कर्णालीका पदक विजेता सम्मानित

कर्णालीका पदक विजेता सम्मानित

सुर्खेत –  प्रदेश सरकारले विभिन्न बिधाका खेलमा कर्णालीलाई पदक दिलाउने खेलाडीहरुलाई नगद पुरस्कारसहित सम्मान गरेको छ । सन् २०२१ मा भारतको सिक्किममा आयोजित स्ट्रेन्थ लिफ्टिङ प्रतियोगितामा स्वर्ण पदक विजेता सुर्खेतकी खगिसरा घर्तीलाई दुई लाख रुपियाँ सहित सम्मान गरिएको हो ।

यस्तै गत भदौ २१ देखि असोज ३ गतेसम्म काठमाडौंमा सम्पन्न साफ महिला फुटबल प्रतियोगितामा रजत पदक विजेता हुम्लाकी दीपा शाहीलाई ५० हजार, गण्डकीमा भएको नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा उसुमा स्वर्ण विजेता सुर्खेतका दीपक हमाल र एथलेटिक्समा स्वर्ण विजेता जुम्लाका दुर्गबहादुर बुढालाई दुई दुई लाख रुपियाँ सहित सम्मान गरिएको हो ।त्यस्तै नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा रजत जित्ने चार जनालाई प्रतिव्यक्ति जनही एक लाख ५० हजार र कांस्य पदक जित्ने ११ जना खेलाडीलाई नगद एक एक लाख रुपियाँबाट सम्मान गरिएको छ ।

काठमाडौंमा सम्पन्न १२औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा कर्णालीलाई स्वर्ण दिलाउने सुर्खेतका सुरेश चौधरी र अजय विक तथा कालिकोटका भावना फर्साललाई २०/२० हजार रुपियाँसहित सम्मान गरिएको हो ।यस्तै सोही प्रतियोगितामा रजत पदक विजेता सात जना खेलाडीलाई १५ हजार र कास्य पदक विजेता १६ जनालाई १० हजारका दरले पुरस्कार वितरण गरिएको हो ।

कर्णालीलाई पदक दिलाउने खेलाडीको सम्मान र उनीहरूमा थप उत्प्रेरणा बढाउन नगद पुरस्कार उपलब्ध गराइएको कर्णाली प्रदेश खेलकुद विकास परिषद्ले जनाएको छ । परिषद्ले राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका विभिन्न बिधाका खेलमा स्वर्ण, रजत र कास्य पदक दिलाउने खेलाडीलाई नगद पुरस्कारसहित सम्मान गरेको हो ।

पदक विजेता खेलाडीलाई पुरस्कार वितरण गर्दै कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री टेकराज पछाईले कर्णालीमा खेलकुदको विकासका लागि सरकार प्रतिबद्ध रहेको बताउनुभयो ।

प्रतिक्रिया