कानून कार्यान्वयन भए जातीय विभेद सजिलै हट्छ : बिशन्के

कानून कार्यान्वयन भए जातीय विभेद सजिलै हट्छ : बिशन्के

दैलेख – नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य एवं पूर्वसाँसद पार्वती बिशुन्केले नेपालको संविधान र ऐन कानूनमा भएको व्यवस्थालाई पूर्ण कार्यान्वयन गराउन तत्परता जनाउन सके जातीय विभेद सजिलै हट्न सक्ने बताउनुभएको छ । ५८ औं जातिभेद तथा रंगभेद उल्मूलन दिवसको अवसरमा दैलेखमा आयोजित अन्तरक्रिया कार्यक्रममा उहाँले सो विचार राख्नुभएको हो ।
सामाजिक कुचलन र धार्मिक अन्धविश्वासको आडमा विभेद अझैं कायम रहेको उल्लेख गर्दै विभेद देखिन हरेक घटनामा कानूनी कारवाही हुनसके विभेदजन्य सोचहरुमा सुधार आउनसक्ने पूर्वसाँसद बिशुन्केले बताउनुभयो ।
यसैगरी मानव अधिकार तथा शान्ति समाजको आयोजनामा जिल्ला सदरमुकाममा आयोजना भएको अन्तरक्रिया कार्यक्रममा नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधि गणेश उपाध्यायले जातीय विभेद सामाजिक समस्या भएकोले समाजका अगुवाहरुले तत्परता जनाउन आग्रह गर्नुभयो ।
त्यसबखत अधिकारकर्मी पत्रकार अमर सुनारले जातीय विभेद सवालमा गैरदलितहरुले अगुवाई गर्नुपर्ने धारणा राख्नुभयो । ‘महिला हिंसा रोकथाम गर्न पुरुषहरु अनि दलित माथिको विभेद हटाउन गैरदलितको अगुवाई प्रभावकारी हुन्छ’ उहाँले भन्नुभयो ।
मानव अधिकार तथा शान्ति समाजका अध्यक्ष प्रकाश पाैडेलको अध्यक्षतामा भएको कार्यक्रममा राजनीतिकर्मी, व्यापारी व्यवसायी, नागरिक समाजका अगुवाहरु, अधिकारकर्मीहरु समेतको सहभागिता थियो ।
स्थानीय तह दलित जनप्रतिनिधि मञ्च दैलेखले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा मञ्चका अध्यक्ष बखत नेपाली, नारायण नगरपालिकाका जनप्रतिनिधिहरु, नागरिक समाजका अगुवाहरु समेतको सहभागितामा जातिभेद तथा रंगभेद उल्मूलन दिवसको महत्व र जातीय विभेद विरुद्धको अभियान विषयमा छलफल भएको थियो ।
सन् १९६० मार्च २१ का दिन दक्षिण अफ्रिकाको सार्पभिल्लेमा रगंभेदी कानुन विरुद्ध भएको एक शान्तिपूर्ण प्रदर्शनमा ६९ जना अधिकारकर्मीहरु मारिएको दुःखान्त घटनाको स्मरण गर्दै संयुक्त राष्ट्र संघको महासभाले सन् १९६६ मा मार्च २१ तारिकलाई रंगभेद उन्मूलनको अन्तर्राष्ट्रिय दिवसको रुपमा घोषणा गरेको थियो ।
विश्वभर रंगभेद बिरुद्धको दिवसको रुपमा मनाउदै आएपनि नेपालमा जातिय विभेद बिरुद्ध आवाज उठाउने अवसरकार रुपमा मनाउन थालिएको हो ।

प्रतिक्रिया