रुकुम पश्चिममा ११ पुग्यो कुष्ठरोगीको संख्या

रुकुम पश्चिममा ११ पुग्यो कुष्ठरोगीको संख्या

रुकुम पश्चिम : रुकुम पश्चिममा ११ जना कुष्ठरोगी उपचाररत रहेका छन् । जिल्ला भरमा ११ जना कुष्ठरोगीले स्वास्थ्य संस्थाको प्रत्यक्ष निगरानीमा औषधी सेवन गरिरहेको स्वास्थ्य सेवा कार्यालयले जनाएको छ । जसमध्येमा २ जनाले जिल्ला अस्पतालबाट औषधी सेवन गरिरहेका छन् ।

सबै भन्दा बढी ४ जनाले सानीभेरी गाउँपालिकाका विभिन्न स्वास्थ्य संस्थाबाट निःशुल्क औषधि सेवन गरिरहेको स्वास्थ्य सेवा कार्यालयका खोप सुपरभाइजर अधिकृत कृष्णा खड्काले बताए । त्यस्तै चौरजहारी नगरपालिकामा २ जना, आठबीसकोट नगरपालिकामा २ जना र बाँफिकोट गाउँपालिकामा १ जना कुष्ठरोगी उपचाररत रहेका छन् ।

जिल्लामा चालु आर्थिक वर्षमा २ जना कुष्ठरोगी थपिएका हुन् । ९ जना पुरानै बिरामी रहेकामा चालु आर्थिक वर्ष २०७९÷०८० को हालसम्म २ जना नयाँ बिरामी फेला परेको स्वास्थ्य सेवा कार्यालयले जनाएको छ । जिल्लामा रहेका सबै कुष्ठरोगीको अवस्था सामान्य रहेको खोप सुपरभाइजर अधिकृत खड्काले बताए ।

नियमित औषधी सेवन गरेमा निको हुने खालका बिरामी रहेको उनको भनाई छ । अंगभंग नहुँदै उपचार सुरु गरेमा कुष्ठरोग औषधीको सेवनबाट निवारण गर्न सकिने खड्काले बताए । जिल्लामा कुष्ठरोगको अवस्था समेत सामान्य रहेको उनले बताए ।

प्रति दश हजार जनसंख्यामा १ जना वा त्यो भन्दा बढी कुष्ठरोगी भेटिएमा त्यसलाई गम्भिर रुपमा लिने गरिएको खड्काले बताए । उनका अनुसार जिल्लामा प्रति दश हजारमा ०.६६ जनामा मात्र कुष्ठरोग देखिएको छ । यसलाई घटाउनका लागि भने सबैको प्रयास जरुरी रहेको बताए ।-कखरा

प्रतिक्रिया