राउटेका ज्येष्ठ सदस्य कर्णबहादुर शाहीको निधन

राउटेका ज्येष्ठ सदस्य कर्णबहादुर शाहीको निधन

मृतकलाई बाँदर मार्ने जालमा गुथेर खाल्डोमा गाड्दा हरेक घरबाट धान, चामल अनि नयाँ कपडा चढाएर गाड्ने चलन छ । मुल किरिया कोही बस्न नपर्ने चलन छ ।

दैलेख – लोपोन्मुख जाति राउटे समुदायका ज्येष्ठ सदस्य ९४ वर्षीय कर्णबहादुर शाहीको बुधवार निधन भएको छ । अहिले राउटे समुदाय बस्तै आएको दैलेखको भैरबी गाउँपालिका–१ दारेघाट बस्तीमा उहाँको निधन भएको सोसेक नेपालको राउटे परियोजनाका जोडी शिक्षक लालबहादुर खत्रीले जानकारी दिनुभयो ।

हरेक २–३ महिनामा बस्ती सर्दै हिंड्ने नेपालको एक मात्र फिरन्ते जाति राउटे समुदायले मान्दै आएको हिन्दू धर्मसँस्कार अन्तरगत बुधबार नै जमिन गाडिएको जोडी शिक्षक खत्रीले बताउनुभयो ।

मृतकलाई बाँदर मार्ने जालमा गुथेर खाल्डोमा गाड्दा हरेक घरबाट धान, चामल अनि नयाँ कपडा चढाएर गाड्ने चलन छ । मुल किरिया कोही बस्न नपर्ने चलन छ । राउटे समुदायका सदस्य कोही निधन भएको ११–१३ दिनबीचको मंगलबार वा शनिबार पारेर सबैले कपडा धुने अनि मृतकको नाम कुखुरा काट्ने चलन छ ।

राउटे समुदायका ज्येष्ठ सदस्य कर्णबहादुर शाही । (फाइल तस्बिर : अमर सुनार)

राउटे समुदायका सदस्यहरुको मृत्यू भएपछि बसिरहेको बस्ती एक साताभित्र छोड्ने र नयाँ ठाउँमा सबैले कपडा धुने अनि मृतकको नाम कुखुरा काटेर मासु खाई शुद्ध हुने वा किरिया सकिने प्रचलन छ । जनसंख्या घट्दै गएको लोपोन्मुख राउटे जातिको जनसंख्या अब एक सय ४१ जना मात्र बाँकी रहेको छ ।

दैलेख आसपासको क्षेत्रमा फिरन्ते जीवन बिताइरहेका राउटे समुदायले नागरिकता लिएका छैनन् । खेतीकिसानी, पठाइलेखाई गर्ने र नागरिकता लिन राउटेले मिल्दैन भनेर यी काममा इन्कार गर्दै आएका छन् । २०६३ देखि राउटे समुदायका सबै जनाले सामाजिक सुरक्षा भत्ता पाउन थालेपछि सहजताका लागि गुराँस गाउँपालिकाले उनीहरुको बस्ती सरेकै ठाउँमा पुगेर सामाजिक सुरक्षा भत्ता दिने गरेको छ ।

राउटे समुदायको स्वास्थ्य सरसफाई, खानपिन र सामाजिक जीवन सहजीकरण गर्न राउटे समुदाय बस्ती सरेसंगसंगै हिंड्ने गरी सोसेक नेपालले राउटे परियोजना सञ्चालन गरेको छ । सामाजिकीकरण सवालमा काम गर्न जोडी शिक्षकमा लालबहादुर खत्री अनि दुर्गा खत्री दम्पति अनि स्वास्थ्य उपचार र परामर्शका लागि अनमी अमृता रोकाय र अहेब बिनोद बीसीले काम गर्दै आउनुभएको छ ।

परियोजनापछि बालबालिकाहरुले अंक र अक्षेर लेख्ने स्वेच्छिक अभ्यास गर्ने गरेका, कुनै घाउ अथवा चोटपटक वा असञ्चो हुँदा औषधि उपचार गराउने लगायतका सामाजिक जीवनको अभ्यास गरेका छन् ।

प्रतिक्रिया