रुकुमपश्चिममा अदुवा किन्न गाउँमै व्यापारी

रुकुमपश्चिममा अदुवा किन्न गाउँमै व्यापारी

रुकुमपश्चिम : रुकुमपश्चिम त्रिवेणी गाउँपालिका पोखरीका शेरबहादुर खड्का यतिबेला बारीमा लगाएको अदुवा खन्नमा व्यस्त छन् । व्यापारी घरमै अदुवा खरिद गर्न आउन थालेपछि उनलाई अदुवा खन्न भ्याइनभ्याइ भएको हो ।

उनको दैनिकी बारीमा अदुवा खन्ने र खनेको अदुवा केलाउनेमा बित्ने गरेको छ । उनले २० क्विन्टल अदुवाको बीउ लगाएका हुन् । अहिलेसम्म उनले ८० क्विन्टल अदुवा निकालेका छन् । उउनले २० क्विन्टल अदुवा लगाएकामा ८० क्विन्टल अदुवा फलेको हो । अदुवाखेती गर्न निकै सजिलो हुने भएकाले मकै छाडेर अदुवाखेतीमा आकर्षित भएको खड्काले बताए ।

“व्यापारीले रु तीन हजारमा एक क्विन्टल अदुवा घरमै पुगेर खरिद गर्ने गर्छन्, बजारको कुनै समस्या छैन”, खड्काले भने । किसानको घरमै व्यापारी पुगेर अदुवा खरिद गरिदिन्छन् । गाउँ–गाउँमा सडक पुगेको छ । व्यापारी ट्र्याक्टर लिएर अदुवा खरिद गर्न गाउँसम्मै पुग्ने गर्छन् । गाउँपालिकामा एउटा किसानले अदुवा बेचेर सिजनमा रु दुईदेखि पाँच लाखसम्म आम्दानी गर्ने गर्दछन् । पोखरीगाउँमा मात्रै ३२ घरपरिवारले व्यावसायिकरूपमा अदुवाखेती गरेका छन् ।

गाउँपालिकाको सिम्रुतु, खारा, झुल्नेटा, बाघखोर र नुवाकोट डाँडामा अदुवा सङ्कलन गरी जिल्ला बाहिर निर्यात हुने गर्दछ । जिल्लाको त्रिवेणी गाउँपालिका र चौरजहारी नगरपालिकाका केही वडामा राम्रो अदुवा उत्पादन हुने गर्छ । अदुवा बेचेरै गाउँमा करोडौँ रकम भित्रिने गरेको छ ।

जिल्लामा उत्पादन हुने अदुवाको मूल्य भने निर्धारण गरिएको छैन । व्यापारीले फरक–फरक मूल्यमा अदुवा खरिद गर्ने गरेका छन् । नुवाकोट, झुल्नेटा, पाखेरी, सिम्रुतुमा अदुवाको मूल्य फरक–फरक छ ।

प्रतिक्रिया