अलैंचीले बजार नपाउँदा मारमा किसान

अलैंचीले बजार नपाउँदा मारमा किसान

सल्यान : अलैंचीले बजार भाउ नपाएपछि सल्यानका किसान सस्तो मूल्यमै बिक्री गर्न बाध्य भएका छन् । गत वर्ष गाउँमा १ हजार १ सय रूपैयाँ प्रतिकिलोसम्म मूल्य पाएको अलैंची यस वर्ष ५ सय रूपैयाँमै बिक्री गर्न किसान बाध्य भएका छन्।

बजार भाउ कुरेर बसे पनि घरव्यवहार चलाउनकै लागि सस्तोमा बिक्री गर्नु परेको कुमाख गाउँपालिका-६ गोलकपुरका किसान चन्द्र वलीले बताए । २०७२ सालदेखि व्यावसायिक अलैंची खेती गर्दै आएका वलीले आफूले उत्पादन गरेको २ सय ६९ किलो अलैंची ५ सय ६० का दरले बिक्री गर्न बाध्य भएको बताए ।

गत वर्ष २ सय ४० किलो बिक्री गरेर २ लाख ६५ हजार आम्दानी गरेका उनले यस वर्ष बजार मूल्य नहुँदा १ लाख ५० हजार रूपैयाँमात्र आम्दानी भएको बताए । गतवर्षको अनुपातमा यस वर्ष अलैंची उत्पादन पनि कम भएको अर्का किसान हरिराजसिंह राठोरले बताए । यस वर्ष ७ सय रूपैयाँ किलोमा बिक्री गरेको उनको भनाई छ। उनले भने‚ ‘यस वर्ष उत्पादन र बजार मूल्य दुवै घटे । उत्पादन घटे पनि अहिले अलैंचीको मूल्य कौडीको भाउमा बिक्री गर्नुपर्ने अवस्था आएको छ ।’

पहाडी भूभागमा वर्षातमा बढी पानी पर्ने र हिउँदमा बढी तुषारो र खडेरी पर्ने गरेकाले पनि अलैंची खेती गर्ने किसानहरुको आम्दानी मौसमअनुसार घटबढ हुने गरेको अर्का किसान हरिबहादुर बुढाथोकीले बताए । सुरु सुरुमा अलैंची उत्पादन गर्ने किसानहरुको घरघरमै बाहिरबाट खरिद गर्न आउने व्यवसायी अहिले अलैंचीको मूल्य घटेसँगै खरिद गर्न आउन छाडेको उनको भनाई छ ।

जिल्लामा १५ हेक्टरमा अलैंची खेती हुँदै आइरहेको कृषि विकास कार्यालय सल्यानले जनाएको छ । आव ०७९/८० मा जिल्लाभर १५ हेक्टरमा १७ मेट्रिक टन अलैंची उत्पादन भएको कृषि विकास कार्यालय सल्यानका मुकुन्द शर्माले जानकारी दिए ।

प्रतिक्रिया