अनि म बेस्सरी रोएँ…

          |   प्रकाशित मितिः आइतवार, मंसिर २२, २०७६     ::: 108 पटक पढिएको   |  

इन्द्रसरा खड्का-जिन्दगीमा हाँसो र आँसुको धेरै सामना गर्नुपर्छ । यो तपाईँले पनि भोग्नु भएकै होला । म आज यस्तो दिनलाई सम्झँदै रोएँ कि जुन मैले कल्पना गरेकै थिइनँ । मलाइ जहिले लाग्थ्यो, जन्मँदा पनि अहिलेको जत्रै थिएँ होला । 

अनाहकमा बहकिने यो मनले जान्न खोज्यो म जन्मँदा कस्तो थिएँ होला । अनि सोधें बुवालाई । बुवाले खासै खुलेर कुरा गरे जस्तो लागेन । बज्यैलाई सोधें । बज्यैले पनि खुलेर जवाफ नदिएको जस्तो लाग्यो । अनि सोधें फूपूलाई, जसले मलाई मेरो रामकहानी सुनाइदिनुभयो ।तीन दिनसम्मको बेथापछि २७ वर्ष पहिले असोज २३ गते बिहान ५ बजे घर नजिकैको खेतको आलीमा म जन्में । 

यो सुन्दै एकछिन त छाती चसक्क भयो । किन खेतको आलीमा त ? प्रश्न उब्ज्यो । अनि सोधें : किन खेतमा ? छोरा भए १३ दिन, छोरी जन्मे ९ दिन । अहिले पनि सुत्केरीलाई नछुने चलन कायमै छ मेरो गाउँमा । अहिले त सुत्केरी महिलालाई घरभित्रै राख्छन् । तर त्यो बेला घरमा राख्ने चलन नै थिएन रे । जब आमालाई ब]था लाग्यो, गाँउभरी हल्ला फैलियो । फलानाको श्रीमतीलाई बेथा लाग्यो रे । गाउँमा सुडेनीको को छन्, सबैलाई बोलाइयो । 
कोहीले आमाको पेट सेक्न आगो बाले, कसैले पेटमा मालिस गर्न तेल तताए, कोही पेटमा त कोही ढाडमा मालिस गर्न लागे । दुई दिनसम्म न त निद्रा, न भोक, प्यास । अहँ म जन्मनै सकिनँ रे ।

अहिलेको जस्तो समय हुँदा हो वा मेरी आमा शहरकी हुँदी हुन् त यतिसम्म कष्ट गर्नै पर्दैन थियो होला ।बेथा सुरु नहुँदै कि अपरेसन गर्न कि त केही अन्य उपाय गर्न लाग्नुहुन्थ्यो होला मेरी आमा ।

घरबाट ३ सय मिटर टाढा खेतको आलीमा एउटा रुख थियो रे । त्यो रुखमा नाम्लो बेस्सरी कसेर बाँधेको थियो रे । किनकी नाम्लोमा झुण्डिएर बस्दा बढी बल आउँथ्यो । तीन दिनसम्मको मेरी आमाको ठूलो बलपछि म जन्मेको त्यो दिन । कति चिसो भयो होला, कति गाह्रो भयो होला, कति हात खुट्टा, शरीर दुख्यो होला ? म कल्पना पनि गर्न सक्दिन ।

कुरा सुन्दै जाँदा आँखाभरी आँसु आयो । आँसु नझार्दै आमा कहाँ गइन् त? प्रश्न गर्न मन लाग्यो । आमा कति गाह्रो भएको थियो त्यो दिन ? दगुर्दै आमासँग जान खोज्दा खुट्टै उठेन । पाइला रोकियो ठाउँको ठाउँ सास रोकिन खोज्यो एकैछिन् । यो प्रश्न सोध्न तेरो आमा पनि त हुनु पर्यो नि । एकैछिन मेराे मनले मलाई नै प्रश्न गर्यो । खुब रोएँ । जबसम्म चित्त बुझेन, जबसम्म आँसु बग्न रोकिएन, तबसम्म निकै रोएँ ।

सायद म रोएको मेरी आमाले कतैबाट देखिरहनु भएको थियो होला । नरुनु यसरी, किन रोएको ? त्यो दुःख त मैले भुलिसकेँ पनि भन्नुभयो होला । तर मैले सुनिनँ ।आँखाको आँसु घुटुक्क निल्दै मनलाई दह्रो पार्दै एकैछिन फेरि त्यही कुरालाई निरन्तरता दिन फूपूलाइ भने । अनि चेकजाँच, आइरन चक्की, त्यसपछि लगाउनु पर्ने खोप मैले पाएँ त ?

फूपूले भन्नुभयो, ‘कहाँबाट पाउनु त्यतिबेला नियमित ४ पटक जाँच गर्नुपर्छ, प्रसूति हुन स्वास्थ्य संस्था जानुपर्छ भन्ने थाहै थिएन । आइरन चक्की खानुपर्छ भन्ने के थाहा यस्ता कुरा?’

गर्भमा आएको दिन

आमाको पहिलो महिनावारी रोकियो, म यो धर्तीमा आउन तयार भएको त्यो दिन । आमालाई कताकता लाज लाग्न थालेछ । मेरा हजुरआमा हजुरबुवाको नजिक जान पनि संकोच लाग्न थालेछ । 
महिनावारी रोकिएपछि त सबैले थाहा पाउन थाले । किनकी आमा छाउ हुँदा छाउगोठमा गएको गाउँभरिका सबैलाई थाहा हुन्थ्यो । आमाका जेठानी देउरानी सबैले कसैले नदेख्ने गरी जिस्क्याउन थाले रे । आमालाई झनै लाज लाग्थ्यो ।

आज, भोलि, पर्सि हुँदै आमाको पेट बढ्दै जान थालेछ । जति पेट बढ्दै गयो आमालाई काम गर्न गाह्रो हुँदै गयो । 

अहिले पो यस्तो बेलामा आराम गर्नुपर्छ भन्ने गाउँमा सबैलाई थाहा छ । त्यतिखेर त मेरो आमालाई आराम भनेको राति सुत्ने समय ६ घण्टा मात्र थियो ।
मेरा आमा बुवाको भेट राति सुत्दा र खाना खाँदा मात्र हुन्थ्यो रे । किनकि घर परिवारको अगाडि बोल्न, हाँस्न पाइँदैन थियो ।

यो मेरा आमा बुवालाई मात्र हैन, त्यतिखेरका सबै आमाबुवाहरुको कहानी होला सायद । सासू-ससुराको अगाडि छोरा बुहारीले कुरा गरे ओहो कस्ता भनेर गाउँले नै कुरा काट्थे रे ।

स्वास्थ्य स्वयंसेविका त त्यतिखेर पनि थिए । तर गर्भावस्थाबारे सल्लाह दिनुपर्दा कोही नभएको ठाउँमा लुकेर सल्लाह दिन्थे रे । १० महिना जब म पेटमै थिएँ, मेरी आमाको पिठ्युँको भारी, अनि घर बाहिर, भित्रको धन्दा छुटेन । जबजब पेट दुख्थ्यो, बेस्सरी मुठ्ठी कसेर सहने प्रयास गर्नुहुन्थ्यो रे ।

साँझ बिहान खानको लागि दिनहुँ धान कुट्नुपर्थ्याे । दिनभरी हिँडेर गहुँ, कोदो पिसाउन घट्ट पुग्नुपर्थ्याे ।  सकीनसकी सबै काम गर्नै पर्‍यो । साँच्चिकै मेरो आमा महान हुनुहुन्छ । 

मेरो पहिलो रुवाइ सुन्दा सायद मेरी आमा यति खुशी कहिल्यै पनि हुनुभएन होला, जब म छोरी भएर जन्मिएँ । पहिलो सन्तान, सायद म छोरा भइदिएको भए झन् खुशी हुनुहुन्थ्यो होला ।

हुन त म पहिलो सन्तान थिएँ । के छोरा के छोरी ? तर पनि पहिलो सन्तान छोरा हुँदा जति खुशी आमा र परिवार हुन्छन् नि, त्यति छोरी जन्मँदा चाहिँ हुँदैनन् ।
यदि म छोरा भएको भए खेतको आलीबाटै दमाहा बजाउनेलाई बोलाएर गाउँ नै थर्काउने गरी बाजा बज्थ्यो होला । तर म छोरी भएँ, म जन्मेको गाउँका धेरैजसोलाई थाहै भएन । मेरो गाउँमा अहिले पनि छ यो चलन । छोरा जन्मँदा गाउँ नै दमाहाको बाजाले थर्कन्छ ।  छोरी जन्मिँदा तल्लो, माथ्लो घरकालाइ समेत थाहा हुँदैन । चिन्ता लाग्छ, यो विभेद कहिलेसम्म रहन्छ अझै ।

मैले मेरी आमाले गर्भावस्थामा भोगेको पीडा र अहिलेको त्यही समाजलाई दाँजेर हेरेँ एकछिन । कति परिवर्तन भएको रहेछ अहिले । नियमित गर्भजाँच, आइरन चक्कीको त के कुरा मेरो पेटको बच्चो कस्तो भन्ने समेत भिडियोमा हेर्न सक्छन् अहिले । 

गर्भमै कुनै खोप नपाएकी म । जन्मिसकेपछि लगाउनु पर्ने विभिन्न खोपबाट पनि वञ्चित भएकी म । मेरी आमाले बारीकै साग सिस्नो, कोदो, मकै, जौ लगायतको विषादीरहित खानेकुरा खाएकैले होला अहिले पनि स्वस्थ छु । छोरी भएर न्वारान नै नगरेकी मलाई अहिले मेरै बुवाले भन्नुहुन्छ, तिमी मेरो छोरी हैन, छोरा हौ । यसैमा खुशी छु ।ujyaaloonline





Leave a comment

Your email address will not be published.


*