पत्रकार महासंघद्वारा सुर्खेत घोषणा जारी

पत्रकार महासंघद्वारा सुर्खेत घोषणा जारी

सुर्खेत : नेपाल पत्रकार महासंघले संघीय संसदबाट सञ्चार कानूनहरु निर्माण हुन नसकेको जनाएको छ । सुर्खेतमा आयोजित केन्द्रीय साधारणसभाले १५ बुँदे सुर्खेत घोषणापत्र जारी विभिन्न सञ्चार कानूनहरु निर्माण हुन नसक्ने दुःखद् भएको जनाएको हो । ‘मिडिया काउन्सिल, सूचना प्रविधि, सार्वजनिक सेवा प्रसारणसहितका सञ्चार कानूनहरू संघीय संसदबाट निर्माण हुन नसक्नु दुःखद् विषय हो,’ घोषणापत्रमा भनिएको छ ।

प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता प्रतिकूल विद्यमान कानूनमा सुधारसमेत नभएको महासंघको ठहर छ । संविधान अनुसार सञ्चार कानूनहरू तत्काल निर्माण गर्न र पुराना कानूनहरूमा सुधार ल्याउन महासंघले माग गरेको छ । प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामैत्री कानून निर्माण गर्न तीनै तहका सरकारसँग महासंघले आग्रह समेत गरेको छ । घोषणापत्र मार्फत महासंघले नागरिक अधिकार, प्रेस स्वतन्त्रता र सूचनाको हक सुनिश्चित गर्न र डिजिटल माध्ययममार्फत प्रेस स्वतन्त्रता हनन्का घटनामा संलग्नमाथी कानूनी कारबाहीको माग गरेको छ ।

श्रमजीवी पत्रकारहरूले श्रमजीवी पत्रकार ऐन तथा नियमावलीमा तोकिएका सेवा सुविधाहरू अझैसम्म प्राप्त गर्न नसकेको महासंघको ठहर छ । सरकारले प्रदान गर्दै आएको लोककल्याणकारी विज्ञापन बृद्धि गर्न सरकारसँग माग गर्दै समानुपातिक विज्ञापन प्रणाली तत्काल लागू गर्नुपर्ने महासंघको घोषणापत्रमा उल्लेख छ । श्रमजीजी पत्रकारको निःशुल्क उपचार, दुर्घटना र स्वास्थ्य बिमाका लागि विगतमा नेपाल सरकारले गरेका निर्णयहरूको प्रभावकारी कार्यान्वयन जोडदिन महासंघले आग्रह गरेको छ ।

सञ्चार प्रतिष्ठानहरूका विषयवस्तु र संरचनालाई लैङ्गिक, समावेशी र अपाङ्गतामैत्री एवं कार्यस्थललाई सुरक्षित बनाउन महासंघले आह्वान गरेको छ । यस्तै सूचना विभागले जारी गर्ने पत्रकार परिचयपत्र सहज रुपमा उपलब्ध गराउन महासंघले अपिल गरेको छ । सञ्चारमाध्यमको दर्ता, नवीकरण, नियमन तथा सेवा सुविधाका लागि प्रेस काउन्सिल नेपाल, सूचना तथा प्रसारण विभाग, विज्ञापन बोर्डलगायत विभिन्न सरकारी निकायमा अनावश्यक र झन्झटिलो प्रक्रिया पूरा गर्नु पर्ने अव्यवहारिक व्यवस्था तत्काल खारेज गर्न महासंघले माग गरेको छ ।

महासंघले सांस्कृतिक र पर्यटकीय रुपमा समृद्ध कर्णाली प्रदेशको पर्यटन, भाषा, कला र साहित्यको प्रचार एवं सम्वद्र्धनसँगै कर्णालीका सबै पर्यटकीय क्षेत्रको प्रचारप्रसार, सम्वद्र्धन, संरक्षण र आवश्यक पूर्वाधार विकासतर्फ ध्यान दिन महासंघले आग्रह गरेको छ । प्रदेश राजधानी वीरेन्द्रनगरमा पुस ८–९ गते सम्पन्न साधारणसभाले महासचिव, कोषाध्यक्ष र लेखा समिति संयोजकको प्रतिवेदन पारित गरेको महासंघका महासचिव रोसन पुरीले बताए ।

हेर्नुहोस् घोषणा :

No photo description available.

No photo description available.

No photo description available.

प्रतिक्रिया