बालबालिकामा गरिएको लगानीले दिगो प्रतिफल : न्यौपाने

बालबालिकामा गरिएको लगानीले दिगो प्रतिफल : न्यौपाने

दैलेख – नारायण नगरपालिकाका कार्यवाहक मेयर जनक न्यौपानेले बालबालिकाको शिक्षामा गरिएको लगानीले देशेको उज्ज्वल भविष्य बनाउन सक्ने असल कर्णधार उत्पादन हुन सक्ने दिगो प्रतिफल प्राप्त हुने बताउनुभएको छ ।

यूनिसेफको सहयोगमा सेतो गुराँस राष्ट्रिय बाल विकास सेवा ललितपुर र सेतो गुराँस बाल विकास सेवा दैलेखको आयोजनामा बुधवारदेखि सुरु भएको नारायण नगरपालिका क्षेत्रका २२ बालविकास शिक्षकहरुका लागि ७ दिने अभिभावक शिक्षा तालिमको उद्घाटन कार्यक्रममा उहाँले सो विचार राख्नुभएको हो ।

‘सडक खन्ने वा भौतिक संरचनामा गरिएको लगानीको तुलनामा बालबालिकाको शिक्षामा गरिएको लगानीले दिगो प्रतिफल दिन्छ भन्ने हामीलाई थाहा छ, त्यसै अनुसार कार्ययोजना बनाएर नगरपालिकाले काम गर्दैछ । सेतो गुराँसको प्राविधिक सहयोग लिएर यसलाई थप प्रभावकारी बनाउदै छौं’ कार्यवाहक मेयर न्यौपानेले भन्नुभयो ।

तालिम उद्घाटन कार्यक्रममा नारायण नगरपालिकाका सामाजिक शाखा प्रमुख खमबहादुर थापा, शिक्षा शाखाका प्रास सूयलाल पाण्डे र सेतो गुराँस बाल विकास सेवा दैलेखका अध्यक्ष गीता बस्यालले अभिभावक शिक्षा महत्व र बालविकास शिक्षकको भूमिका विषयमा बोल्नुभएको थियो ।

नारायण नगरपालिका क्षेत्रका ४३ विद्यालय मध्ये यो चरणमा सहभागी २२ जना बालविकास शिक्षकहरुका लागि प्रारम्भिक बालविकास, अभिभावक शिक्षाको महत्व, सहजीकरण विधि, प्रक्रिया र शिक्षाप्रति जागरुकता निम्ति स्थानीय ज्ञान, सकारात्मक चलन, समस्याको बिश्लेषण, प्रभावकारी शिक्षा संकल्प विषयमा सैद्धान्तिक र व्यवहारिक ज्ञान दिइने बताइएको ।

तालिममा सेतो गुराँस बाल विकास सेवा दैलेखका सहजकर्ताहरु राधा मल्ल र लली बाह्रघरेले सहजीकरण गर्नुहुने बताइएको छ । यूनिसेफको सहयोगमा सेतो गुराँसद्वारा सञ्चालित ‘नेपालमा प्रारम्भिक बालविकास शिक्षा तथा विकास सवलीकरणका लागि प्रारम्भिक सिकाई तथा विकास मापदण्ड परियोजना’ले बालविकास शिक्षा सिकाई प्रभावकारितामा काम गर्दै आएको छ ।

प्रतिक्रिया