बालविवाह मुक्त वडा घोषणा गर्ने अभियानमा पातारासी

बालविवाह मुक्त वडा घोषणा गर्ने अभियानमा पातारासी

जुम्ला –  जुम्लाको पातारासी गाउँपालिका बालविवाह मुक्त वडा घोषणा गर्ने अभियानमा जुटेको छ । पहिले अशिक्षाका कारण बालविवाह भए पनि अहिले प्रविधिको दुरुपयोगले बुझ पचाएरै विवाह भएको भन्दै परामर्श, छलफल तथा दण्डित गरेर भए पनि वडामा बालविवाह रोक्ने अभियान चलाएको पातारासी गाउँपालिका-५ का वडा अध्यक्ष दत्तबहादुर बुढाले बताउनुभयो ।

वडा अध्यक्ष बुढाले भन्नुभयो, अहिले हामीले बालविवाह अपराध हो भन्ने बुझिसकेका छौँ । बालविवाह गर्नेलाई वडाको सार्वजनिक सेवाबाट वञ्चित गर्नेदेखि विवाह नै बहिस्कार गर्ने संस्कारको विकास भएको छ ।

पातारासी गाउँपालिका-५ वडा आयोजना, गाउँपालिका अन्तर्गतको महिला तथा बालबालिका शाखाको समन्वय तथा वल्डभिजन इन्टरनेश्नल नेपाल, किर्डाक नेपाल जुम्लाको साझेदारीमा यहीँ चैत १५ गते-५ नम्बर वडालाई बालविवाह मुक्त वडा घोषणा गर्ने तयारी गरिएको पातारासी गाउँपालिकाअन्तर्गतको महिला तथा बालबालिका शाखा प्रमुख भगवती गिरीले बताउनुभयो ।

मंगलबार जिल्ला समन्वय समितिका सदस्य धनसुर बुढा, वडा अध्यक्ष दत्तबहादुर बुढा, पातारासी गाउँपालिका अन्तर्गतको महिला तथा बालबालिका शाखा प्रमुख भगवती गिरी, डिल्लीचौर प्रहरी चौकीका इन्चार्ज बुद्धि साउद, स्वास्थ्यकर्मी र पत्रकार लगायतको टोलीले अनुगमन गरेको हो । अनुगमनको क्रममा ९५ प्रतिशत बालविवाह वडामा नभएको पाइएको अनुगमन टोलीले निष्कर्ष निकालेको छ ।

पातारासी गाउँपालिका भरि ७ वडा छन्। अन्य वडा क्रमिक रूपमा बालविवाह मुक्त वडा घोषणा गरिने गिरीको भनाइ छ । जुम्लाका ८ वटै स्थानीय तहका ६० वटा वडामध्ये हालसम्म कुनै पनि वडा बालविवाह मुक्त घोषणा हुन सकेका छैनन्। यो पहिलो वडा हुनेछ ।

डिल्लीचौर प्रहरी चौकीका इन्चार्ज बुद्धि साउदले बालविवाह गर्दा भोग्नु पर्ने कानुनी सजायको बारेमा जानकारी गराउनुभएको थियो । तथ्याङ्क अनुसार जुम्लामा अझै ७० प्रतिशत बालविवाह हुने गरेको छ । पछिल्लो समय प्रविधिको दुरुपयोग, अभिभावले निगरानी नगरेकै कारणले जुम्लामा बालविवाह बढेको हो ।

प्रतिक्रिया