ठाटीकाँधमा बाल संवेदनशिल अभिभावकत्व कार्यक्रम सञ्चालन

ठाटीकाँधमा बाल संवेदनशिल अभिभावकत्व कार्यक्रम सञ्चालन

सहकर्तालाई प्रमाणपत्र प्रदान गर्दै ठाटीकाँध गाउँपालिकाका अध्यक्ष रक्षबहादुर शाह ।

दैलेख : जिल्लाको ठाटीकाँध गाउँपालिकामा बालसंवेदनशिल अभिभावकत्व कार्यक्रम सञ्चालन हुने भएको छ । गाउँपालिकाका ६ वटै वडामा कक्षा सञ्चालन हुन लागेको हो । कक्षामा दुई वर्षमूनिका बालबालिकाको अभिभावक, संरक्षक र हेरचाहकर्ता समेटिनेछन् । सेभ द चिल्ड्रेन र एभरेष्ट क्लब दैलेखको साझेदारीमा सञ्चालित पहुँच परियोजनाले सञ्चालन गर्न लागेको कार्यक्रम सहजिकरण गर्न सहजकर्ताहरु तयार गरिएको छ । १२ जना सहजकर्ताहरुलाई तीन चरणको तालिम प्रदान गरिएको छ ।

सहजकर्ताहरुका लागि तेस्रो चरणको तालिम सोमवार सकिएकोे छ । ठाटीकाँध गाउँपालिकाका अध्यक्ष रक्षबहादुर शाह, संस्थाका बरिष्ठ उपाध्यक्ष बालकृष्ण केसी, महासचिव यज्ञराज थापा लगाएतको उपस्थितीमा तालिम समापन भएको छ । सेभ द चिल्ड्रेनका कौशिला चन्द र गोपाल नेपालीले सहजकर्ताहरुलाई तालिम प्रदान गरेका थिए । सहजकर्ताहरुले यसअघि दुई चरणको तालिम प्राप्त गरिसकेको पहुँच परियोजनाका संयोजक तेजेन्द्र चन्दले बताए ।

‘सहजकर्ताहरुले पहिलो चरणको तालिम पाए पश्चात आ–आफ्नो घरका बालबालिकासँग व्यवहारिक रुपमा अभ्यास गर्नुभयो, त्यसको सिकाई दोस्रो चरणको तालिममा प्रस्तुत गर्नुभयो, दोस्रो चरणको तालिम पछि समुदायमा केहि सेसनहरु सञ्चालन भए,’ उनले भने । दुई चरणको तालिमको समिक्षा र थप अभिमुखिकरण गर्न तेस्रो चरणको तालिम दिईएको चन्दले बताए । सहजकर्ताहरुले मुल्यांकन पद्धतिद्धारा कक्षा सञ्चालनका लागि योग्य हुनेलाई प्रमाणपत्र प्रदा नगरिएकोे चन्दको भनाई छ ।

कक्षा गाउँपालिकाका सबै वडामा आवश्यकताको आधारमा प्रत्येक महिनाको दुई पटक सञ्चालन हुनेछ । अन्तराष्ट्रिय बाल विकास कार्यक्रमका (इन्टरनेशनल चिल्ड्रेन डेभलभ्मेन्ट प्रोग्राम–आइसीडिपी) ८ वटा सिद्धान्तमा आधारित रहेर कक्षा सञ्चालन हुने बताईएको छ । कक्षामा बालबालिकाहरुसँग दोहोरो संवाद, अभिभावकले बच्चालाई दिएको समयलाई थप प्रभावकारी कसरी बनाउने, बच्चाको मनोभावना कसरी बुझ्ने, बच्चालाई सहानुभुतिसंगै सहानुभूतिको व्यवहार प्रकट गर्ने, सामाजिक संजालमा बच्चालाई के देखाउने के नदेखाउने जस्ता विषयमा छलफल हुने परियोजना संयोजक चन्दले बताए ।
आगामी जनवरी २०२३ बाट नारायण नगरपालिकामा पनि यस कार्यक्रमको सुरुवात हुनेछ । नेपाल सरकारको बाल संवेदनशिल सामाजिक सुरक्षा अनुदान कार्यक्रमलाई प्रभावकारी बनाउन सहयोग पु¥याउने परियोजनाको प्रमुख उद्देश्य रहेको बताईएको छ ।

प्रतिक्रिया