अपाङ्गता सवालमा सम्वेदनशील छाैं : मेयर शर्मा

अपाङ्गता सवालमा सम्वेदनशील छाैं : मेयर शर्मा

दैलेख  –  नारायण नगरपालिकाका मेयर लोमन शर्माले अपाङ्गता समस्या सवालमा आफूहरु सम्वेदनशील रहेको बताउनुभएको छ । यूएसएड तथा ह्याण्डिक्याप इण्टरनेशनलको सहयोगमा राष्ट्रिय अपाङ्ग महासंघका नेपालले आइतवार दैलेख सदरमुकाममा आयोजना गरेको अपाङ्गता पुनस्र्थापना सवाल सम्वन्धी नारायण नगरपालिका स्तरीय जनप्रतिनिधि तथा सरोकारवालाहरुको अभिमुखीकरण कार्यक्रममा उहाँले सो धारणा राख्नुभएको हो ।

सवालमा सम्वेदनशील भए पनि कतिपय अवस्थामा नीतिगत विषय जानकारी नभएर बजेट कार्यक्रम बनाउन छुट्ने गरेको बताउदै यो अभिमुखीकरणले सरकार नीति, यसबारे ऐन कानूनमा भएको व्यवस्था जानकारी पाएपछि हामीलाई उत्तरदायी बनाएको आगामी वर्ष २०८०/८१ को बजेट तथा नीति कार्यक्रममा यसको प्रतिविम्ब देखिनेछ मेयर शर्माले भन्नुभयो ।

राष्ट्रिय पाङ्ग महासंघका नेपाल नारायण नगरसमितिका अध्यक्ष जीतबहादुर जीसीको अध्यतामा भएको जनप्रतिनिधि तथा सरोकारवालाहरुको अभिमुखीकरण कार्यक्रममा नारायण नगरपालिकाका उपमेयर तप्ताकुमारी थापा खड्का, नारायण नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख नगेन्द्रबहादुर हमाल लगायतले अपाङ्गता पुनस्र्थापना समस्या र समाधानका उपाय विषयमा धारणा राख्नुभएको थियो ।

राष्ट्रिय अपाङ्ग महासंघका नेपालका कर्णाली प्रदेश अध्यक्ष बिष्णुप्रसाद शर्मा, अपाङ्गता पुनस्र्थापना परियोजनाका अधिकृत पार्वती आले, राष्ट्रिय अपाङ्ग महासंघका नेपाल कर्णाली प्रदेश कार्यलयका आनन्दबहादुर बिष्टले अभिमुखीकरण गर्नुभएको थियो ।

अभिमुखीकरणमा अपाङ्गता भएका व्यक्तिको अधिकार सम्वन्धी ऐन २०७४, पालिकास्तरमा अपाङ्गता समस्या भएकाहरुको संरक्षण तथा पुनस्र्थापनाका लागि काम गर्न गठित समन्वय समिति, त्यसको काम कर्तव्य र अधिकार, ती व्यक्तिहरुको लागि अपाङ्गता अवस्था अनुसार दिइने आधारभूत स्वास्थ्य सेवा, सुविधा, अपाङ्गता परिचयपत्र, त्यसको नियमन लगायतका विषयमा छलफल भएको थियो ।


अपाङ्गता भएका व्यक्तिको अधिकार सम्वन्धी ऐन २०७४ र स्थानीय सरकार सञ्चालन ऐन २०७४ ले अशक्तताको प्रकृति अनुसार हिड्डुल र व्यक्तिगत सरसफाई समेत अरुले गरिदिनुपर्नेहरुलाई पूर्ण अशक्तता ख वर्ग, अरुको सहारामा खाना खानेदेखि हिड्डुल गर्नसक्नेलाई अशक्तताको ख वर्ग, अरुको सहारा वा सहायक सामग्रीको मद्दत मा काम गर्न सक्नेलाई ग वर्ग र सामान्य प्रकृतिकालाई घ वर्ग गरी चार प्रकारको अपाङ्गता भनी वर्गीकरण गरेको छ ।

अपाङ्गता समस्या भोगिरहेका नागरिकहरु मध्ये क वर्गका अपाङ्गलाई मासिक तीन हजार नौ सय ९० रुपैंयाँ र ख वर्गका अतिशक्तहरुलाई हरेक महिना दुई हजार एक सय २८ रुपैंयाँ सामाजिक सुरक्षा भत्ता दिँदै आएको छ ।
शारीरिक तथा प्रणालीगत समस्या र कठिनाई भोगिरहेका अपाङ्गताताई १० वटा प्रकृतिमा विभाजन गरिएको छ । शारीरिक, सुनाई, दृष्टि, श्रव्दृश्य, बौद्धिक, मनोसामाजिक, हेमोफिलिया, अटिज्म र अअपाङ्गता गरी १० वटा प्रकृतिका अपाङ्गतामा छन् ।

राष्ट्रिय अपाङ्ग महासंघका नेपाल लगायत अपाङ्गता सवालमा काम गरिरहेका नागरिक समाज संस्था र सरकारले अपाङ्गता समस्या भोगिरहेका नागरिकहरुलाई यातायातमा ५० प्रतिशत, आयकरमा ५० प्रतिशत, घरजग्गा रजिष्ट्रेशनमा २५ प्रतिशत सहुलियत दिदै आएको छ । अपाङ्गता भएका व्यक्तिको सहायक सामग्रीहरुमा भंसार छुट र सरकारी अस्पतालमा निशुल्क स्वास्थ्य जाँच र औषधि निशुल्क गरिएको छ । सरकारी कर्मचारी र शिक्षक भर्ना तथा बढुवामा ५ प्रतिशत आरक्षणको व्यवस्था गरिएको छ ।

नेपाल सरकारले अपाङ्गता भएका व्यक्तिको अधिकार सम्वन्धी ऐन २०७४, अपाङ्गता भएका व्यक्तिको अधिकार सम्वन्धी नियमावली २०७७, अपाङ्गता रोकथाम तथा पुनस्थापना रणनीति तथा १० वर्षे कार्ययोजना, अपाङ्गता समावेशी तथा राष्ट्रिय स्वास्थ्य सेवा निर्देशिका २०७६, अपाङ्गता पुनस्र्थापना सेवा सञ्चालन सम्वन्धी मापदण्ड २०७८, अपाङ्गता भएकाहरुको सहायक सामग्री सेवा सम्वन्धी राष्ट्रिय मापदण्ड २०७८ लगायतका नियम कानूनको व्यवस्था गरेको छ ।

राष्ट्रिय जनणना २०६८ को तथ्यांक अनुसार नेपालमा पाँच लाख १३ हजार भन्दा बढी अपाङ्गता भएका व्यक्तिहरु छन् । २०७२ को भूकम्पमा आठ हजार सात सय भन्दा बढी व्यक्तिहरु अपाङ्ग भएका छन् । देशभरका सबै अपाङ्गता भएकाहरु मध्ये झण्डै ८८ हजार जना बेडमा सुतिरहनुपर्ने अवस्थाका छन् तर उनीहरुले सुविधा पाएका छैनन् । अपाङ्गता भोगिरहेका मध्ये ८५ प्रतिशत भन्दा बढीले सहायता सामग्री पहुँच नभएको राष्ट्रिय अपाङ्ग महासंघका नेपालको दावी छ ।

प्रतिक्रिया