महिनावारी हुँदा स्वास्थ्यमा यसरी दिनुहोस् विशेष ध्यान

महिनावारी हुँदा स्वास्थ्यमा यसरी दिनुहोस् विशेष ध्यान

दैलेख : महिनावारी एक प्राकृतिक प्रक्रिया हो । तर, महिनावारी हुँदा बार्ने अर्थात महिनावारी विभेद (छाउपडी प्रथा) समाजमा जरो गाडेर बसेको छ । महिनावारी बार्ने चलन अर्थात ‘छाउपडी प्रथा’ ले महिलाको जीवनमा प्रत्यक्ष प्रभाव पारिरहेको छ । महिनावारी भएको अवधिमा महिलालाई बहिष्कृत गर्ने, छाउगोठ, गाई भैसीँ बाँध्ने गोठमा राख्ने, विभिन्न किसिमको विभेद, हिंसा र अमानवीय व्यवहार गरेको घटनाहरु थुप्रै छन् ।

यो मानव अधिकारको उल्लंघन हो । संस्कृति र धर्मका नाममा माहिनावारी भएको अवधिमा महिलामाथि हुँदै आएको गलत व्यवहारले उनीहरुको समग्र विकासमा अवरोध पु¥याइरहेको देखिन्छ । ज्वाला सन्देश डटकम अनलाइनमार्फत महिनावारी बार्ने चलन महिनावारी विभेद (छाउपडी प्रथा) व्यवहारिक रुपमै अन्त्य गर्नका लागि सचेतना फैलाउने उदेश्यसहित सानो प्रयास स्वरुप साप्ताहिक स्तम्भ ‘कुरा महिनावारीका’ सुरु गरेका छौ । यस स्तम्भ अन्तरगर्त दशौँ श्रृंखलामा हामीले महिनावारी हुँदा ध्यान दिनुपर्ने सवाललाई समेटेका छौँ ।

–सामान्यतया किशोरी अवस्थामा प्रवेश गरेपछि महिलाहरूमा महिनावारी चक्र सुरु हुन्छ । हरेक महिलामा महिनावारी हुने समयावधि फरक हुन्छ । जस्तै, एउटा महिलाको महिनावारी २८ दिनमा भयो भने अर्को महिलाको २६ दिनमा हुन सक्छ । कसैकसैको ३२ देखि ३४ दिनसम्म पनि हुन सक्छ । २६ दिनदेखि ३५ दिनसम्म हुने महिनावारीलाई नर्मल मान्ने गरिन्छ ।

कुनै महिलाको रक्तश्राव निकै कम हुन्छ भने कसैको दुई–तीन दिनमै रोकिन्छ । कसैलाई अति रक्तस्राव हुन्छ । कोही अति दुखाईले अस्प्ताल पनि पुग्छन् । रक्तश्राव हुँदा एकदम गन्ध आउने, बान्ता हुने, खाना नरुच्ने हुन्छ । यो समयमा रिंगटा लाग्ने पनि हुन सक्छ ।
महिनावारीको क्रममा महिलाले सरसफाइमा विशेष ध्यान दिनु आवश्यक छ । महिनावारी हुँदा प्रयोग गरिने प्याडदेखि सरसफाइका क्रममा ध्यान नदिँदा यसले विभिन्न रोगको जोखिम पनि निम्त्याउन सक्छ । सरसफाइमा ध्यान नदिए कीटाणुहरू पाठेघरमा जान सक्छ । जसले गर्दा इन्फेक्सन हुन सक्छ ।

अर्कोतर्फ महिनावारी भएको अवधिमा महिलालाई बहिष्कृत गर्ने, छाउगोठ, गाई भैसीँ बाँध्ने गोठमा राख्ने, विभिन्न किसिमको विभेद, हिंसा र अमानवीय व्यवहार गर्ने अवस्थालाई अब अन्त्य गरौँ । महिनावारी एक प्राकृतिक र सरसफाईको प्रक्रिया हो । महिनावारीलाई देवीदेउता रिसाउने जस्ता गलत मान्यतासँग नजोडेर स्वास्थ्यमा विशेष ध्यान दिनुपर्छ ।

महिनावारी हुँदा के–के कुरामा ध्यान दिने ?

महिनावारी हुँदा सरसफाइमा विशेष ध्यान जरुरी छ । यद्यपि, अझै पनि कतिपय ग्रामीण भेगमा महिनावारीको समयमा फोहर कपडा प्रयोगमा ल्याइने गरिन्छ । जस्तासुकै कपडा पनि प्रयोगमा ल्याउनुले विभिन्न समस्या निम्त्याउँछ । यस्ता कारणले गुप्तांगमा संक्रमणको समस्या हुन्छ । महिलामा प्याड प्रयोगबारे सचेत हुन आवश्यक छ ।

महिनावारीका वेला प्रयोग भएका कपडा ‘सूर्य भगवान्’ लाई देखाउनु हुँदैन, पाप लाग्छ भन्ने अन्धविश्वास अझै कायम छ । घाममा राम्ररी नसुकाई कपडा पुनः प्रयोग गर्दा शरीरका भित्री अंगमा संक्रमण हुने सम्भावना रहन्छ । त्यसैले, प्याडको सट्टा प्रयोग गरिएका कपडा सफा गरेर घाममा सुकाएर मात्र प्रयोग गर्नुपर्छ ।

महिनावारीको वेला कतिपयमा रगत कम बग्ने हुँदा उनीहरू लामो समयसम्म एउटै स्यानिटरी प्याड प्रयोग गरिरहेका हुन्छन् । यस्तो गरेमा संक्रमणको डर हुन्छ । त्यसैले, दुईदेखि तीन घन्टाभित्रमा प्याड परिवर्तन गर्ने गर्नपर्छ ।

झोलिलो तथा पोषिलो खानेकुरा खाने र प्रशस्त मात्रामा पानी पिउने गर्नुपर्छ । भर्खरै महिनावारी सुरु भएका किशोरीमा आवश्यक पोषणको अभाव हुने गर्छ । त्यसैले यो वेला पर्याप्त मात्रामा पौष्टिक आहार खानुपर्छ । विशेषगरी, अन्डा, माछा–मासु, हरियो सागसब्जी र फलफूल खान आवश्यक छ । रक्तअल्पता हुनबाट बच्न नियमित रूपमा आइरन, फोलिक एसिड, भिटामिन आदि खान सकिन्छ ।

महिनावारीको वेला दैनिक जीवनमा आइपर्ने सामान्य काम गर्दा केही फरक पर्दैन । तर, शरीरलाई भारी पर्ने काम भने गर्नुहँुदैन । सामान्य अवस्थाभन्दा यो वेला शरीरमा कमजोरीपन देखापर्ने भएकाले साविकभन्दा बढी आराम गर्नुपर्ने हुन्छ । धेरै दुखाइ छ भने आराम गर्ने । धेरै दुखाइ/वाकवाकी हुनेलगायतको समस्या देखिएमा चिकित्सकको सल्लाह लिने र औषधि सेवन गर्ने । प्रस्तुती : ज्वाला सन्देश

प्रतिक्रिया