कैदीहरुका लागि डलकुसन निर्माण तालिम

कैदीहरुका लागि डलकुसन निर्माण तालिम

उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय दैलेखले कारागारका कैदीहरूका लागि १५ दिने डलकुसन निर्माण तालिम दिएको छ । १२ जना कैदीहरुको सहभागिता रहेको तालिमको सहजीकरण सम्झना केसीले गर्नुभएको थियो ।

समापन कार्यक्रममा जेलर जीतबहादुर खत्रीले कैदीबन्दीहरुले तनाव व्यवस्थापन, आत्मनिर्भरताको निम्ति सीप आर्जन गर्नुपर्ने बताउनु भयो । कैद भुक्तान गरी समाज फर्किदा हातमा सीप सहित पठाउन सकियोस् भनेर तालिम दिइएको उहाँको भनाई थियो ।

कैदीबन्दीहरुलाई सकारात्मक सोच, आत्मविश्वास, सहकार्यता र भाइचारा जस्ता सामाजिक भावना विकास गर्न कारागारमा धार्मिक कार्य, योग अभ्यास, पुस्तकालय लगायतका रचनात्मक काम र यसको मिडियामा सकारात्मक प्रचारले दैलेखका कैदीबन्दीहरु समाजमा फर्किदा पुनस्र्थापनामा सहज हुने गरेको चर्चा गर्नुभयो ।

त्यसबखत उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय दैलेखका छैटौं अधिकृत रुद्र भण्डारीले कारागारका बन्दीहरुले सीप विकास गर्दा स्वआर्जन र आत्मसम्मान बोध हुने भएकोले प्राथमिकताका साथ डलकुसन बनाउने तालिम चलाइएको बताउनुभयो ।

इन्सेक जिल्ला प्रतिनिधि अमर सुनारले कारावासको जीवन विताइरहेका कैदीबन्दीले मानवोचित जीवन निर्वाहका पानी, बिजुली, सञ्चार, खाना र उचित बसाईसंगै कानूनी प्रतिरक्षाको निम्ति अवसर पाउनुपर्ने विषयमा इन्सेकले सधैं वकालत गरिरहेको सुनाउनुभयो । त्यसबखत उहाँले पीडितको भावना सुन्नुलाई पक्षपातिको रुपमा लिनु नहुने कैदीबन्दीहरुसंग आग्रह गर्नुभयो ।

फागुन २९ गतेदेखि सोमवारसम्म सञ्चालन गरेको १५ दिने डलकुसन तालिममा कुसनहरु लभ, चारपाटे, स्टार, डल तर्फ कुकुर, छड्के कुकुर, ठूलो टेडी, मिडियम टेडी जस्ता खेलाउना सामग्री निर्माण गर्न सिकाइएको तालिम प्रशिक्षक सम्झना केसीले जानकारी दिनुभयो ।

दैलेख कारागारमा एक सय २७ जना पुरुष, १८ जना महिला र आश्रित एक बालक समेत एक सय ४६ जना कैदीबन्दी थुनामा रहेका दैलेख कारागारका जेलर जीतबहादुर खत्रीले जानकारी दिनुभयो । उहाँका अनुसार एक सय १४ जना कैद तोकिएका कैदीहरु र ३१ जना चाहिँ मुद्दाको पुर्पक्षका लागि थुनामा रहेका छन् ।

प्रतिक्रिया