झुपडीमै जल्छन् राउटे

झुपडीमै जल्छन् राउटे

घाइते भएका छोरालाई अस्पतालमा हेरचाहा गर्न पुगेकी नारायण शाहीका आमा दुनी शाही । आगोले जलेर घाइते भएका उनको हाल कर्णाली प्रदेश अस्पतालमा उपचार भईरहेको छ ।

दैलेख : तीन वर्षअघि २०७६ मा राउटे समुदायको कान्छाराम शाही आगलागीको सिकार बन्न पुगे । सुतेकै बेला उनको हात र खुट्टा पोलियो । लामो समयपछि उनको पोलिएको घाउ निको त भयो तर, पोलिएको घाउले उनलाई ठूलो सास्ती दियो । त्यसअघि २०७२ मा सुतेकै बेला जलेर गम्भिर घाइते भएका कपिल शाहीको ०७७ असार ३१ गते ज्यान गुमाए । शरिर जलेर गम्भिर घाइते भएका कपिलको काठमाडौंसम्म लगेर उपचार गरिएको थियो ।

अछाममा बसोबास गरिरहेका बेला उनि जलेका थिए । चिसोबाट बच्नको लागि राती सुत्ने ठाउँ नजिकै आगो बालेर सुतेका युवकले ओढेको बल्यांकेटमा आगो लागेर उनको शरिर जलेको थियो । पुसको पहिलो साता आगो लागेर उनी घाइते भएका थिए । कर्णालीका विभिन्न जिल्लामा फिरन्ते जीवन बिताउँदै आएको लोपोन्मुख जाती राउटे समुदायका नागरिक चिसोबाट बच्न आगो बालेर सुत्दा आगोको सिकार बनिरहेका छन् । वनको हरियो स्याउला, घोचाहरू र पालद्वारा निर्माण गरिएको छाप्रोमा चिसो हुनेभएकाले उनिहरु आगो बालेर सुत्ने गरेको पाईन्छ ।

मंगलवारमात्रै समुदायका ४० वर्षिय नारायण शाही जलेर गम्भिर घाइते भएका छन् । मंगलवार राती सुतिरहेको बेला अगेनोमा बालेको आगो बल्यांकेटमा सल्किएर उनको शरिर जलेको छ । राउटे बस्तीमा राउटे परियोजनामार्फत खटिएका शिक्षक लालबहादुर खत्रीका अनुसार अगेनो नजिक सुतेका शाही आगोले जलेर गम्भिर घाइते भएका छन् । मंगलबार राति सुतेकै बेला ओढेको बल्यांकेटमा आगो सल्किएको हो । राति दाउरा बालेरै सुतेको र त्यही आगो बल्यांकेटमा सल्किएको शिक्षक अत्रीले बताए । नारायण शाही, उनका पत्नि र आमाबुबा एउटै झुपडीमा सुतेका थिए । तर, अन्य तीनजना सकुशल छन् ।

आगोले जलेर गम्भिर घाइते भएका राउटे युवा शाहीको शरिरको ३० प्रतिशत भाग जलेको दैलेख अस्पतालका डा. प्रयास विक्रम सिजापतीले बताए । दैलेख अस्पतालमा उनको प्राथमिक उपचार सकेर कर्णाली प्रदेश अस्पताल सुर्खेत रिफर गरिएको डा. सिजापतीले बताए । ‘हामीले दैलेख अस्पतालमा प्राथमिक उपचार गरेर थप उपचारका लागि सुर्खेत रिफर गरेका छौँ, उनले भने ‘आगोले पोलिएको घाउमा थप संक्रमण हुन सक्छ, त्यसकारण हामीले प्रदेश अस्पतालमा रिफर गरेका हौँ ।’ उनको थप उपचार अब प्रदेश अस्पतालमा हुनेछ ।

राउटे समुदाय आफुहरुलाई जंगलको राजा दाबी गर्छन् । खस आर्य समुदायको पिछडिएका लोपोन्मुख आदिवासी उनिहरु खस भाषा बोल्ने उनिहरु नेपाली भाषा बोल्न र बुझ्न सक्दछन् । बादरको सिकार गर्ने र कन्दमुल, फलफूल र अन्य वनस्पति खाएर बाच्ने राउटे केहि बर्ष अघिसम्म पैसा छुँदा पाप लाग्छ भन्ने मान्यता राख्थे । पहिला राउटेहरूले आफूले बनाएका काठका सामग्री अन्नसँग साटेर जीविकोपार्जन गर्दै आएका थिए । तर धेरैले अहिले त्यसो गर्न छाडेका छन् । राउटे जातीमा सोवंशी, कल्याल र रास्कोटी गरी तीनवटा ठकुरी थर छन् ।

स्थायी रुपमा एकै ठाउँमा नबस्ने र बस्ती सरिरहने राउटेको अर्को विशेषता नै हो । धार्मीक, सांस्कृतिक र मौषम अनुसार राउटे एक ठाउँबाट अर्कोठाउँमा बसाई सरिरहन्छन् । फिरन्ते जाति राउटे समुदायहरुको उत्थानका लागि सरकारले हदैसम्म प्रयास पनि गरिरहेको छ । उनिहरुलाई एकै ठाउँमा बस्न सरकारले आग्रह गरिरहेपनि उनिहरु एकै ठाउँ बस्न अस्विकार गर्दै आएका छन् । वनको हरियो स्याउला, घोचाहरू र पालद्वारा गोलाकार र अण्डाकार छाप्रोमा जीवनयापन गर्ने उनिहरुको इतिहास छ ।

जंगलको बीचमा निर्माण गरिएको छाप्रोमा बस्नुपर्दा पुषमाघमा अधिक चिसो हुने गरेको समुदायका युवा शेरबहादुर शाही बताउँछन् । चिसोबाट बच्न अगेनो नजिक आगो बालेर सुत्नु पर्ने बाध्यताका कारण उनिहरु आगलागीको जोखिममा परिरहेको जानकारहरु बताउँछन् । कर्णालीका विभिन्न जिल्लामा फिरन्ते जीविन बिताउँदै आएका राउटे नागरिक हाल दैलेखको नारायण नगरपालिका –८ सालखर्कमा बसोबास गरिरहेका छन् । हाल उनिहरुको जनसंख्या एक सय ४३ जना छ ।

प्रतिक्रिया