प्रदेश ३ को नाम बागमती, स्थायी राजधानी हेटौंडा घोषणा

          |   प्रकाशित मितिः आइतवार, पुस २७, २०७६     ::: 61 पटक पढिएको   |  

हेटौंडा : ३ नम्बर प्रदेशको नाम बागमती घोषणा भएको छ। प्रदेशसभामा भएको मतदानमा बागमती प्रदेशको पक्षमा १ सय ८ मत परेपछि सभामुख सानुकुमार श्रेष्ठले प्रदेश ३ को नाम बागमती पारित भएको घोषणा गरेका हुन्। 

बागमतीको विपक्षमा कुनै मत परेन। संविधानअनुसार प्रदेशसभाको कुल मत १ सय १० मध्ये दुई तिहाई अर्थात ७४ जनाले प्रदेशको नाम र स्थायी राजधानी टुङ्गो लगाउनसक्छ।
शनिबार बिहान ९ देखि ११ बजेसम्म प्रदशको स्थायी राजधानी र नामको प्रस्ताव दर्ता गर्न प्रदेशसभा सचिवालयले समय तोकेकोमा प्रदेशको नाम बागमती मात्र दर्ता भएको थियो। प्रदेशसभामा दर्ता भएको बागमती नामको प्रस्तावक नेपाली कांग्रेस ३ नम्बर प्रदेश संसदीय दलका नेता इन्द्र बानियाँ र समर्थक नेकपा प्रदेश ३ संसदीय दलका प्रमुख सचेतक रामेश्वर फुयाँल, राप्रपाकी रिता माझी, राप्रपा संयुक्तकी रिना गुरुङ, विवेकशील साझा पार्टीका रमेश पौडेल र शोभा शाक्य रहेका छन्। उक्त नाममा नेमकिपाको पनि समर्थन गरेको छ।

नाम र राजधानी घोषणापछि प्रतिक्रिया दिँदै मुख्यमन्त्री डोरमणि पौडेलले सबैको सहयोगमा प्रदेशको नाम बागमती र स्थायी राजधानी घोषणा भएको बताए। ‘म सबैलाई हार्दिक आभार व्यक्त गर्न चाहान्छु, यो हेटौंडाबासीको मात्र होइन प्रदेशकै लागि खुशीको कुरा हो।’ प्रमुख विपक्षी दल नेपाली कांग्रेस प्रदेश नं ३ का नेता इन्द्र बानियाँले संसदको अधिकतम सहमतिमा राजधानी र नाम सर्वसम्मत बनाउन सफल भएको भन्दै खुशी व्यक्त गरे। 

स्थायी राजधानी हेटौंडा

प्रदेश ३ को स्थायी राजधानी हेटौंडा घोषणा भएको छ। प्रदेशसभामा आइतबार बिहान भएको मतदानमा हेटौंडाको पक्षमा १ सय ५ मत र विपक्षमा ३ मत परेको सभामुख श्रेष्ठले बताए। सत्तारुढ नेकपासहित मुख्य दलले राजधानी हेटौंडाको पक्षमा मतदान गरेपछि दुई तिहाइभन्दा धेरै मतका प्रस्ताव पास गरेको हो।

३ नम्बर प्रदेशको स्थायी राजधानी काभ्रेको धुलिखेलकायम गरियोस् भन्ने प्रस्तावमा ३ मत प्राप्त भएको छ। साझा पार्टीका रमेश पौडेल, शोभा शाक्य र बिराजभक्त श्रेष्ठले धुलिखेलका पक्षमा मतदान गरेका हुन्। काभ्रेको विपक्षमा १०१ मत परेको थियो। प्रदेशसभामा ११० सांसद रहेका छन्। 





Leave a comment

Your email address will not be published.


*