हत्या कसूरमा मुनालाई जन्मकैद, पीडित पक्षबाट मुनाका परिवार बिस्थापित

हत्या कसूरमा मुनालाई जन्मकैद, पीडित पक्षबाट मुनाका परिवार बिस्थापित

दैलेख  – जिल्ला अदालतले डेढ वर्ष अघि शिक्षकको हत्या गरेको कसूरमा गुराँस गाउँपालिका–८ मुकुट्ककी २८ वर्षीया मुना राना खड्कालाई आज जन्मकैद गरेको छ ।

जिल्ला न्यायाधीश बलराम लम्सालको इजलासबाट कसूरदार मुनालाई जन्मकैद र मुनाका पति ३५ वर्षीय डम्बर खड्कालाई चाहिँ सफाई दिएको श्रेस्तेदार उपसचिव इन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो ।

कूरदारलाई जन्मकैद (२५ वर्ष) काराबास बस्नुपर्ने, पीडित पक्षलाई एक लाख रुपैंयाँ क्षतिपूर्ति तिर्नुपर्ने र पीडित राहत कोषमा २८ सय रुपैंयाँ जम्मा गर्नुपर्ने सजाय तोकिएको फैसलामा उल्लेख छ ।

आफ्ना छिमेकी मालिका मावि लालीकाँडा मुकुट्कका शिक्षक ४२ वर्षीय नगेन्द्रबहादुर बीसीको ०७८ भदौ २९ गते राति हत्या भएको थियो । आफू माथि यौनजन्य दुव्र्यवहार भएपछि धारिलो चक्कू प्रहार गरी हत्या गरेको मुनाको भनाई छ ।

राहत कोटाका शिक्षक नगेन्द्रबहादुरका दुई छोरा अध्ययनको सिलसिलामा कोहलपुर रहेका तर घटनाको दिन पत्नी कृष्णाकुमारी चाहिँ काम विशेषले दैलेख सदरमुकाममा बास बसेको राति घर नजिकै आफ्नी दिदीको घरमा साँझको खाना खाइवरी मुनाको देवरले चलाएको पसल राति ११ बजेसम्म बसेका घर फर्किंदा आफू सुतेको कोठामा पुगी यही सुत्छु भनी  त्यस्तो दुव्र्यवहार गरेको मुनाको आरोप छ ।

संगै सुतेका छोराहरुलाई थाहा नहोस् भनेर शिक्षक नगेन्द्रबकहादुरलाई साथै लिई आफ्नो घरसंग जोडिएको मालिका मावि लालीकाँडा मुकुट्कको हातामा चक्कू प्रहार गरी हत्या गरेकाे भन्ने  मुनाकाे प्रहरी र अदालतमा एकै प्रकारको बयान छ ।

घटनाको बेला सुर्खेतमा रहेका मुनाका पति डम्बरलाई मुनाले हत्या घटना लगतै मोवाइलबाट जानकारी गराएको बेला ‘भागेर आऊ म लुकाउने प्रयास गरौंला’ भनी मेसेज गरेको आधारमा डम्बरलाई समेत हत्या अभियोगमा कारागार थुनामा राखिएको थियो ।

मुनाले शिक्षक नगेन्द्रबहादुरका हत्या गरेको समयताका सुर्खेतमा हुनुहुन्थ्यो । डम्बर घटना भन्दा २ वर्षदेखि सुर्खेतको एक होटलमा काम गर्नुहुन्थ्यो । ‘लुकाउने प्रयास गरौंला’ भनी मुनालाई मेसेज लेखेकै आधारमा हत्या अभियोगमा उहाँ डेढ वर्ष थुनामा बसेर आज मात्र सफाई पाउनुभएको हो ।

मृतकको शव घटनाको भोलिपल्ट अर्थात भदौ ३० गते दैलेख अस्पतालमा शव परीक्षण गरिएको थियो । पीडित पक्षको उजुरी र प्रहरीले घटनाको अनुसन्धान प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकील कार्यालयले ०७८ कात्तिक ४ गते दैलेख जिल्ला अदालतमा कर्तव्यज्यान अभियोग दर्ता गराएको थियो ।

अभियोग सम्वन्धमा कात्तिक ५ गते भएको थुनछेक बहसपछि तत्कालिन जिल्ला न्यायाधीश दण्डपाणी लामिछानेको इजलासबाट थुनामा राख्ने आदेश अनुसार आरोपित मुना र डम्बरलाई जिल्ला कारागारमा राखिएको थियो ।

कानूनी प्रक्रिया चल्दा पनि आरोपितका परिवारजन विस्थापित !
मालिका मावि मुकुट्कका राहत शिक्षक नगेन्द्रबहादुर बीसी हत्या घटना बारे कानूनी प्रक्रिया चलिरहेको बेला हत्याका आरोपितका परिवारहरुलाई घटना भए यता उनीहरुको आफ्नो घरमा बस्न नदिएको कारण डेढ वर्ष भन्दा बढी समयदेखि बिस्थापित भएका छन् ।

बुहारीले शिक्षक हत्या गरेको घटनाका दैलेखको गुराँस गाउँपालिका–८ छोटेपोखराका नवलसिंह खड्का, नवलसिंहकी पत्नी डिलसरा खड्का, कान्छो छोरा दीर्घबहादुर खड्काको ४ जनाको परिवार समेत ६ जना बिस्थापित बनाइएको छ ।

शिक्षकको हत्या स्थान मालिका मावि मुकुट्कबाट करिव एक किलोमीटर दूरीमा रहेको धरमपोखरा प्रहरी चौकीले शव फेला परेको २०७८ भदौ २९ गते विहान साढे ६ बजे नै मुनालाई प्रहरीले गिरफ्तार गरेको थियो ।

मुनालाई लुकाउन प्रयास गरौंला भनेको मेसेजकै आधारमा घटनाको बेला सुर्खेत भएका डम्बर समेत कारागार थुनामा परेपछि दुई छोराहरु योगेश (९) र डेबिड (६) सुर्खेतको चिङ्गाडस्थित मावलीमा बस्तै आएका छन् ।

शिक्षकका आफन्तजनले मुना राना खड्काका अलवा देवर दीर्घबहादुर खड्का, देवरानी तुल्सी खड्का, मुनाकी सासु डिलसरा खड्का, त्यसबेला तीज मान्न आएकी मुनाकी अमाजु दिदी दुर्गा राना र जेठा जेठाजुको छोरा टोपेन्द्र खड्का समेतलाई मुद्दा लगाउनुपर्ने भन्दै प्रहरी अनुसन्धानकै बेला विवाद गर्दै आएका थिए ।

 

विस्थापित परिवारलाई कालो मोसो
बिस्थापन समस्यापछि आफ्नो घरमा बस्न पाइहाल्ला कोशिस गर्नैपर्छ भनेर ०७८ मङ्सिर २५ गते घर पुगेका मुनाका ससुरा अर्थात् नवलसिंह र डिलसरालाई मृतक शिक्षक नगेन्द्रकी बुहारी फाटककुमारी वीसी र नगेन्द्रकी पत्नी कृष्णाकुमारीले कालोमोसो दलेर लछारपछार प्रत्यक्षदर्शीको भनाई छ ।

त्यति नै बेला मृतक शिक्षक नगेन्द्रका आफन्तले मुनाका देवर दीर्घबहादुरको पसलको सामान, मुनाको कोठाको कपडालत्ता, खाद्यन्न, भाँडाकुडा र मुनाका ससुरा नवलसिंहका घरभित्र पसी अन्नपात र कागजपत्र आगनमा ल्याई छरपष्ट पारी फालिदिएका थिए ।

घर छोड्दा एउटा दुहुनो भैंसी, तीन वटा गोरु, तीन वटा बाख्रा आफन्तले लिएर पालेका छन् । गाईबस्तु पाल्नेहरुलाई पनि मतियार भनेर मृतक शिक्षकका परिवारले आतंकित बनाउदै आएका छन् ।

बस्तुभाउ पाल्न नदिनेले खेती गर्न दिने कुरै भएन । भदौको महिना मकैको ढोड काटेको र बिस्थापनको डेढ वर्ष अवधिमा खेती नगएको बञ्जर परिणत भएको छ । ०७८ मङ्सिरमा त्यहा पुग्दा पँहेला भएर बारीमा कुहिएका काँक्रा छरपस्टै थिए ।

 

पुनस्र्थापना गर्ने निकायहरु निरीह

स्थानीय तहका जनप्रतिनिधि, प्रहरी प्रशासन र राष्ट्रिय मानव अधिकार आयोगमा यसबारे मुनाका ससुरा नहकुल खड्काले आफू आफ्नो घरमा बस्न पाउनुपर्ने भन्दै पुनस्थापनाको लागि लिखित र मौखिक उजुरी गरेका छन् ।

मृतक शिक्षकका परिवार र आफन्तहरु आक्रोस थाम्न जनप्रतिनिधिहरुले पहल नगरेकै कारण मुनाका परिवारजनलाई बिस्थापन गराउन सक्ने मनोवल बढेको हो ।

तत्कालिन प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेल, तत्कालिन प्रहरी इञ्चार्ज डीएसपी भुवनेश्वर साह त्यहाँ पुग्दा पुनस्र्थापना गराउन आएका भनी अर्को एक सभाका लागि राखिएको कुर्ची उठाएर हामी बस्न दिन्नौं भनेर दुव्र्यहार गरेका थिए ।

प्रतिक्रिया