भुइँ मान्छेको कथा : ‘भोक र प्यास मेरा साथी भई सके’

          |   प्रकाशित मितिः बिहिबार, फाल्गुन १, २०७६     ::: 157 पटक पढिएको   |  

सडक छेउ कटकुवा स्वास्थ्यचौकीको पर्खालसँग जोडेर बनाएको अञ्जुको घर।

गणेश विशू, सुर्खेत : दैलेख घर भइ वीरेन्द्रनगरस्थित कटकुवा बस्दै आएकी अञ्जु सार्की दिनभरि ढुंटा गिट्टीको काम गरेर सुतिरहेकी थिइन्। जस्तापाताले बारेर बनाएको उनको घरमा बिहीबार राति १ बजेतिर कसैले ढाेका ढक्ढक्यायाे। दुई छोरी र एक छोरालाई सुम्सुमाउँदै अञ्जुले थाहा नपाए झै गरिन्। अपरिचित व्यक्ति ढोका खोलेर भित्र पस्न खोज्दा अञ्जुले हिम्मत बटुलिन्,र भनिन् ‘को होस् रातिमा ढोका हान्ने ? लाज छैन यस्तो विपन्नको घरमा आएर रातिमा ढोका हान्ने ?’

उनले गाली गरेपछि अपरिचित व्यक्ति जुत्ता छाेडेर कुलेलाम ठोक्यो। त्यसपछि अञ्जुले लामो सास फेरिन्। बिहीबार मात्र होइन अञ्जुका लागि प्रत्येक दिन यसरी नै बित्छन्। सायद अञ्जुमा त्यो दिन सहास र आट नआएको भए रक्सीको नसामा लट्ट भएको त्यो व्यक्तिले दुःखद् घटना निम्त्याउन सक्थ्यो। दिनभरि ढुंगा गिट्टी बालुवाको (लेबर) काम गर्ने अञ्जु साँझ आनन्दसँग निदाउन खोज्छिन् तर, कुनै न कुनै व्यक्तिले हर्कत देखाउँछन् र दिनभरिको थकान मेटिँदैन।

स्वास्थ्यचौकी कटकुवाको पर्खालसँग जोडेर बनाएको सानो झुपडीमा बस्नु उनको रहर होइन बाध्यता हो। दुःखमा साथ दिने र खुसीमासँगै हास्न श्रीमान्को उनले साथ पाइनन्। सामान्य परिवार उनका श्रीमान् जगत सार्की (३७) गाउँबाट ऋण लिएर घर व्यवहार चलाउथ्ये। मानसिक समस्याबाट पीडित जगतलाई साहुँले ऋण दिन छोडेपछि श्रीमती र दुई छोरीलाई पाल्न समस्या भयो। त्यहीबेला अञ्जुको पेटमा पनि गर्भ थियो। यतिबेला घरव्यवहार चलाउन मुस्किल भएपछि जगत रोजगारीका लागि भारत हानिए। २०७० सालमा भारत गएका श्रीमान हालसम्म सम्पर्कमा छैनन्।

मरे बाँचेको केही जानकारी नभएको अञ्जुले बताइन्। श्रीमान् भारत गएपछि छोरा ललितको जन्म भयो। यसभन्दा अघि छोरी तारा (१६) र ललिता (१३) को जन्म भएको थियो। छोरा जन्माउँदा घरका सासु ससुरालगायत कसैले सहयोग गरेनन्। अञ्जु माइती घर गइन्। साहुँले ऋणबापत उनको सबै जग्गा र घर कब्जा गरे। केही नभएपछि अञ्जु बेसहारा भइन्। माइती पनि आर्थिक रुपमा कमजोर हुँदा अञ्जु सुत्केरी भएको एक महिनापछि लेबर काम गर्न थालिन्।

कामकै खोजीमा उनी सुर्खेत झरिन्। गाउँलेको सल्लाहबमोजिम अञ्जु तीन छोराछोरीसहित सुर्खेतस्थित वीरेन्द्रनगर आइन्। कोठा भाडा तिरेर बस्ने गरेकी उनलाई नियमित काम नपाइँदा यहाँ पनि उस्तै गाह्रो भयो। वीरेन्द्रनगरको खजुरा बस्दै आएकी उनलाई अन्य कामदारले कटकुवामा सानो जस्तापाताले बारेर घर बनाइदिए र उनी यहाँ बस्छिन्। यहाँ बस्दादेखि उनी त्रासैत्रासका बीच बस्नु परेको छ। ‘बसाइँ यस्तो सानो झुप्रोमा छ,’ अञ्जु भन्छिन्, ‘यस्तोमा कहाँ सुरक्षा हुन्छ।’ असुरक्षित बसाइँ बसेकी उनलाई डर र त्रास सामान्य जस्तै भई सक्यो।

नियमित काम नपाउँदा उनलाई जीविकोपार्जनका लागि उस्तै तनाव छ। खान लगाउन समस्या भएपछि कक्षा ६ मा पढ्दै गरेकी ताराले पढाइ छाड्नु प-यो। बुवा घर नहुँदा र आमाको दुःखले उनी पनि चिन्ता रोगले पीडित छिन्। पढाइ खर्च जुटाउन नसक्दा छोरी ललिता र छोरा ललित नियमित विद्यालय जान सकेका छैनन्। विद्यालय पोसाक, कापी कलम नहुँदा उनीहरू दैनिक माटो र ढुंगा खेलाएर दिन बिताउँछन्।

विद्यालय जाने हो ? नागरिकको प्रश्नमा ललितले खुसी मुद्रामा भने, ‘आजबाट की भोलिबाट जाने हो।’ अञ्जुको जस्तै यी बालबालिकाको पनि ठूलो लक्ष्य छैन। सुरक्षित बास र सुखसँग साँझ बिहानको छाक नै यो परिवारको प्रमुख लक्ष्य छ। हालसम्म कही कतैबाट सहयोग नपाएकी उनले भनिन्, ‘हामी भुइँ मान्छेलाई कसले हेर्ला।’ दैनिक काम नपाउँदा उनलाई जीविकोपार्जन गर्न कठिन भएको छ। छोराछोरीको भेट भर्न कयौं दिन आफ्नो पेट भोकै राखेको उनलाई सम्झना छ। बाटोको सार्वजनिक जग्गामा सानो टहरा बनाएकी उनलाई कसैले उठाउँछ की भन्ने चिन्ता पनि उस्तै छ। केही दिन त नखाएरै बिताएकी उनले भनिन्, ‘भोक र प्यास मेरा साथी भई सके।’ नागरिक





Leave a comment

Your email address will not be published.


*