तीनवटा सेस्मिक सर्वेको काम सम्पन्न

          |   प्रकाशित मितिः शुक्रबार, पुस २५, २०७६     ::: 164 पटक पढिएको   |  

दैलेख पुष २५ । पेट्रोलियम पदार्थको परिमाण कति छ भनेर पत्ता लगाउन दैलेखका विभिन्न स्थानमा सेस्मिक सर्वेको काम भइरहेको छ । दैलेखको विभिन्न स्थानमा जमिनमा सानो मेसिनमार्फत ४५ फिटसम्म गहिरो ड्रिलिङ गरेर होलमा विस्फोटक पदार्थ राखी आन्तरिक तरंग पठाउने काम सुरु गरिएको हो । अहिले १० वटा सेस्मिक लाइनमा सर्वे गर्ने काम सुरु भएको छ । एउटा लाइनमा चार सय वर्गमिटर भूभाग समेटेर सर्वेको काम भइरहेको खानी तथा भूगर्भ विभागका अन्वेषण अधिकृत डा. गणेशनाथ त्रिपाठीले जानकारी दिए ।

मंगलबार साँझसम्ममा तीनवटा सेस्मिक सर्वेको काम सम्पन्न भएको छ । अन्वेषणका लागि पूर्व र पश्चिममा तीनवटा तथा उत्तर र दक्षिणमा सातवटा गरी १० वटा सेस्मिक लाइन खनिएको छ । बाँकी स्थानमा पनि काम धमाधम चलिरहेका छन् । माघ मसान्तसम्म सर्वेको काम सम्पन्न भएपछि जमिनभित्र पठाइएको तरंग मापन गरेर यसको अध्ययनका लागि पुनः विशेषज्ञको टोलीले तीन महिनासम्म अध्ययन गरेपश्चात् मुख्य भण्डारण क्षेत्रको अन्वेषण कार्य सुरु हुने परियोजनाले जानकारी दिएको छ ।

अन्वेषणका लागि जियोलोजिकल सर्वे, म्याग्नेट टेल्युरिक सर्वे, जिओकेमिकल स्याम्पलिङ जस्ता काम सम्पन्न भएपश्चात् महत्वपूर्ण मानिएको सेस्मिक सर्वेको काम सुरु गरिएको हो ।जमिनको धेरै गहिराइसम्म कृत्रिम भूकम्प सिर्जना गरी उत्पन्न गरिएको भूकम्पीय तरंगहरू सतहमुनि ठोक्किएर फिर्ता भएका तरंगहरूलाई सतहमा गाडिएका सेन्सरहरूमा रेकर्ड गरिन्छ । रेकर्ड गरिएका तरंगहरूको प्रशोधन गर्ने र प्रशोधनबाट तयार भएका तरंगहरूको सुक्ष्म अध्ययन गरी पेट्रोलियम पदार्थको भण्डार हुन सक्ने भौगर्भिक संरचना पहिचान गर्ने गरिन्छ । यसले कुन स्थानमा भण्डारण सम्भावना धेरै छ भन्ने कुरा पत्ता लगाउन मद्दत पुग्ने भूगर्भविद डा. त्रिपाठीले बताए ।

अन्वेषणका लागि दैलेखको चुप्रामा क्याम्प नै निर्माण गरिएको छ । अहिले दैलेखको दुल्लु नगरपालिकामा पनि थप क्याम्प निर्माण गरेर विज्ञहरूको समूह बसेको छ । दुल्लुबाट पूर्वी क्षेत्रका सेस्मिक लाइनहरूमा काम गर्न सहज हुने भएपछि टोली दुल्लुमा बसेको जिल्ला प्रशासन कार्यालय दैलेखका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलले जानकारी दिए । जिल्लाभरको सुरक्षा व्यवस्थापनका बारेमा पनि जिल्ला प्रशासनले सम्बन्धित सुरक्षा प्रमुखहरूसँग सहकार्य गरेर काम अगाडि बढाएको कट्टेलले जानकारी दिए । दैलेखका विभिन्न स्थानमा पेट्रोलियम पदार्थको खानी रहेको यसअघि नै पत्ता लागिसकेको छ । यसैका आधारमा विभिन्न स्थानमा सेस्मिक सर्वे गरेर परिमाण पत्ता लगाउने पहल भएको हो । अहिलेसम्म भएको अन्वेषणबाट उत्साहजनक नतिजा प्राप्त भएको बताइएको छ । नयाँपत्रिका ।





Leave a comment

Your email address will not be published.


*