कालापहाडले छेक्यो पढाइ

          |   प्रकाशित मितिः शुक्रबार, मंसिर २७, २०७६     ::: 191 पटक पढिएको   |  

आठबिस नगरपालिका–५ पिपलकोटस्थित गोर्खीगाउँका बासिन्दा। तस्बिर : हिक्मतबहादुर नेपाली

हिक्मतबहादुर नेपाली
दैलेख मंसिर २७ : 
आठबिस नगरपालिका–५ काफलगैरास्थित गोर्खी गाउँका डिल्ली विक मजदुरीका लागि भारत (कालापहाड) जाने तयारीमा छन्। १३ वर्ष हुँदादेखि नै उनी भारततिर जान थालेका हुन्। ‘सानै थिएँ, कालापहाड जान थालेको हुँ। मैले एक कक्षा पनि पढेको छैन, कमाउन गएपछि पढाइ नै छुट्यो’ उनले आफ्नो पीडा सुनाए।

भारतमा कमाएको रकमले पाँच जनाको परिवारको खर्च जोहो गर्छन् डिल्ली। ‘खेतीपातीबाट एक महिना पनि खान पुग्दैन,’ उनले थपे, ‘भारत नगए जीविका चल्दैन्, स्कुलमा कसरी जानु ? ’

११ वर्षको कलिलो उमेरमै भारतको मुम्बई पसेका २० वर्षीय टेकबहादुर विकले जेनतेन कक्षा पाँचसम्म पढेका छन्। घरमा आर्थिक संकट आएपछि विद्यालय जान छाडेर उनी पनि कालापहाड हानिए। ‘कमाउने कोही नभएपछि पढ्न छाडेर भारत पसेँ। अहिले तीन जनाको परिवार त्यहीँबाट कमाएरै पाल्छु।’

स्थानीय २४ वर्षीय भक्ती विक पनि दश कक्षा पढ्दापढ्दै भारत पसे। पढाइ र उमेर बढ्दै जाँदा खर्च पनि बढ्यो। दुईछाक खान पनि मुस्किल भएपछि पढ्ने मन हुँदा हुँदै पनि भारत छिर्नु परेको उनी बताउँछन्। भारतमै मजदुरी गरेर ल्याएको पैसाले बालबच्चा पढाउने र घरखर्च धानिरहेका छन्।’ यहाँका अधिकांश बालबालिका सानै उमेरमा कमाउन भारत जान्छन्। रहरले नभइ कर्णालीका पिवन्न परिवारको बाध्यता हो।

पढ्ने उमेरमै कमाउन परदेश हिड्नुपरेपछि उनीहरू जीवनभरी भारतबाट उस्किन सक्दैनन्। वर्षमा एक पटक चाड मनाउन घर आए पनि ९ महिनाजति उनीहरूको दैनिकी भारतै बित्छ। दलित बस्ती, त्यसैमाथि विपन्न भएकाले यहाँका पुरुषहरू भारत जाने र किशोरी सानैमा बिहे गरी घरजम गर्न बाध्य छन्।

स्थानीय बिउरा विक अहिले २२ वर्षकी भइन्। १७ वर्षमै बिहे गरेकी बिउराको जुम्ल्याहा सन्तान खेर गए। अहिले दुई छोरी छन्। ‘आमाबुबाले पढाइ दिएनन्, सानैमा विवाह भयो, अहिले दुःख भोगिरहेको छु’ उनले सुनाइन्। जिल्लाकै दुर्गम मानिने गोर्खी गाउँका ६० भन्दा बढी दलित परिवारको बसोबास छ। यहाँका अधिकांश पुरुष १५ वर्ष नपुग्दै भारततर्फ हानिन्छन्। झण्डै चार सयको हाराहारीमा जनसंख्या रहेको यहाँ हालसम्म तीन जनाले मात्रै एसईई उत्तीर्ण गरेका छन्।

गाउँकै छेउमा कक्षा तीनसम्मको स्कुल छ। यो विद्यालय स्थानीयकै पहलमा स्थापना गरिएको हो। कक्षा आठसम्मको पढाईका लागि दुई घण्टा उकालो चढ्नुपर्छ। माध्यमिक तहको शिक्षा लिन चार घण्टा हिँड्नुपर्छ। जनचेतनाको कमी, अभिभावको लापरबाही, आर्थिक अभाव, भौगोलिक विकटताका कारण कारण यो गाउँ शिक्षामा पछि परेको पिपलकोटका स्थानीय नैनबहादुर शाहीले बताए।

खेतीपातीले खान नपुग्ने, विद्यालय टाढा र अन्य आम्दानीको स्रोत नभएपछि यहाँका बालकदेखि बृद्धहरू सबैको गन्तव्य भारत नै हो। गाउँमा भएका केही योजनामा पनि मेसिन प्रयोग गरिन्छन्। ‘सरकारी निकायबाट पनि हामीलाई वेवास्ता गरिएको छ,’ स्थानीय पवित्रा विक भन्छिन,् ‘सीपमुलक तालिम पाए पनि गरिखाने मेसो त हुन्थ्यो नि ? ’

विद्यालय शिक्षामा पहुँच पुर्‍याउने, भारत जानेको संख्यामा कमी ल्याउन स्थानीय तहको ठोस योजना छैन। रोजगारी सिर्जना तथा शिक्षामा पहुँच पुर्‍याउन शिक्षक दरबन्दी थप गर्ने योजना वडाको छ। वडाध्यक्ष कर्णबहादुर मगरले गोर्खी गाउँको मुहार फेर्ने गरी काम गर्ने बताए। स्थानीयको आयआर्जनमा सुधार ल्याएर शिक्षामा पहुँच बृद्धि गर्ने योजना रहेको उनले सुनाए।





Leave a comment

Your email address will not be published.


*