इन्सेक कर्णाली प्रदेशद्वारा मतदान पूर्वको अवस्था अध्ययन

इन्सेक कर्णाली प्रदेशद्वारा मतदान पूर्वको अवस्था अध्ययन

दैलेख : भगवतीमाई गाउँपालिकाका अध्यक्ष गणेशबहादुर थापाले निर्वाचनमा सबै मतदाताले सहजै मतदान गर्ने वातावरणका लागि गाउँपालिका जुटेको बताएका छन् । मतदान पूर्वको अवस्था अध्ययनका लागि बेस्तडा पुगेको अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)को टोलीलाई हिजो उनले सो कुरा जानकारी गराएका हुन् । वडा नंं. ३ को सानतडा पुगियाँ मतदान केन्द्र पुग्ने सडक भर्खरै मर्मतको गरिएको र वडा नं. ६ लक्ष्मी मावि बागडाँडा मतदान केन्द्रमा अन्यन्त्रबाट फर्निचर व्यवस्थापन गरिएको बताए । ७ वटा वडा रहेको भगवतीमाई गाउँपालिकामा ११ हजार तीन सय ९१ मतदाताले मतदान गर्न १२ स्थानमा १५ मतदान केन्द्र छन् ।

भगवतीमाई गाउँपालिकाका उपाध्यक्ष मीना थापाले स्थानीय न्यायिक समितिमा बढीजसो जग्गाको सिमा मिचिएका, कुलो लिन नदिएको, लेनदेनका विवादहरु आउने गरेका र छलफलको माध्यमबाट समाधान गरी पठाउने गरेको बताइन् । फौजदारी मुद्दामा कानूनी प्रक्रिया बताइदिने गरेको उपाध्यक्ष थापाले   बताइन् ।

अध्ययन टोलीको जिज्ञासामा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बखतबहादुर खड्काले निर्वाचन आयोगको परिपत्र अनुसार ७ वटै वडामा एक–एक जना महिला स्वास्थ्य स्वयमसेविकाहरु खटाई सबै ज्येष्ठ नागरिक र महिलाहरु आफ्नो मत आफै हाल्न सक्ने बनाउन स्पष्ट निर्देशनका साथ खटाइएको   बताए ।

जिल्ला स्तरबाट आँखा देख्न नसक्ने अशक्त बाहेक सबैले आफ्नो मत आफै हाल्न सक्ने बनाउन निर्देशन आए अनुसार भगवतीमाई गाउँपालिका कार्यपालिकाको बैठकबाट मतदाता शिक्षामा खटाइएकाहरुलाई १२ हजारका दरले पारिश्रमिक दिने निर्णय गरी परिचालन गरिएको प्रमुख प्रशासकीय अधिकृत खड्काले जानकारी दिए ।

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)का कर्णाली प्रदेश संयोजक नारायण सुवेदीले निर्वाचन राष्ट्रिय अभियान भएकोले सबैको सहयोग आवश्यक रहेको बताए । उनले भगतवीमाई गाउँपालिकाको तत्परताको निम्ति धन्यवाद दिए ।

मतदान पूर्वको अवस्था अध्ययनको क्रममा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)का कर्णाली प्रदेश कार्यालयको टोलीले राउटे समुदायको मतदानप्रतिको चासो विषयमा अहिले राउटे समुदाय बसिरहेको स्थान नारायण नगरपालिका–८ सिमाडामा समेत पुगेको थियो ।

यसैबीच मतदान पूर्वको अवस्था अध्ययनको क्रममा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)का कर्णाली प्रदेश कार्यालयको टोलीले दैलेखका ११ वटा स्थानीय तहमा नियुक्त निर्वाचन पर्यवेक्षकहरुसंग जिल्लामा आचारसहिंता पालनाको अवस्था, हरेक मतदाताले निर्भयपूर्वक मतदान गर्ने वातारण लगायतको अवस्था र पर्यवेक्षकहरुको तटस्थता विषयमा छलफल भएको थियो ।

प्रतिक्रिया