कर्णालीमा बालविकास रणनीति तयार

कर्णालीमा बालविकास रणनीति तयार

दैलेख : कर्णालीमा प्रारम्भिक बालविकास रणनीति तयार गरिएको छ । प्रदेशको सामाजिक विकास मन्त्रालयले रणनीति तयार गरेको हो । बालविकास रणनीति २०७९–०८३ मन्त्रालयको मन्त्रीस्तरिय निर्णयबाट स्वीकृत भएको थियो । रणनीतिमा ‘समृद्ध कर्णाली, खुसी कर्णालीबासी’ को दीर्घकालिन सोँच हासिल गर्न बालबालिकामा लगानी गर्नुपर्ने आवश्यकता औल्याईको छ ।

कर्णालीको समग्र शिक्षाको अवस्था, सुधारको प्रयास र आगामी योजनाको सवालमा छलफल गर्न वीरेन्द्रनगरमा आयोजित शैक्षिक बहसमा बालविकास रणनीति औपचारिक रुपमा सार्वजनिक गरिएको छ । सामाजिक विकास मन्त्रालयको समन्वय, सेभ द चिल्ड्रेनको सहकार्यमा शिक्षा पत्रकार समुहले आयोजना गरेको बहसमा मन्त्रालयका सचिव सन्तबहादुर सुनार र समूहका अध्यक्ष कृष्ण मल्लले पुस्तक सार्वजनिक गरेका हुन् ।

सार्वजनिक रणनीतिले २०८३ सम्म गर्भावस्थादेखि आठवर्षसम्मका बालबालिकाको शारीरिक, सामाजिक, बौद्धिक, संवेगात्मक, भाषिक, आध्यात्मिक विकास एवं प्रारम्भिक सिकाईको अवसर सृजना सुनिश्चित गर्ने लक्ष लिएको मन्त्रालयका सचिव सन्तबहादुर सुनारले बताए । उनका अनुसार बालबालिकाको उमेर र अवस्था अनुसार गुणस्तरिय एकिकृत सेवाको पहुँच सुनिश्चिता गर्ने, प्रारम्भिक बाल विकासमा कानूनी, संस्थागत तथा संरचनागत संयन्त्र स्थापित गर्ने उदेश्य रणनीतिले तय गरेको छ ।

यस्तै प्रारम्भिक बाल विकासमा दक्ष मानवस्रोत र पर्याप्त आर्थिक लगानीको सुनिश्चिता गर्ने, अभिभावक, संरक्षक तथा समुदायको सक्रिय संलग्नताको सुनिश्चिता गर्ने रणनीतिको उदेश्य छ । रणनीतिले विशेष संरक्षण आवश्यक भएका बालबालिकाको उमेर, अवस्था अनुसार वैकल्पिक प्रारम्भिक बालविकासको सुनिश्चिता गर्ने उदेश्य लिएको छ ।

कर्णालीको भौगोलिक विकटता र जटिलता, आर्थिक विपन्नता, नीति तथा कानून एकिकृत रुपमा नहुनु, समयसापेक्ष प्रारम्भिक बालविकासको सचेतनामा कमी, आधारभुत कार्यक्रम र सेवामा अपर्याप्त पहुँच नहुँदा प्रारम्भिक बालविकासका लागि चुनौती देखिएका छन् । यस्तै गुणस्तरिय एकिकृत सेवाको कमी, सञ्चार, लोपोन्मुख, अल्पसंख्यक, आदीबासी, अपाङ्गता, एचआईभी संक्रमितको सहभागितामा कमी, बालमैत्री पूर्वाधारको कमी हुनुले कर्णालीमा प्रारम्भिक बालविकासका लागि चुनौती थपिएको रणनीतिमा उल्लेख छ ।

प्रतिक्रिया