महामन्त्री शर्मा भन्छन् : गगन थापालाई प्रधानमन्त्री बनाउने अभियान सुरु गर्छु

महामन्त्री शर्मा भन्छन् : गगन थापालाई प्रधानमन्त्री बनाउने अभियान सुरु गर्छु

काठमाण्डौ :  नेपाली कांग्रेसका महामन्त्री तथा झापा क्षेत्र नं. १ बाट नवनिर्वाचित प्रतिनिधि सभा सदस्य विश्वप्रकाश शर्माले अर्का महामन्त्री गगनकुमार थापालाई प्रधानमन्त्री बनाउने अभियान सुरु गर्ने बताएका छन् ।

आज मङ्गलवार काठमाण्डौमा महामन्त्री थापाको घरमा बधाई ज्ञापन गर्न पुगेका महामन्त्री शर्माले गगन थापालाई प्रधानमन्त्री बनाउने अभियान सुरु गर्ने बताएका हुन् । झापा क्षेत्र नं. १ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएपछि काठमाण्डौ आएका शर्मा विमानस्थलबाट सिधै थापा निवास रातोपुल पुगेर बधाई तथा प्रधानमन्त्री बन्ने शुभकामना व्यक्त गरृका थिए । उहाँले आफू थापालाई सांसद भएकोमा बधाई दिनका लागि मात्रै नआएको भन्दै प्रधानमन्त्री बनाउने अभियान सुरु गर्नका लागि आएको बताए ।

महामन्त्री शर्माले महामन्त्री थापा पटक—पटक सांसद भइसकेको र मन्त्री भएर अनुभव पनि हासिल गरिसकेको भन्दै अब देशको आवश्यकतालाई बुझेर प्रधानमन्त्री पदका लागि नेतृत्व गर्ने गरी अगाडि बढ्नुपर्ने बताए । उउनले भने, ‘हामीले यो बेलामा त्यो आवाजलाई प्रतिनिधित्व गर्नुपर्छ जुन आवाज देशले बोलिरहेको छ । एउटा लोकतान्त्रिक दलले सदैव प्रतिनिधित्व जनताको जनभावनाको गर्नुपर्छ । त्यस कारण अहिले म महामन्त्री गगन थापालाई काठमाण्डौ ४ बाट निर्वाचित हुनुभयो, तपाईं सांसद बन्नुभयो भनेर बधाई दिन आएको होइन । सांसद पहिल्यै भइसक्नुभएको हो । मन्त्री भएर अनुभव पनि हाँसिल गरिसक्नुभएको हो । अब प्रधानमन्त्री पदका लागि नेतृत्व गर्ने ढङ्गले अगाडि बढ्नुस् भन्नका लागि म आएको हो । यसलाई अभियानकै रूपमा सुरु गर्न पनि म आएको हो ।’

महामन्त्री शर्माले गगन थापालाई संसदीय दलको नेता बनाउन पार्टीभित्रका शीर्ष नेता र सांसदसँग छलफल अगाडि बढाउने पनि बताए । उनले गगन थापालाई संसदीय दलको नेताका लागि पार्टी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेललगायतको समर्थन जुटाउनु आफ्नो जिम्मेवारी र कर्तव्य भएको पनि बताए । शीर्ष नेतालाई थापाको प्रस्तावक बनाउन नसकेमा आफैँ प्रस्तावक बनेर भए पनि अगाडि बढाउने उनको भनाइ छ । महामन्त्री थापाले पनि शर्मालाई बधाई तथा शुभकामना थिए ।

प्रतिक्रिया