झस्काइरहन्छ पहिरोले

झस्काइरहन्छ पहिरोले

तुर्माखाँद गाउँपालिका–५ नाडास्थित काँडाचौर गाउँका पहिरो पीडितहरु । तस्विर : हिक्मतबहादुर नेपाली ।

अछाम (तुर्माखाँद नाडागाउँ) : गाउँ सुनसान छ । स्थानीयका आँखा अहिलेपनि ओभानो छैनन् । आफन्त गुमाउँदाको पीडा स्थानीयको आँखामा प्रष्टै देखिन्थे । स्थानीयहरु घरि पहिरोले पुरेको घरहरु हेर्छन्, घरि पहिरो खासेको आफन्तहरु सम्झन्छिन् । पुस्तौंदेखि बसिरहेको ठाउँमा यसपालि पहिरो गयो । गाउँ नै शोकमा डुब्यो । उनिहरुलाई पहिरोपछिको बज्रपातले झस्काईरहन्छ ।

अछामको तुर्माखाँद गाउँपालिका–५ नाडास्थित काँडाचौर गाउँका गत भदौ ३१ गते पहिरो जाँदा नौ जनाले ज्यान गुमाएका थिए । स्थानीय मनसरादेवि शाही त्यो दिनलाई यसरी सम्झिन्छिन् । ‘रातको समयमा एक्कासी पहिरो खसेछ, ब्यूँझिएर हेर्दा केहि घरहरु पहिरोले पुरिसकेको थियो, अध्याँरो थियो, बाहिर हेर्नसक्ने अवस्था नै थिएन्, त्यसरी पहिरो आउँला भनेर सोचेकै थिएनौँ ।’ उनको घर भने जोगिएको रहेछ ।

स्थानीय दिलबहादुर शाहीले पहिरोले दिएको पीडा अझैँ भुल्न सकेका छैनन् । त्योदिनको घटनापछि उनलाई रातमा राम्ररी निन्द्रा पर्दैन् । ‘मेरो त सास उसै दिन बसेको हो, रातमा निन्द्रा पर्दैन्, काखमा खेल्ने नातिनतिनाहरु सम्झिँदा आँसु रोकिदैन्,’ शाही भन्छन् । छोराबुहारी र नातीलाई पहिरोले लगेपछि दिलबहादुरकाका आँखा अहिले पनि ओभाना छैनन् । पहिरोले खुसी खोसेको उनि बताउँछन् । शाही भन्छन् ‘मेरा छोराबुहारी र दुई नातीलाई पहिरोले लग्यो, मेरा भाईका दुई बुहारी, एक छोरो र दुई नातिनिको पहिरोमा पुरिएर ज्यान गयो ।’ उनका अनुसार पहिरोबाट जोगिएकाहरु आफन्तको शरणमा छन् ।
स्थानीय झरनादेवी शाहिले गाउँका महिलाहरुको होस नै उडिसकेको बताउँछिन् । ‘त्यो घटना सम्झिदाँ पनि शरिर काप्न थाल्छ,’ उनि भन्छिन् ‘परिवारका सदस्य र आफन्त गुमाएको पीडाले झस्काईरहन्छ ।’ उनले खेतीपाती गर्ने जग्गाजमिन समेत पहिरोले बगाएको बताइन् । ‘बारीमा उत्पादन भएको खाद्यान्नले वर्षदिन पुग्थ्यो, किनेर खान पर्दैनथ्यो, अहिले त हातमुख जोड्नपनि गाह्रो परिरहेको छ ।’ पहिरोको त्रास कम नभएको उनको भनाई छ ।

पहिरो खसेको ठाउँ देखाउँदै दिलबहादुर। 

पहिरोपछि भूकम्पको धक्काले उठिबास नै लाग्ने हो की भन्ने चिन्तामा स्थानीय छन् । ‘पहिरोले दिएको पीडा त अझै उस्तै छ, त्यसपछिका भूकम्पको धक्काले धेरै घरहरु चर्किएका छन्,’ तत्काल त केहि नहोला् आउँदो वर्षातमा पहिरोले उठिबास लगाउने डरले अत्तालिएका छौँ, स्थानीय लक्ष्मीकुमारी शाहीले भनिन् ।
पहिरोको पीडाले झस्काईरहने यो गाउँका स्थानीयहरु सुरक्षित बासको पखाईमा छन् । स्थानीय विष्णबहादुर शाहीले पहिरोपछि गाउँमा बिकराल अवस्था सृजना भएको बताउँछन् । ‘तीनै तहका सरकार र संघ संस्थाहरुले राहत दिनुभएको छ,’ उनि भन्छन् । अब सुरक्षित स्थानमा बस्ती सारिदिनुपर्ने उनिहरुको माग छ । शाहीका अनुसार यहाँका एक सय १५ घरपरिवार पहिरोको जोखिममा छन् । त्यसमध्ये २५ वटा घरहरु पहिरोको उच्च जोखिममा रहेको शाहीले बताए । ‘नेताहरुले हामीलाई खाने गास र बस्ने सुरक्षित बासको व्यवस्था गर्ने आश्वासन त दिनुभएको छ, तर कहिले पुरा हुने हो टुंगो छैन्,’ शाही भन्छन् ।

गाउँपालिकाका अध्यक्ष डम्बर बहादुर बिसीले पहिरोमा परि ज्यान गुमाएका र घर पुर्णरुपमा क्षती भएका परिवारलाई वैकल्पिक व्यवस्थापन गर्ने योजना लिएको बताए । ‘हामीले आवश्यक कागजातहरु गृहमन्त्रालयमा पेश गरिसकेको छौँ, केहिदिनभित्र उनिहरुको पुर्नबासका लागि स्वीकृत भएर आएपछि हामी आवश्यक काम अघि बढाउँछौँ,’ उनले भने । गाउँपालिकाभरमा पहिरो प्रभावितहरुलाई घर पुर्ननिर्माणसँगै जीविकोपार्जनमा सहयोग पुग्ने गरि व्यवस्थापन गर्ने अध्यक्ष बिसीको भनाई छ ।

पहिरो पीडितलाई जनहि १४ हजार

अछामको तुर्माखाँद गाउँपालिका–५ नाडास्थित काँडाचौर गाउँका पहिरो पीडितले जनहि १४ हजार रुपैयाँ सहयोग प्राप्त गरेका छन् । गाउँपालिकाका अध्यक्ष डम्बर बहादुर बिसीका अनुसार काँडाचौर गाउँसहित गाउँपालिकाभरका ७५ जना पहिरो प्रभावितहरुलाई जनहि १४ हजार रुपैयाँका दरले सहयोग गरिएको हो । ‘बाढी पहिरोका कारण काँडाचौर गाउँका तीन घरपरिवारका नौ जनाले ज्यान गुमाउनुभयो,’ अध्यक्ष बिसीले भने ‘गाउँपालिकाभर अन्य मानविय क्षती नभएपनि भौतिक क्षतीहरु धेरै भएका छन् ।’

यसअघि गाउँपालिकाले मृतक परिवारलाई जनहि ५० हजार र किरिया खर्चस्वरुप २५ हजार रुपैयाँ उपलब्ध गराएको अध्यक्ष बिसीले बताए । अहिले विभिन्न प्रक्रिया सकेर गाउँपालिकाको समन्वय र डिसिए नेपालको सहयोगमा सोसेक नेपालले जनहि १४ हजार रुपैयाँ रकम वितरण गरेको अध्यक्ष बिसीले बताए । पहिरो प्रभावितहरुलाई थोरै भएपनि जीविकोपार्जनमा सहयोग पुगोस् भन्ने उदेश्यले राहतस्वरुप रकम सहयोग गरिएको संस्थाका उपाध्यक्ष कवि रिजालले बताए । पहिरो प्रभावित काँडाचौर गाउँकी स्थानीय मनसरादेवि शाहीले राहत सहयोगले पहिरोले दिएको पीडामा मल्हम लागेको बताइन् ।

अछामको नाडागाउँबाट फर्केर..।

प्रतिक्रिया