नङमा रंगमात्रै लगाएर फर्किनेहरु

नङमा रंगमात्रै लगाएर फर्किनेहरु

– महिलाले पाउँदैनन् आफैले भोट हाल्न ।
-जेष्ठ नागरिक र दृष्टिबिहीनको पनि वारेसमै भोट ।

दैलेखको चामुण्डाविन्द्रासैनी नगरका क्रमशः ७५ वर्षिया रुपा बुढा, धनी बुढा, ७० वर्षिय लछु बुढा र ५० वर्षिय पदमकला बुढा । तस्विर : हिक्मतबहादुर नेपाली

दैलेख : चामुण्डाविन्द्रासैनी नगरपालिका–८ दैलेख निवासी खगिसरा दमाई ६५ वर्ष पुगिन्। सहजै अक्षर चिन्न नसके पनि नाम भने लेख्न सक्छिन्। मतपत्रमा भएको चिन्ह छुट्ट्याउन सक्छिन्। तर, उनले आफ्नै हातले मतपत्रमा स्वस्तिक छाप लगाउन भने अहिलेसम्म पाएकी छैनन्। पहिले उनका पति र अहिले छोराले उनको मत हालिदिने गरेका छन्। ‘राम्ररी सिकाएको भए त म आफंैले नै भोट हाल्न सक्थेँ होला। छोराहरू तपाईंले बिगार्नुहुन्छ, हामी हाल्छौं भन्छन्। मेरो भोट पनि छोराहरूले नै हालिदिन्छन्, विश्वास त गर्नै पर्यो,’ उनले भनिन्।

आफैंले मत हाल्न नपाउने महिलाको संख्या गाउँमा धेरै रहेको उनले बताइन्। ‘कसैका श्रीमान्, कसैका छोराछोरीले भोट हाल्छन्,’ उनले भनिन्। महाबु गाउँपालिका–२ बडाखोलाकी जैकला सुनारले पनि आफ्नै हातले मत हाल्न पाएकी छैनन्। ७१ वर्षीया सुनारका पतिको निधन भएको २९ वर्ष भयो। ‘उहिले श्रीमान् हुँदा उहाँले नै भोट हाल्नुहुन्थ्यो। उहाँ बितेपछि ६–७ वटा चुनाव भए, हरेक चुनावमा छोराहरूले नै भोट हाल्छन्’, उनले भनिन्। विगतमा भोट हाल्दाको पल सम्झदै उनले थपिन्, ‘भोट हाल्ने दिन मलाई लिएर जान्छन्, लाइन लगाउँछन्। जब भोट हाल्ने बेला हुन्छ, तपाईं बिगार्नुहुन्छ भन्दै मतपत्र छोराहरूले नै लिएर जान्छन्। म त नङमा रङ मात्र लगाएर फर्किन्छु।’

आफ्नै हातले मत हाल्ने रहर उनलाई लागेको छ। गाउँका अधिकांश महिलाको मत श्रीमान्, छोराछोरी, आफन्त, छिमेकी, दलका कार्यकर्ताहरूले हालिदिने गरेको उनले बताइन्। ‘तपाईंले हाल्दा बिग्रन्छ भन्छन्, साँच्चै बिग्रने हो कि भन्ने डर पनि लाग्छ। भोट हाल्ने उमेर भएपछिका सबै चुनावमा मेरा त अरूले नै भोट हालिदिएका छन्’, उनले भनिन्।

खगिसरा र जैकला मात्र होइनन्, जिल्लाका अधिकांश महिलाले आफैंले मत हाल्न पाएका छैनन्। महिलाले मत हाल्न जान्दैनन् वा भोट हाले पनि बदर हुन्छ भन्ने सोचले जिल्लाका अधिकांश महिला मताधिकारबाट बञ्चित छन्। यसकारण उनीहरू केवल मतदानस्थल पुगेर नङमा रङ लगाएर फर्किन्छन्। आफ्नो मत आफैं हाल्न नपाएकोमा अधिकांश महिलाको गुनासो छ। तर, उनीहरू आफन्त र छिमेकीको अगाडि बोल्न सक्दैनन्। बढी जसो निरक्षर महिलाको मत अर्कैले हाल्ने प्रवृत्ति छ। साक्षर महिलामा पनि आत्मविश्वासको कमी हुँदा भोट हाल्दा बिग्रने डरले अरूले नै हस्तक्षेप गर्ने गरेको महिला अधिकारकर्मीहरू बताउँछन्।

महिलाले अर्कै ठाउँमा मत हालिदिन्छन् र बिर्गाछन् भनेर महिलाको मत हाल्न पुरुषले नै हस्तक्षेप गर्ने गरेको अधिकारकर्मी दुर्गा गिरी बताउँछिन्। ‘कुन चिन्हमा मत हाल्ने, कसरी हाल्ने भनेर घरसल्लाह गर्नुपर्छ। अनि महिलाले पनि आफ्नो मताधिकारको सदुपयोग गर्न सक्नुपर्छ। म आफंै मत हाल्छु भनेर भन्न सक्नुपर्छ,’ उनले भनिन्। दुइटा प्रतिनिधिसभा र चारवटा प्रदेशसभा निर्वाचन क्षेत्र रहेको दैलेखमा १ लाख ५८ हजार ९ सय ५८ जना मतदाता रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ। तीमध्ये महिला मतदाताको संख्या ७९ हजार ४ सय ३८ छ।

मताधिकारबाट बञ्चित ज्येष्ठ नागरिक 

अधिकांश ज्येष्ठ नागरिकले पनि आफ्नो मत आफैंले हाल्न पाएका छैनन्। अहिलेसम्म आफ्नै हातले मत हाल्न नपाएको दुल्लु नगरपालिकाका कृष्णबहादुर भण्डारी बताउँछन्। ‘ज्येष्ठ नागरिकको मताधिकार छोराछोरीहरूले आफ्नो इच्छाअनुसार दुरुपयोग गरिरहेका छन्, यो यथार्थ हो,’ पूर्वशिक्षकसमेत रहेका भण्डारी भन्छन्। निर्वाचनको बेला सबै घरघरमा मतदाता शिक्षा पुग्न सकेमात्र महिला र ज्येष्ठ नागरिकहरूले आफ्नो मत आफैं हाल्न सक्ने नारायण नगरपालिका–१० भवानीकी पद्मा बस्नेत बताउँछिन्।

‘हरेक व्यक्तिलाई आफैंले मत हाल्ने इच्छा हुन्छ, जुन पार्टी मनपर्छ उसलाई मत हाल्न पाउनुपर्छ’, उनले भनिन्, ‘हरेक निर्वाचनमा मलाई पनि तपाईंको भोट म हालिदिन्छु भनेर भन्छन्। तर, म अरू कसैलाई भोट हाल्न दिन्नँ।’ ज्येष्ठ नागरिकहरूले आफ्नो भोट आफैं हाल्छु भनेर भन्न सक्नुपर्ने उनको भनाइ छ। दैलेखका प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमालले महिला र ज्येष्ठ नागरिकहरूको मत अरूले हाल्ने प्रवृत्ति रोक्न यसपटकको चुनावमा कडाइ गरिने बताए।

दृष्टिविहीनको मत पनि अरूले नै हाल्छन् 

ठाटीकाँध गाउँपालिका–५ तोलीपाटाका सुरेन्द्रबहादुर शाही उमेरले ५१ वर्ष नाघे। पूर्णरूपमा दृष्टिविहीन शाही २०४८ सालदेखि पटक–पटक निर्वाचनमा सहभागी हुँदै आएका छन्। उनले संसदीयदेखि स्थानीय तहको निर्वाचनमा मतदान प्रक्रियामा भाग त लिए। तर, आफ्नै हातले मतदान गर्न भने पाएका छैनन्। ‘अरूले तपाईंले भनेकै पार्टीका उम्मेदवारलाई भोट दिएका छौं भनेर भन्छन्, उनीहरूले भनेको कुरालाई विश्वास गर्नुपर्ने अवस्था छ’, उनले भने।

दैलेखकै ओमप्रकाश शर्मा दृष्टिविहीन छन्। उनले पनि आफूले चुन्न चाहेको र योग्य उम्मेदवारलाई आफ्नै हातले मत दिन पाएका छैनन्। शर्माले दृष्टिविहीन नागरिकका लागि छुट्टै व्यवस्था हुनुपर्ने र आफूले चाहेको योग्य उम्मेदवारलाई आफ्नै हातले मत संकेत गर्न सक्ने वातावरण निर्माण गरिनुपर्ने बताए। ‘हामीले आफैंले छामेर वा अन्य कुनै प्रविधि प्रयोग गरेर आफ्नो मताधिकार प्रयोग गर्ने वातावरण सरकारले निर्माण गर्नुपर्छ’, उनले भने, ‘एउटै घरभित्र पनि फरक राजनीतिक आस्था हुन्छ। हामीले चाहेको योग्य उम्मेदवारका लागि मत संकेत भयो भनेर कसरी विश्वास गर्नु ?’

प्रतिक्रिया