कहिलेही पाइनन् । भोट हाल्न मन लाग्छ बिगाछौँ भन्छन् मत पत्र छोराहरुले नै लिन्छन् र भोट पनि छोराहरुले नै हाल्ने गरेको उनी बताउँछिन् ।

महिलाले भोट हाल्न जान्दैनन् बदर हुन सक्छ भन्ने सोचाइले अरुले नै भोट हाल्ने चलन छ । कतिपय महिला तथा वृद्ध पुरुषले आफै पनि भोट हाल्न अघि सर्दैनन् । महिलाहरुले भोट हाल्न सक्दैनन् र बदर हुन्छ भन्ने सोचाइले छोछारी नै भोट हाल्न तम्सििन्छन् । महिलाहरुले आफ्नो भोट आफै हाल्न सक्छु भन्नुपर्ने वा घर सल्लाह गरेर कसलाई हाल्ने भन्ने विषयमा छलफल गरेरमात्र भोट हाल्नुपर्ने अधिकारकर्मी दुर्गा गिरी बताउँछिन् ।

महिलाले जस्तै अधिकांश ज्येष्ठ नागरिकले पनि आफ्नो भोट आफै हाल्न पाएका छैनन् । ज्येष्ठ नागरिकलाई पनि आफै मत हाल्न सक्षम बनाउनुपर्ने ज्येष्ठ नागरिक संघ दुल्लु नगरपालिका संघका अध्यक्ष कृष्ण भण्डारीको भनाई छ । ज्येष्ठ नागरिकहरुको आफ्नो इतिहास परिपक्व हुँदै आएको भए पनि छोराछोरीले आफ्नो इच्छा अनुसार अर्को ठाउँमा प्रयोग गरेको अवस्था छ,’उनले भने,’ ज्येष्ठ नागरिकले स्वतन्त्रतापुर्वक मतदान गर्न पाउने अधिकारको दुरुपयोग भएको छ ।

प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमालले महिला र जेष्ठ नागरिकहरुको भोट अरूले हाल्ने प्रवृति रोक्न यसपटकको चुनावमा कडाई गरिने बताउँछन् । महिला वा जेष्ठ नागरिकहरुको सट्टामा परिवारजन, आफन्त, छिमेकी र दलका कार्यकर्ताले भोट हाल्ने प्रवृति अन्त्य गर्न मतदाता शिक्षालाई प्रभावकारी बनाइने उनको भनाई छ । मतदाता शिक्षा समन्वय समिति संयोजक समेत रहेको हमालले भने ‘हरेक मतदाताले आफनो मताधिकार आफैले प्रयोग गर्ने हो, आफ्नो भोट आफैले हाल्ने हो, मतदाता शिक्षालाई पनि प्रभावकारी बनाउँछौँ ।’ कुनै व्यक्ति असक्त, अपाङ्ग हुनुहुन्छ वा दृष्टिबिहीन हुनुहुन्छ भने उहाँहरुले इच्छ्याएको व्यक्तिले मत हाल्ने पाउने हुन्छ, एउटै व्यक्तिले ५÷६ जनाको भोट हाल्ने पाउने भन्ने हुँदैन् ।

प्रतिक्रिया