शैक्षिक सुधारका लागि मुल्यांकन

शैक्षिक सुधारका लागि मुल्यांकन

रुकुमपश्चिम : रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्बर १० ले शैक्षिक सुधारलाई प्राथमिकतामा राख्दै विद्यार्थीको सिकाई उपलब्धिको मुल्यांकन गरिरहेको छ । जसअनुसार वडाले विषय विज्ञ सदस्य रहने गरी ४ सदस्यीय शैक्षिक सुधार समिति बनाएको छ । जसमा नेपाली, अंग्रेजी, गणित र बिज्ञान विषय शिक्षक छन् ।

शैक्षिक सुधारका लागि वडाले सिकाई उपलब्धिलाई प्राथमिकतामा राखेको हो । वस्तुगत अध्यन र छलफलाई वडाले तिव्रता दिएको छ । सिकाई उपलब्धि बढाउने प्रयास अन्तर्गत शुक्रबार वडाका तीन वटा विद्यालयका विद्यार्थीको आधार उपलब्धि परीक्षण गरिएको छ । वडाका तीन विद्यालयका ८४ जना विद्यार्थी परीक्षामा सामेल भएका छन् ।

मालिका मावि चुनको कक्षा ३, ५ र ८, जनता आधारभूत विद्यालय गलम्पाटीको कक्षा ३ र ५ तथा शान्ति नमूना आधारभूत विद्यालय डेल्डाँडाको कक्षा ३ र ५ मा अध्यनरत विद्यार्थीका विचमा परीक्षा सञ्चालन गरिएको छ । यसबाट विद्यार्थीको सिकाई उपलब्धि कस्तो छ भनेर पत्ता लाग्ने वडाध्यक्ष धनबहादुर खड्का बसन्तले बताए ।

उहाँका अनुसार शैक्षिक सुधार सहयोग समूहले परीक्षा फल निकालेर त्यसको विश्लेषण गर्ने छ भने त्यसका आधारमा प्रतिवेदन तयार पार्ने छ । त्यसपछि वडा कार्यालय, तीन वटै विद्यालय व्यवस्थापन समिति र शिक्षक, स्थानीय राजनीतिक दल, टोल बिकास संस्था लगायतसंग अन्तरक्रिया गर्ने वडाध्यक्ष खड्काले बताए ।

अन्तरक्रियाबाट शैक्षिक सुधारका लागी वडा कार्यालय, विद्यालय प्रशासन तथा व्यवस्थापन समिति, समुदायस्तरबाट अभिभावक र विद्यार्थीहरुले अनिवार्य गर्नु पर्ने सम्भावित काम तथा पुरा गर्नुपर्ने कर्तव्य सहितको आचारसंहिता बनायर कार्यान्वयनमा ल्याइने उनले बताए ।

यसका लागि वडाले सरोकारवाला निकाय सबैको सहयोग र साथको अपेक्षा समेत गरेको छ । वडाले गठन गरेको शैक्षिक सुधार समितिमा नेपाली विषय शिक्षक मुकुन्दप्रसाद शर्मा, गणित विषय शिक्षक दिपक लामिछाने, अंग्रेजी विषय शिक्षक शेरबहादुर खड्का र विज्ञान विषय शिक्षक तिलक खड्का विज्ञ सदस्यका रुपमा रहेका छन् ।
विज्ञ शिक्षक, शिक्षक, जनप्रतिनिधि र विव्यस विचको छलफल ।

शैक्षिक विकासका लागि यो कार्यक्रम नमूना रहेको अंग्रेजि विषय शिक्षक शेरबहादुर खड्काले बताए । विद्यार्थीको सिकाई उपलब्धी कस्तो छ भनेर थाहा पाउने र त्यसका आधारमा आगामी कार्यक्रम बनाउन सहज हुने भएकोले यो कार्यक्रम महत्वपूर्ण रहको उनको भनाई छ ।

विद्यार्थीको स्तर कस्तो छ, पाठ्यक्रम अनुसार उपलब्धि छ कि छैन् भनेर मुल्यांकन हुने र यसका आधारमा शिक्षक, विद्यार्थी, अभिभावकलाई कोच गर्न सहज हुने उनकोविश्वास छ । कक्षा ३, ५ र ८ मा अध्यनरत विद्यार्थीको राष्ट्रिय रुपमै उपलब्धि मापन गर्ने अभ्यास रहेको पनि उनले बताए ।

विद्यार्थीले दिएको परीक्षाका आधारमा विद्यार्थीको सिकाई उपलब्धिको वास्तविक अवस्था पत्ता लाग्ने र यसको समिक्षा सहित शैक्षिक सुधारका लागि शिक्षक, विद्यालय, अभिभावक, स्वयं विद्यार्थी तथा वडाले गर्नुपर्ने कामका बारेमा सुझाव सहितको प्रतिवेदन तयारी पारी बुझाउने नेपाली शिक्षक मुकुन्दप्रसाद शर्माले बताए ।-कखरा

प्रतिक्रिया