महिनावारी विभेद मानव अधिकारको हनन् हो

महिनावारी विभेद मानव अधिकारको हनन् हो

सुर्खेत : महिनावारी बार्ने चलन अर्थात महिनावारी विभेद समाजमा जरो गाडेर बसेको छ । महिनावारी विभेदले महिलाको जीवनमा प्रत्यक्ष प्रभाव पारिरहेको छ । महिनावारी भएको अवधिमा महिलालाई बहिष्कृत गर्ने, छाउगोठ, गाई भैसीँ बाँध्ने गोठमा राख्ने, विभिन्न किसिमको विभेद, हिंसा र अमानवीय व्यवहार गरेको घटनाहरु थुप्रै छन् ।

यो मानव अधिकारको उल्लंघन हो । संस्कृति र धर्मका नाममा माहिनावारी भएको अवधिमा महिलामाथि हुँदै आएको गलत व्यवहारले उनीहरुको समग्र विकासमा अवरोध पु¥याइरहेको देखिन्छ । महिनावारी विभेद अन्त्यका लागि सरकारी तथा गैरसरकारी निकायहरुबाट थुप्रै प्रयासहरु समेत भएका छन् । सरकारले कर्णाली, सुदुरपश्चिम लगाएतका क्षेत्रमा केहि वर्षअघि छाउगोठ भत्काउने अभियान नै चलाएको थियो । यद्धपी व्यवहारिक रुपमै अन्त्य भने हुन सकेको छैन् । सोच परिवर्तन अर्थात मनको छाउगोठ नभत्काएसम्म छाउगोठ मात्रै भत्काएर महिनावारी विभेद अन्त्य हुने देखिदैन् ।

ज्वाला सन्देश डटकम अनलाइनमार्फत महिनावारी बार्ने चलन अर्थात महिनावारी विभेद व्यवहारिक रुपमै अन्त्य गर्नका लागि सचेतना फैलाउने उदेश्यसहित सानो प्रयास स्वरुप साप्ताहिक स्तम्भ ‘कुरा महिनावारीका’ सुरु गरेका छौ । यस स्तम्भ अन्तरगर्त एघारौँ श्रृंखलामा लेखक/साहित्यकार तथा सामाजिक अभियन्ता राधा पौडेलसँगकुराकानी गरेका छौँ । प्रस्तुत छ, पौडेलसँग ज्वाला सन्देश अनलाइनका सुर्खेत प्रतिनीधि जितेन्द्र थापाले गरेको कुराकानीको अंश :

महिनावारी विभेदलाई कसरी बुझ्नुहुन्छ ?

महिनावारी विभेद एकदमै जटिल छ । बहुआयामिक छ । यो मानव अधिकारको हनन् हो । यौनिक र लैंङ्गिक हिंसा पनि हो । महिनावारी विभेदको स्वरुप फरक छ । नाम फरक छ । नेपालको सन्दर्भमा कुरा गर्दा विभिन्न जात भाषा धर्म सबैमा छ ।

तपाईको पालामा महिनावारी विभेद कस्तो थियो कसरी सम्झिनुहुन्छ ?

मेरो पालाको कुरा गर्दा पश्चिम नेपालको परम्परावादी घरमा भएजस्तै थियो । उदाहरणको लागि मेरो दिदिहरु छिमेकीको धनसारमा ११ देखि २१ दिनसम्म बस्नुपथ्र्यो । जब चौथो पटक भइसकेपछि आफ्नै घरमा बस्नुपथ्र्यो तर सबै कुरा छुटाउनुपथ्र्यो । खाने बस्ने देखि हिड्डुल गर्ने लगायतका ४० भन्दा धेरै कुराहरु बार्नुपथ्र्यो । त्यही भएर म चाहीँ पहिलोपटक महिनावारी हुँदाखेरी दिदिहरुलाईजस्तै मलाई पनि २१ दिनसम्म राख्नुहुन्छ भनेर म महिनावारी भएको थाह पाएर घर छोडेर भागेकी थिएँ । करिब ३६ वर्ष अघि मैले जुन देखेँ त्यो चाहीँ त्यस्तो खालको थियो । भागेर पाँच दिनसम्म दिदिको घरमा बसेँ । चारदिनसम्म महिनावारी बार्ने कुनै अभ्यास गरिन् । दिदिको घरमा अरु कोही पनि हुनुहुन्थेन। दिदि भिनाजुमात्र हुनुहुन्थ्यो । उहाँहरु पढेलेखेको शिक्षित भएकाले पनि उहाँहरुसँग बस्दा सुरक्षित महशुस भयो । त्यसैले पहिलो महिनावारीमा भागेर त्यहाँ गएको हो ।

महिनावारी विभेदको अन्त्यको लागि विभिन्न निकाएबाट थुप्रै प्रयासहरु भएपनि महिनावारी विभेदको अन्त्य किन हुन सकेन ? अन्त्यको लागि के गर्नुपर्ला ?
महिनावारी विभेदलाई न्यूनिकरण गर्नका लागि अपवादमा एक दुईवटा संस्था बाहेक काम नै भएको छैन । अहिलेसम्म गरेको काम के हो भने सरसफाईको काम, गोठ भत्काउने काम, महिनावारी सामग्री प्याड वितरण जस्ता कामहरु भएका छन् । महिनावारी हुँदा एउटा मात्र उदाहरण लेखौ न मलाई भान्सामा छिर्न दिइएन मात्र कुरा हेरौँ न । भान्सामा छिर्न दिइएन भन्ने कुराले मेरो सम्मानपुर्वक जिउन पाउने अधिकार हनन् भयो । खानाको अधिकार हनन् भयो । मैले तिर्खा लागेको थियो मैले पानी पिउन पाइन । पानी पिउन पाउने अधिकार हनन् भयो । जुन छुवाछुत विरुद्धको अधिकार मैले पाइन् भने एउटा सामान्य भनिरहेको एउटा काम गर्न नपाउदा दर्जनभन्दा बढी मानव अधिकार र संवैधानिक अधिकार हनन् भइरहेको हुन्छ । तर, हामीले त्यो दृष्टिकोणबाट अथवा महिनावारी विभेद भनेको मानव अधिकारको हनन् हो भन्ने दृष्टिकोणबाट व्याख्या विश्लेषण आजसम्म कसैले पनि गरेको छैन ।

तपाईले मलाइ प्याड दिनुहुन्छ, बाथरुम पनि छ । टेलिभिजन हेर्न पनि छ तर,सबै जनासँगै बसेर एउटै भान्सामा खाना खान पाइएन भने मैले भनेका धेरै संविधानमा रहेका मौलिक हकहरु हनन् भइरहेका छन् । त्यो दृष्टिकोणबाट कसैले काम नै गरेको छ ? काम नै गरेको छैन । नेपाल सरकारले मर्यादित महिनावारी नीति २०७४ सालमा बनायो । अहिले थन्किएको छ । छाउपडी निर्देशिकालाई मर्यादित महिनावारी निर्देशिका बनायो त्यो पनि थन्किएर बसेको छ । कार्ययोजनालाई नै सम्झौता ऐन २०७६ त्यसमा पनि मर्यादित महिनावारी सेलायो ।

अहिलेसम्म नेपाल सरकार र गैरसरकारी संस्थाहरुले जेसी नीतिमा काम गरिरहेका छन् । कुनै पनि नीतिले महिनावारी विभेद मानव अधिकारको हनन् हो, यसले सहभागिता हुन दिदैन, समावेशी हुन दिदैन भनेर कसैले व्याख्या गरेको छैन् । यसलाई त गाउँगाउँमा गएर जनचेतना जगाउनुपर्ने, छलफल गर्नुपर्ने, नेताहरुले आफ्ना घोषणापत्रमा समावेश गर्नुपर्ने हुन्छ । नेपालमा महिनावारीको क्षेत्रमा काम गर्ने संस्थाहरु ७० भन्दा बढी संस्थाहरु महिनावारीका क्षेत्रमा काम गर्छन । ति संस्थाहरुले मर्यादित महिनावारीको लागि काम गरेको कहीँ देखिएको छ ? छैन । आउने डिसेम्बरमा चौथो अन्तर्राष्टिय मर्यादित महिनावारी दिवस मनाउदै छौँ । त्यसमा ५६ वटा देशका मानिसहरुले मनाउदैछन् । हामी पनि प्रेसमिट गर्दैछौँ ।

यहि क्षेत्रमा काम गर्ने अधिकारकर्मीहरुले मर्यादित महिनावारीको बारेमा सम्झाई बुझाई गर्दा उल्टै त्यहाँका नागरिक उहाँहरुलाई नै देविदेउताको नजिक पर्न र भान्सा कोठामा जान चुनौती दिनुहुन्छ कसरी हुन्छ परिर्वतन ?

हो सही कुरा आयो नी अहिले । यहाँ महिनावारीको क्षेत्रमा, मानवअधिकारको क्षेत्रमा काम गर्ने संघसंस्थाहरुले काम गरेका होइनन् जागिर खुवाएका हुन् । यिनिहरुले आफै नमुना बनाएर देखाएका छन् ? मर्यादित महिनावारी भनेको के हो ? कसरी हुन्छ ? यो कस्तो रगत हो भनेर थाह पाउने क्षमता भएका मानिसहरु त्यहाँ छन ? मैले पश्चिम नेपालमा लामो समयदेखि काम गरेका धामी झाक्रिसँग काम गरेको छु । धामीझाँक्रीहरु रुपान्तरित हुनुहुन्छ । परिर्वतन हुनुहुन्छ । जुम्ला र कालिकोटमा काम गर्दाको पनि अनुभव छ मलाई । हामीले के गरिरहेका छौँ भने अहिले चाहीँ महिनावारीको क्षेत्रमा काम गर्न हामी आफै तयार छैनौँ । विभेद गरिरहन्छ अनि काम गर्ने मान्छे चाहीँ धामीझाँक्रीलाई दोष लगाइदिन्छौ, धर्ममा दोष लगाइदिन्छौँ । यो दोष धामी झाक्रिको होइन । दोष उनीहरुको हो जो परिर्वतनका झुठा आश्वासन दिइरहेको हुन्छ ।

अबका दिनहरुमा मर्यादित महिनावारी बनाउन के गर्नुपर्ला ?

साधारण भाषामा भन्ने हो भने, हामीले कुरा गर्ने, जो जहाँ जसरी हुन्छ राम्रोसँग वार्ता गर्ने । घरमा, विद्यालयमा कुराकानी गर्ने । कुराकानी गर्दा कसरी गर्ने भन्दा सबैभन्दा पहिले सरकारले गर्नुप¥यो । सरकारले प्राथमिकताका साथ क्रसकटिङ इस्युका रुपमा लैजानुपर्छ । जुनसुकै क्षेत्रका काम गर्ने किन नहोस पहिलो र दोस्रो काम गर्ने भनेको राजनीतिक पार्टी मिलेर घोषणा पत्रमा लेखेर आफ्नो विधानमा समावेश गरेर यसका विरुद्धमा उभिनुप¥यो । अनि त्यसपछि सञ्चार माध्ययमले पनि काम गर्नुप¥यो । यसमा धामीझाँक्रीहरुलाई पनि समावेश गर्दै लैजानुपर्छ ।

पहिलेको तुलनामा अहिले महिनावारी विभेदमा कति परिर्वतन देख्नुभयो ?

यसको नम्बर घटेको होला । यसको प्रकार घटेको होला । जनकपुरको एउटा मुस्लिम परिवारले बार्ने महिनावारी विभेदको प्रकार र दैलेखको एउटा बाहुन परिवारले बार्ने नम्बरमा फरक होला तर, त्यसको अन्तरनिहित कारण, त्यसले पार्ने प्रभाव एउटै हो । जनकपुरको मात्र महिला चाहीँ जुन एउटा सामाजिक हैसियतमा बाच्न सकेकी छैनन् । उनलाई जुनखालको विभेद र हिंसाहरु भएको छ । त्यो चिज एउटा बारे पनि त्यही हो । पाँचवटा बारे पनि त्यही हो नि त । अहिले मुस्लिमहरुले के भन्छन् भने पहाडीको मात्र हो हिन्दुहरुको मात्र हो भन्छन् । हामीले अनुसन्धान गर्दा खेरी त उनीहरुले पनि बार्छन ।

 

प्रतिक्रिया