कर्णालीमा ज्येष्ठ सदस्यको रुपमा शाहले लिए प्रदेश प्रमुखबाट शपथ

कर्णालीमा ज्येष्ठ सदस्यको रुपमा शाहले लिए प्रदेश प्रमुखबाट शपथ

प्रदेश प्रमुख तिलक परियारबाट शपथ लिँदै ज्येष्ठ सदस्य विनोदकुमार शाह ।

सुर्खेत : कर्णाली प्रदेश सभाका ज्येष्ठ सदस्य विनोद कुमार शाहले पद तथा गोपनीयताको शपथ लिएका छन् । सोमबार विहान ११ बजे प्रदेश प्रमुख तिलक परियारले शाहलाई शपथ खुवाएका हुन् । दैलेखको ठाँटीकाँध गाउँपालिका–१ कोसेडीका ६६ वर्षिय शाह प्रतिनिधि सभा निर्वाचन क्षेत्र दैलेख–२, प्रदेश सभा निर्वाचन क्षेत्र २ बाट निर्वाचित भएका थिए । निर्वाचन आयोगका अनुसार उनको जन्ममिति वि.स. २०१३ बैशाख ४ गते हो ।

सोमवार विहान शपथ लिएका शाहले कर्णाली प्रदेश सभाका नवनिर्वाचित अन्य ३९ जना प्रदेश सभा सदस्यहरुलाई शपथग्रहण गराउने भएका छन् । नवनिर्वाचित सांसदहरुको शपथ खुवाउने कार्यक्रम आजै दिउँस ३ बजेका लागि तय गरिएको छ । ज्येष्ठ सदस्य शाहले प्रदेश सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७५ बमोजिम सांसदहरुलाई शपथ खुवाउने छन् ।

प्रदेश सभा सचिवालयका अनुसार अन्य ३९ जना प्रदेश सभा सदस्यहरुको शपथ सोमबार दिउँसो ३ बजे हुनेछ । प्रदेश सभा सचिवालयका प्रमुख सचिव जीवराज बुढाथोकीका अनुसार शपथका लागि सांसदहरुले निर्वाचन आयोगबाट प्राप्त प्रदेश सभा सदस्यको प्रमाण–पत्र (सक्कल र सोको प्रतिलिपि), नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि एवं हालसालै खिचिएको पासपोर्ट साइजको फोटो दुई प्रतिसहित १ बजे नै प्रदेश सभाको कार्यालयमा उपस्थित हुनुपर्नेछ ।

साथै शपथ ग्रहण कार्यक्रमका लागि सांसदहरुलाई राष्ट्रिय पोशाक वा आ–आफ्नो सांस्कृतिक पहिचान झल्कने पोशाकमा उपस्थित हुन् प्रदेश सभा सचिवालयले अनुरोध गरेको छ । कर्णाली प्रदेश सभा ४० सदस्यीय छ ।

प्रतिक्रिया