ट्रक दुर्घटनामा चालक सहित तीन जनाको ज्यान गयो

ट्रक दुर्घटनामा चालक सहित तीन जनाको ज्यान गयो

दैलेख – नेपालगञ्जबाट दैलेखका लागि ग्यास सिलिण्डर ल्याएर आउदै गरेको ट्रक आज विहान ९ बजेतिर दुर्घटना हुँदा चालक सहित तीन जनाको ज्यान गएको छ । भे १ क २२०१ नम्बरको ट्रक दैलेखको गुराँस गाउँपालिका–४ तालपोखरी मोडमा दुर्घटना हुँदा उनीहरुको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ ।

घटनास्थल पुगेको अस्थायी चौकी तालपोखरीको टोलीले दिएको जानकारी अनुसार ज्यान जानेमा बाँके जिल्ला घरमा भएका चालक २९ वर्षीय कृष्ण चौधरी, ट्रकमा यात्रारत दाङ्ग जिल्ला घर भएका दुई जना अन्दाजी १८ वर्षीय बिष्णु चौधरी र २७ वर्षका लछिराम चौधरी हुुनुहुन्छ । मृतकहरुको शव छेदबिच्छेद अवस्था छन् ।

तालपोखरी झर्ने छोटो बाटो नजिक मोडमा ब्रेक फेल भई माथिल्लो सडकबाट चिप्लिएर करिब एक सय २५ मीटर तल्लो सडकमा खसेको प्रत्यक्षदर्शीले बताएका छन् । ओरालो सकिएर मोडमै आइपुग्दा चालकले बे्रक लागेन भनेपछि सहचालक सल्यानको कुपिण्डेदह गाउँपालिका–७ का २८ वर्षीय प्रकाश कुमाईले सडकमै हामफालेर ज्यान जोगाएको प्रहरीले जनाएको छ ।


मृतकहरु नेपालगगञ्जको मनकामना ग्यास कम्पनीमा कार्यरत ती कामदारहरु भएको बताइएको छ । ट्रक दुर्घटना हुन लागेको चाल पाएर हामफालेर ज्यान जोगाएका सहचालक कुमाईले मृतकहरुको जिल्ला र अन्दाजी उमेर बताउन सकेकोले मृतकहरुको पहिचान एकीन भएको अस्थायी चौकी तालपोखरीका इञ्चार्ज प्रहरी हवल्दार देवराज कठायतले बताउनुभयो ।

दुर्घटनाको कारण, घटनास्थलको अवस्था अनुसन्धान र मृतकहरुको शव उठाउन जिल्ला सदरमुकामबाट प्रहरी निरीक्षक दीपकसिंह बिष्टको नेतृत्वमा टोली घटनास्थल तर्फ पठाइएको जिल्ला प्रहरी कार्यालय दैलेखका इञ्चार्ज प्रहरी नायव उपरीक्षक (डीएसपी) किशोर लम्सालले जानकारी दिनुभयो ।

दैलेख–सुर्खेत ६५ किलोमीटर दूरी मध्ये तालपोखरी ठीक आधा दुरी अर्थात सदरमुकामबाट ३२ किलोमीटर टाढा छ । दैलेखबाट नेपालगञ्जको दूरी एक सय ७१ किलोमीटर छ । प्रशासनिक कामले कर्णाली प्रदेशको राजधानी सुर्खेतमा आउजाउ बढी भए पनि दैलेख व्यापारीहरुले सबैजसो मालसामान नेपालगञ्जबाट ल्याउने गर्दछन् ।

प्रतिक्रिया