हाडाकोटमा अस्थायी प्रहरी चौकी स्थापना

हाडाकोटमा अस्थायी प्रहरी चौकी स्थापना

दैलेख – चामुण्डाबिन्द्रासैनी नगरपालिका-३ हाडाकोटमा मंगलवार अस्थायी प्रहरी चौकी स्थापना गरिएको छ । कर्णाली योजना आयोगका उपाध्यक्ष योगेन्द्र शाहीले औपचारिक कार्यक्रमवीच उद्घाटन गर्नुभएको हो । उपाध्यक्ष शाहीले प्रहरी चौकी स्थापनाले सुरक्षाको प्रत्याभूतीले यस क्षेत्रको व्यापार व्यवसाय फस्टाउने र नागरिकको आर्थिक उन्नति हुने अपेक्षा रहेको बताउनुभयो ।

त्यसबखत चामुण्डाबिन्द्रासैनी नगरपालिका मेयर गणेशबहादुर शाहीले पालिका क्षेत्रकै पुरानो मुकाम, शैक्षिक केन्द्र भएको अवस्थामा सुरक्षा प्रत्याभूती निम्ति नगरपालिकाले आर्थिक व्ययभार लिएर अस्थायी प्रहरी चौक स्थापना गरेको बताउनुभयो । नागरिकहरुको सुरक्षा आफूहरुको जिम्मेवारी भएकोले अस्थायी प्रहरी चौकी स्थापना गरिएको चर्चा गर्नुभयो ।

कार्यक्रममा दैलेखका प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमालले नागरिकको सुरक्षा राज्यको दायित्व हो, त्यसैगरी सुरक्षा निकायलाई नागरिकहरुले पनि सहयोग गर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो समुदायको पनि दायित्य भएकोले नागरिकहरुलाई ‘बिना बर्दीका प्रहरी’ भनिएको प्रष्ट्याउनुभयो ।

दैलेखका प्रहरी इञ्चार्ज प्रहरी नायव उपरीक्षक (डीएसपी) किशोर लम्सालले सीमित जनशक्ति रहेको अवस्थामा स्थानीय आवश्यकता र माग अनुसार हाडाकोट अस्थायी प्रहरी चौकीको स्थापना भएको सुनाउनुभयो । उहाँले भन्नुभयो ‘प्रहरीलाई जति सहयोग गर्नुहुन्छ, त्यति नै सुरक्षाको सहजता हुन्छ ।’

 

त्यस क्षेत्रमा सुरक्षाकर्मीको पहुँच नभएको कारण केही वर्ष अघि चामुण्डा मावि हाडाकोटले विद्यार्थीको परीक्षा शुल्क र विद्यार्थीले तिर्नुेपर्ने मासिक शुल्क धेरै रकम संकलन भएको मौका पारी नकावधारी समूहले हतियार देखाएर चार लाख रुपैंयाँ लुटेको थियो । त्यो लगायतका असुरक्षाको घटनाहरु बढेपनि नगरपालिकाले अस्थायी प्रहरी चौकी स्थापना गरेको हो ।

चामुण्डाबिन्द्रासैनी नगरपालिका उपमेयर मनसरा शर्मा, पूर्व वडाध्यक्ष निरकबहादुर शाही लगायतका राजनीतिक दलका प्रतिनिधिहरुको कार्यक्रममा उपस्थिति थियो ।

नगरपालिकाको निर्णय अनुसार चामुण्डाबिन्द्रासैनी नगरपालिका-३ हाडाकोटस्थित सानाकिसान कृषि सहकारी संस्था भवनमा अस्थायी प्रहरी चौकी राखिएको छ । कर्णाली राजमार्ग हेर्ने गरी पाल्तडा प्रहरी चौकी, चामुण्डाबिन्द्रासैनी नगरपालिकाको मुकाम भएको ठाउँ जम्बुँकाध प्रहरी चौकीपछि हाडाकोट अस्थायी प्रहरी चौकी यो पालिका क्षेत्रमा तेश्रो प्रहरी इकाई हो ।

सदरमुकामको जिल्ला प्रहरी कार्यालय, अदालत, कारागार र प्रशासन सुरक्षा इकाइका अलवा तीन वटा इलाका प्रहरी कार्यालय, १४ वटा प्रहरी चौकी र मंगलवार हाडाकोटमा स्थापना भएको समेत ६ वटा अस्थायी प्रहरी चौकी गरी दैलेख जिल्लामा २७ वटा प्रहरी इकाई रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक दिपकसिंह बिष्टले जानकारी दिनुभयो ।

प्रतिक्रिया