डुङ्गेश्वर गाउँपालिकालाई प्रविधिमैत्री बनाइँदै

डुङ्गेश्वर गाउँपालिकालाई प्रविधिमैत्री बनाइँदै

विद्युतीय मेसिनमा हाजिर गर्दै कर्मचारी।

दैलेख: स्थानीय तहबाट प्रवाह हुने सेवालाई छिटोछरितो र गुणस्तरिय बनाउन डुङ्गेश्वर गाउँपालिकालाई प्रविधिमैत्री बनाइने भएको छ। गाउँपालिकाले चालु आर्थिक वर्ष ०७९/०८० को नीति तथा कार्यक्रममै गाउँपालिकालाई प्रविधिमैत्री बनाउने नीति अघि सारेको थियो।

नीति तथा कार्यक्रममा गाउँपालिका र गाउँपालिका मातहतका कार्यालयमा ई–हाजिरी, योजना सफ्टवेयर, सिफारिस, परिचयपत्र र विद्युतीय दर्ता चलानी सफ्टवेयर लागु गरिने उल्लेख छ ।

सोहि नीति अनुसार गाउँपालिकामा विद्युतिय ई–हाजिरी प्रणाली जडान गरि कार्यान्वयनमा ल्याईएको छ । प्रमुख प्रसासकीय अधिकृत प्रेम बहादुर डिसीले गाउँपालिकामा ई–हाजिरी जडान भईसकेको बताए । ‘कर्मचारीको नियमितता, प्रविधिमैत्री पालिका बनाउने मुख्य उदेश्यले गाउँपालिकाको कार्यालय र गाउँपालिका मातहतका ६ वटा स्वास्थ्य संस्था र ६ वटा मावी तहका सामुदायिक विद्यालयमा ई–हाजिरी जडान गरिएको छ,’ डिसीले भने ।

गाउँपालिकाले योजना सम्झौतादेखि भुक्तानीसम्मका कामहरु पनि सफ्टवेयरमार्फत गर्न योजना सफ्टवेयर लागु गरिसकेको छ । गाउँपालिकामा सार्वजनिक सम्पतीको विवरण राखेर संरक्षण गर्नका लागि पाम्स सिस्टम लागु भईसकेको प्रमुख प्रशासकीय अधिकृत डिसीले बताए । गाउँपालिकाले अनलाइन सफ्टवेयरमार्फत भुक्तानी दिईरहेको उनको भनाई छ । प्रमुख प्रशासकीय अधिकृत डिसीका अनुसार गाउँपालिकाले अनलाइनबाटै राजश्व संकलन गर्ने योजना अघि सारेको छ ।

गाउँपालिकाले वडाबाट हुने सम्पूर्ण सिफारिसहरु, संघसंस्था तथा व्यवसायदर्ता पनि सफ्टवेयरमार्फत गर्ने योजना अघि सारेको डिसीले बताए । ‘वडातहबाट झण्डै दुई सय बढि सिफारिस गर्नुपर्छ, कसलाई कस्तो खालको सिफारिस लेख्ने भन्ने सबैलाई जानकारी हुँदैन्, सिफारिसहरुको ढाँचा एउटै हुने गरि सफ्टवेयर लागु गर्न लागिएको हो,’ डिसीले भने ।

गाउँपालिकाका अध्यक्ष सुन्दरकुमार केसीले गाउँपालिकालाई प्रविधिमैत्री बनाउँदै जनतालाई छिटोछरितो र गुणस्तरिय सेवा प्रवाहमा जोड दिईएको बताए । उनले गाउँपालिकाले कर्मचारी र जनप्रतिनीधिहरुको क्षमता विकासको लागि आईसिटी, ईगभरनेन्स सम्बन्धी तालिम सञ्चालन गर्ने नीति लिएको बताए । गाउँपालिकाको नियमित सूचना प्रवाहका लागि डिजिटल वोर्ड राख्नुका साथै विद्युतीय अपराधहरुलाई न्यूनीकरणका लागि पहल गर्ने नीति गाउँपालिकाले लिएको छ ।

प्रतिक्रिया