अंग पुगेको मुद्दामा छिटो फैसला गरौं : न्यायाधीश लम्साल

अंग पुगेको मुद्दामा छिटो फैसला गरौं : न्यायाधीश लम्साल

दैलेख – जिल्ला अदालतले न्याय प्रशासनका काममा सहकार्यता अभिबृद्धि गर्न कानून व्यवसायीसंग छलफल गरेको छ । बारबेञ्च बैठक नाम दिइएको छलफलमा जिल्ला न्यायाधीश बलराम लम्सालले अंग पुगेका मुद्दामा छिटोछरितो फैसला गर्न कानून व्यवसायीहरुको सहयोग चाहिएको बताउनुभयो ।

‘सवोच्च अदालतले दुई वर्ष ननाघ्न भनेको छ । अंग पुगेका हकमा एक वर्ष ननाघ्दै फैसला गरिहाल्ने सोचमा छौं, कानून व्यवसायीहरुको सहयोग चाहियो’ उहाँले भन्नुभयो । ‘मुद्दा छिटो फैसला गरिदिंदा न्यायको प्रभावकारिता बढ्ने भएकोले यसमा सबै संवेदशील हौं’ न्यायाधीश लम्सालको आग्रह थियो ।

अदालत पुगेका मुद्दामा वकालतनामा पेश गरेका कानून व्यवसायीले तीन पटकसम्म पेशी स्थगन गर्न सक्ने सुविधा प्रयोग गर्दै एकै मुद्दामा धेरै कानून व्यवसायीहरुले मुद्दा लम्व्याउने प्रचलन छ । ‘दैलेखमा यो समस्या त्यति धेरै त छैन तर सुझाव चाहिँ राम्रो हो’ नेपाल बार एशोसियसन दैलेखका अध्यक्ष ललितबहादुर थापाले भन्नुभयो ।

त्यसबखत दैलेख जिल्ला अदालतका श्रेस्तदार उपसचिव इन्द्रबहादुर कार्कीले अदालतमा आउने मुद्दाको प्रशासनिक काम छिटोछरितो गराउन उजुरी, साथमा राखिने कागज प्रमाण र प्रक्रिया विषयमा कानून व्यवसायीहरु सजग हुनुपर्ने बताउनुभयो ।

कार्यक्रममा जिल्ला सरकारी वकील कार्यालयका सहायक जिल्ला न्यायाधिवक्ता चन्द्रबहादुर खत्रीले अदालतमा जनशक्ति कमी, प्रविधि र साधनश्रोतको कमीले प्रहरीको अनुसन्धान पद्धति पुरानै शैली र न्यायिक प्रक्रियामा सेवाग्राहीले धैर्यता राख्न नसक्ने समस्याले सरकारवादी मुद्दाका काममा अपेक्षाकृत गति बढाउन नसकिएको सुनाउनुभयो ।

अदालतले हरेक तीन महिनामा बारबेञ्च बैठक बसेर अदालती न्याय प्रशासनका कामका सजिला अप्ठ्यारा विषय समीक्षा गर्ने र प्राप्त सुझावको आधारमा आवश्यकता अनुसार सुधार गर्दै लैजाने गरिएको छ ।

अदालतले सुरक्षा अधिकारीहरु समेत समेटिएको जिल्ला स्तरीय न्यायिक समन्वय समिति, बाल बिज्याइँका मुद्दाको अवस्था र सुधारका निम्ति बाल न्याय समन्वय समितिका बैठक, अदालतमा सेवाग्राहीको चाप भएको समयमा सेवाग्राहीसंग छलफल कार्यक्रमबाट अदालतले पृष्ठपोषण लिने गरेको छ ।

दैलेख जिल्ला अदालतमा ३० जना कर्मचारीका दरबन्दी मध्ये एकतिहाई कम अर्थात् १९ जनाबाट काम धान्नु परेको कारण काममा गति दिन नसकिएको श्रेस्तदार उपसचिव कार्कीले बताउनुभयो । ‘छ जना डिट्ठामा पाँच जना, छ जना तामेल्दारमा तीन जनाको दरबन्दी रिक्त रहेकोले काम प्रभावित भएको छ’ उहाँले भन्नुभयो ।

प्रतिक्रिया