कपुरकोटले निस:शुल्क लोकसेवा र शिक्षक सेवा पढाउदै

कपुरकोटले निस:शुल्क लोकसेवा र शिक्षक सेवा पढाउदै

सल्यान : सल्यानको कपुरकोट गाउँपालिकाले लोक सेवा आयोग र शिक्षक सेवा आयोगका तयारी कक्षा सञ्चालन गरेको छ । गाउँपालिकाको आयोजना र ब्राइट रुट एकेडेमी काठमाण्डौंको व्यवस्थापनमा निःशुल्क लोक सेवा तथा शिक्षक सेवा आयोगका तयारी कक्षाहरु आइतवार देखी सञ्चालन गरिएको हो ।

कपुरकोट गाउँपालिकाको नेपाल राष्ट्रिय माद्यामिक विद्यालय किमुचौरमा भौतिक उपस्थितीमा र जीवनज्योति माद्यामिक बिद्यालय रिममा भर्चुअल माध्यमबाट कक्षा सञ्चालन शुरु भएको हो । लोक सेवा आयोग तर्फ नासु, खरिदार, तथा शिक्षक सेवा आयोग तर्फ निमावि, प्रावि, प्रा।स। को प्रथम पत्रको निःशुल्क तयारी कक्षा सञ्चालन गरिएको हो । लोक सेवा र शिक्षक सेवा आयोग दुबैमा गरेर १ सय १८ जनाले कक्षा लिनका लागि आवेदन दिएका थिए ।

भौतिक उपस्थित भई कक्षा लिनका लागि नेपाल राष्ट्रिय माद्यामिक विद्यालय किमुचौरमा ३५ दिनको लागि आइतबार देखि शुक्रबार सम्म बिहान साँढे ६ देखि साँढे ८ बजेसम्म लोकसेवा आयोग र बेलुका ५ वजेदेखी ६ बजेसम्म शिक्षक सेवा आयोगका तयारी कक्षा शुरु गरिएको प्रमुख प्रशासकीय अधिकृत भरत कुमार वलीले जानकारी दिए । उनले रिम र सिन्वाङका सहभागिहरुको लागि भर्चुअल मार्फत कपुकोट गाउँपालिका–५ रिमको जीवनज्योती माद्यामिक विद्यालयबाट कक्षा लिने व्यवस्था मिलाइएको बताए ।

आर्थिक रुपमा विपन्न, पारिवारीक समस्या तथा अस्थायी रुपमा जागिर गर्दै आएकाको सहजताको लागि पालिकामा नै कक्षा सञ्चालन गरिएको उहाँको भनाइ छ । उनले गाउँपालिका भित्रकै जनशक्तिलाई निजामति र शिक्षक सेवा आयोग तर्फ आकृर्षित गर्नको लागि तयारी कक्षा सञ्चालन गरिएको बताए ।

निःशुल्क तयारी कक्षाको शुभारम्भ गर्दै गाउँपालिका अध्यक्ष दुर्गा बहादुर पुनले दक्ष जनशक्ति उत्पादनकै लागि पालिकाले निःशुल्क तयारी कक्षा सञ्चालन गरेको बताए । लोकसेवा र शिक्षक सेवा आयोगमा गाउँपालिका भित्रको जनशक्तिले पनि नाम निकाल्न सकोस् र दक्ष जनशक्ति उत्पादन होस् भन्ने हेतुका साथ पालिकाले विनियोजन गरेको वजेट मार्फत तयारी कक्षा सञ्चालन गरिएको उनले बताए ।

‘लोकसेवा र शिक्षक सेवाका तयारी कक्षा लिनकै लागि दाङ, नेपालगन्ज, बुटवल तथा काठमाण्डौँ सम्म जानुपर्ने बाध्यता छ, जिल्ला बाहिर जाँदा महगों शुल्क तिर्नुपर्ने हुन्छ, यसले आर्थिक भार पर्छ’ उनले भने ‘लोकसेवा र शिक्षकसेवाका कक्षा लिएर केही गर्न सक्छौँ भन्ने सोच भएका युवायुवतीलाई पालिकामै निःशुल्क कक्षा सञ्चालन गर्दा राहत मिलेको छ ।’ गाउँपालिकाले शिक्षामा लगानी गरेको बताउँदै उनले त्यो लगानी खेर नजाने बताए ।

अध्यक्ष पुनले प्रथम पत्रमा नाम निकाल्नेहरुका लागि दोस्रो पत्रको लागि पनि तयारी कक्षा सञ्चालन गरिने बताउनुभयो । ‘अहिले प्रथम पत्रको तयारी कक्षा शुरु भएको हो, यसबाट कति जनाले दोस्रो पत्रको लागि नाम निकाल्नु हुन्छ, त्यही आधारमा दोस्रो पत्रको लागि पनि कक्षा सञ्चालन गर्छौ’ उनले भने ‘कपुरकोटमा पनि प्रतिस्पर्धा गर्ने योग्य जनशक्ति छ भन्ने वनाउनु छ, अध्ययनशिल जनशक्ति उत्पादन गर्नु छ ।’

 

प्रतिक्रिया